२०७६ असोज २ गते

एक सय २० विद्यार्थी प्रथम दीक्षान्तमा दीक्षित

महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहबाट एक सय २० जना विद्यार्थी दीक्षित भएका छन्। विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एक सय २० जना विद्यार्थीलाई दीक्षित गरेका हुन्।

उपाधि पाउने दुई सय ८२ जना विद्यार्थीमध्ये दीक्षान्त समारोहमा एक सय २० जना विद्यार्थी मात्रै सहभागी थिए। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले विभिन्न शंकायबाट उत्कृष्टता हासिल गरी पदक र पुरस्कार पाउने चारजना विद्यार्थीलाई पदक र पुरस्कार प्रदान गरेका छन्।

भाइस चान्सलर पदक स्नातक तह अन्र्तगत बीबीए संकायबाट प्रतिभा भट्ट र स्नातकोत्तरतहबाट जानकी कुमारी विष्टले प्राप्त गरे भने चान्सलर पदक स्नातक तहकै बीबीए संकायबाट निरज थापा र स्नातकोत्तर तहबाट बिष्णुदत्त भट्टले प्राप्त गरे। स्नातक र स्नातकोत्तर तहका विभिन्न संकायका विद्यार्थी दीक्षित भएका हुन्। दीक्षान्त समारोहमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले वरिष्ठ नेत्र विशेषज्ञ डा. रामप्रसाद पोखरेललाई मानार्थ विद्यावारिधीको उपाधि प्रदान गरेको छ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय सभाले नेपालमा नेत्र चिकित्साको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएको भन्दै पोखरेललाई मानार्थ विद्यावारिधीको उपाधि प्रदान गर्ने निर्णय गरेको थियो। दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले शिक्षालाई राष्ट्रको पुँजीको रुपमा हेरिएको बताउँदै सर्वसुलभ शिक्षा राज्यको मूल दायित्व भएको बताए।

‘विश्वविद्यालय शिक्षामा गरेको लगानीले राष्ट्रलाई वर्तमानमा मात्र होइन भविष्यमा पनि प्रतिफल दिन्छ’, प्रधानमन्त्रीले भने,‘ विश्वविद्यालयको शैक्षिक र अनुसन्धानात्मक गतिविधिको स्तरोन्त्तीमा सबैलाई लाग्न आग्रह गर्छु।’ उनले दीक्षित भएका सबै विद्यार्थीलाई शुभकामना दिँदै भविष्यमा जुनसुकै सामाजिक परिस्थितिमा पनि आफ्नो माटोलाई नबिर्सन आग्रह गरे।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको स्थापना र यसका लागि सुदूरपश्मिवासीले गरेको पहलले विश्वविद्यालय स्थापना भएको चर्चा गर्दै प्रधानमन्त्रीले विश्वविद्यालयले गुणस्तरीय, नैतिकवान एवं योग्य जनशक्ति उत्पादन गर्नेतर्फ ध्यान दिनुपर्ने बताए।

सरकारले विश्वविद्यालयको वृद्वि र विकासका लागि आवश्यक सबै सहयोग गर्ने उनले बताए। सरकारले १५ वटा क्याम्पसलाई विश्वविद्यालयमा समायोजन गरी आंगिक क्याम्पसको रुपमा दरबन्दी समेत स्वीकृत गरिसकेको छ। सम्बोधनमा प्रधानमन्त्रीले थप ६ वटा क्याम्पसलाई समेत आंगिक क्याम्पसका रुपमा अघि बढाउन सरकारले स्वीकृती प्रदान गर्ने बताए।

१५ क्याम्पसलाई गत असोज २ गते बसेको मन्त्रिपरिषदको बैठकले विश्वविद्यालयको आंगिक क्याम्पसमा बनाउने निर्णय गर्दै आवश्यक चार सय ४४ दरबन्दी स्वीकृत गरेको हो। दीक्षान्त समारोहमा बोल्दै विश्वविद्यालयका सहकुलपति एवं उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले शिक्षालाई मानवअधिकारको अभिन्न अङ्गका रुपमा स्वीकार गर्दै सर्वसुलभ शिक्षाको प्रत्याभूतिमा सरकार सदैव तत्पर रहेको बताए। उनले दीक्षित विद्यार्थीलाई आफूले प्राप्त गरेको ज्ञान र सिपको उपयोग राष्ट्र निर्माणको लागि लगाउन समेत आग्रह गरे।

७ वर्षअघि २०६७ असार ३ गते स्थापना भएको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा हाल तीनहजार ९ सय जना विद्यार्थीहरु अध्ययनरत छन्। विश्वविद्यालयमा शिक्षा शास्त्र संकाय, मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यवस्थापन संकाय, विज्ञान तथा प्रविधि संकाय र ईन्जिनियरिङ संकाय गरी ५ वटा संकाय सञ्चालनमा रहेका छन्। विश्वविद्यालयले अन्य विभिन्न विषयमा समेत पढाई सुरु गर्ने गरी तयारी भइरहेको समेत जनाएको छ।

अन्नपुर्णपोष्टमा विष्णुप्रसाद देवकोटाले खबर लेखेका छन् ।

Comments: