२०७६ मंसिर २ गते

कक्षा ११ को परीक्षाको सम्पूर्ण तयारी पुरा, यी–यी छन् नयाँ व्यवस्था


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । मंगलबार शिक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै बोर्डले  परीक्षाको सम्पूर्ण तयारी पुराभएको जनाएको हो ।


कक्षा १२ को परीक्षा सञ्चालनमा भएका अव्यवस्था र अनियमितता नदोह्ररिने गरी परीक्षा सञ्चालनको तयारी भएको बोर्डका कार्यवहाक अध्यक्ष समेत रहेका शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले जानकारी दिए ।


कक्षा १२ को परीक्षा अव्यवस्थित रुपमा भएपछि शिक्षा मन्त्रालयले  तत्कालीन परीक्षा नियन्त्रक सन्तोष कुमार अर्याललाई नै बर्खास्त गरेको थियो । हाल कक्षा ११ को परीक्षा नयाँ नियन्त्रक डम्बर कुमार बतासबाट सञ्चालन हुँदै छ ।


अर्याललाई कक्षा १२ को परीक्षाका बेला आवश्यक प्रश्नपत्र समेत पुर्याउन नसकेर परीक्षा सञ्चालन अव्यवस्थित गरेको अभियोगमा हटाईएको थियो । यसपालि त्यो समस्या नआउने गरी तयारी गरिएको श्रेष्ठले जानकारी दिए ।


तत्कालिन नियन्त्रक अर्यालका कृयाकलापबारे अध्ययन गर्न मन्त्रालयले सहसचिव डा. हरी लम्सालको संयोजकत्वमा छानविन समिति बनाएको भएपनि समितिले बुझाएको प्रतिवेदन भने अहिले सम्म गोप्य राखिएको छ ।


बोर्डका कार्यवहाक अध्यक्ष समेत रहेका शिक्षा सचिव श्रेष्ठले छानविन समितिको प्रतिवेदन प्राप्त भएपनि अध्ययनकै चरणमा रहेकाले सार्वजनिक नगरिएको बताए । कार्बाही गरिहाल्ने, सार्वजनिक गरिहाल्ने बेला भएको छैन । श्रेष्ठले भने – अध्ययन सकिए लगत्तै सार्वजनिक र कार्बाही प्रक्रिया अगाडी बढाउँछौं । बोर्डकोे मुख्य ध्यान कक्षा ११ को परीक्षा मर्यादित बनाउनु मै केन्द्रित रहेकाले  त्यसमै कृयाशिल रहेको उनले बताए । हिजोका दिनमा परीक्षा केन्द्र निर्धारणमा केहि गुनासा थिए, यसपटक केही सुधार गरेका छौं । उनले भने–यसपटक परीक्षा केन्द्र निर्धारण गर्दा केही विद्यालयलाई अनुकुल हुने गरी गरिएको छैन । परीक्षण केन्द्र बढाएर भएपनि परीक्षाफल समयमा नै प्रकाशन गर्ने श्रेष्ठले दाबी गरे ।

बन्द हड्ताल नगर्न आग्रह
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा अवधिभर बन्द हड्ताल जस्ता विद्यार्थीलाई प्रभाव पार्ने काम नगर्न उनले राजनीतिक दल र तिनका भात्रृ संगठनलाई आग्रह समेत गरको छ । स्थानीय तहको निर्वाचनका कारण पटक पटक मिति सर्दै असार १ गतेका लागि तय भएको परीक्षाका बेला तराई केन्द्रित दलहरु आन्दोलनमा उत्रिएका छन् । जसले गर्दा परीक्षा सञ्चालन थप चुनौतीपूर्ण भएको छ । तर दल र तीनका नेताहरु विद्यार्थी प्रति संवेदनशिल हुने विश्वास गरेको श्रेष्ठले बताए ।

४१ हजार जनशक्ति परिचालन
परीक्षा बोर्डले कक्षा ११ को  परीक्षा मर्यादित एवं अनुशासित रुपमा सम्पन्न गर्नक लागि ४१ हजार ५ सय ३२ जना जनशक्ति परिचालन गरिने समेत स्पष्ट पारेको छ । परीक्षाका लागि देशभरी ९ सय ९३ परीक्षा केन्द्र निर्धारण गरिएको र हरेक केन्द्रमा एक एक जना केन्द्राध्यक्ष, १ हजार ९ सय ६० जना सहायक केन्द्राध्यक्ष, २२ हजार ९ सय १३ जना निरीक्षक, १ हजार ५ सय ७४ जना कर्मचारी, २ हजार १ सय ७५ कार्यालय सहयोगी र ११ हजार ९ सय १६ जना सुरक्षाकर्मी गरी कूल ४१ हजार ५ सय ३२ जना जनशक्ति परिचालन हुने बोर्डले जनएको छ ।

साढे चारलाख परीक्षार्थी
राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक डम्मर कुमर बतासले  परीक्षामा देशभरबाट ४ लाख ४९ हजार ५४ जना परीक्षार्थी सहभागि हुने जानकारी दिए ।  जसमा नियमित तर्फ ३ लाख ४८ हजार ६० र आंशिक तर्फ १ लाख ९९४ परीक्षार्थी छन् ।

छात्र भन्दा छात्रा बढी
परीक्षामा छात्र भन्दा छात्राको बढी सहभागिता देखिएको छ । २ लाख ११ हजार ८ सय २२ छात्र र २ लाख ३७ हजार १ सय ७२ छात्राले परीषामा सहभागिता जनाउने बोर्डले जनाएको छ । सबै भन्दा धेरै परीक्षार्थी काठमाडौंमा ६४ हजार ५ सय ६४ र सबै भन्दा कम मुस्ताङ्मा ९३ जना छन् । काठमाडौंमा १ सय ११ र मनाङ् र मुस्ताङ्मा १– १ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

अनियमित गर्नेलाई जेल
परीक्षामा अमर्यादित गतिविधि गर्ने परीक्षार्थीलाई ६ महिना जेल र १ लाख रुपैंया सम्मको जरिवानाको व्यवस्था गरिएको परीक्षा नियन्त्रक बतासले जानकारी दिए । साथै, परीक्षाहलभित्र स्मार्टघडी, मोवाइल, क्याल्कुलेटर बाहेकका उपकरण लैजान निशेध गरिएको छ ।

विशेष व्यवस्था
परीक्षामा कम श्रवणशक्ति भएका, दृष्टिवीहिन व सुस्त मनस्थिति वा अन्य प्रकृतिको अपांगता भएका परीक्षार्थीहरुका लागि  परीक्षा दिन विशेष व्यवस्था गरिएको बोर्डले जनाएको छ । कारगार वा बालसुधार गृहमा रहेका परीक्षार्थीहरुलाई समेत परीक्षा दिने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ ।

Comments: