• यसरी बनौँ अध्ययनमा अब्बल
    ()

  •  

    नियमित परि श्रमी र इमानदार भएर अध्ययन गर्ने हो भने सफलताको सिँढी चढ्न कुनै विशेष दिन कुर्नु पर्दैन। बजारमा राम्रो रोजगारीमा लाग्न यही विषय पढ्नुपर्छ भन्ने मापदण्ड पनि बनेको छैन। सफलताका लागि होस् या सहज रूपमा बजारमा रोजगारीमा लाग्नका लागि नै किन नहोस्, यसका लागि आवश्यकता पर्दछ केवल मेहनत र लगनशीलता। त्रिभुवन विश्वविद्यालयबाट भर्खरै स्नातकोत्तर तहमा उच्च अंक ल्याएर ‘गोल्ड मेडलिस्ट’ बन्न सफल विद्यार्थीको कथाले पनि यही बताउँछ।

    यस्तै कथा बनेका विद्यार्थीमध्येका एक हुन् उदयपुरका प्रसन्नकुमार तामाङ। उदयपुरकै उदय श्री इङ्लिस हाइअर सेकेन्डरी स्कुलबाट विज्ञान विषयमा दस जोड दुईमा विद्यालयमा सर्वोत्कृष्ट भएका तामाङले त्रिचन्द्र कलेज भर्ना हुँदासम्म अरूलाई पढाउँदै आफू पनि पढ्ने गर्थे। अर्थात् उनले पढाइको लागि भनेर घरबाट प्रशस्त पैसा ल्याउन सकेका थिएनन्, पढाइकै लागि भनेर पर्याप्त समय पनि दिन सकेका थिएनन्।

    तर तामाङले आइतबार सम्पन्न त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा पूरै विश्वविद्यालयमा स्नातकोत्तर उत्तीर्ण गरेका विद्यार्थीमध्येबाट सर्वोत्कृष्ट भएर तीनवटा पदक पाए, चान्सलर पदक, प्राध्यापक संघ स्वर्ण पदक र रामप्रसाद मानन्धर स्वर्ण पदक। एमएमा गणित विषय अध्ययन गरेका तामाङले ९२ दशमलव पाँच प्रतिशत अंक ल्याएका थिए। आफूले मानविकी संकाय पढेको भए पनि अरूलाई पनि यही संकायमा पढ्नुपर्छ भन्ने मान्यता राख्दैनन् तामाङ। भन्छन्, ‘सबैभन्दा ठूलो कुरा मेहनत र लगनशीलता हो। यति गर्न सक्ने विद्यार्थीले जुन विषय पढे पनि हुन्छ। स्कोप हरेक विषयको राम्रो छ।’

    अहिले उनलाई रोजगारीको लागि धेरै ठाउँबाट अफर आएको छ। तर पनि उनी थप अध्ययनका लागि विदेश जाने तयारीमा छन्। तामाङ अनुभव सुनाउँछन्, ‘रोजगारीमा लाग्ने हो भने मलाई नेपालमै बसेर पनि पैसा कमाउन सक्छु जस्तो लागेको छ। तर थप अध्ययनका लागि विदेश जाने तयारीमा छु।’

    तामाङजस्तै अर्का पात्र हुन् पोषराज निरौला। एमबीएसमा उत्कृष्ट अंक ल्याएर त्रिविअन्तर्गत एमबीए पढ्ने सम्पूर्ण विद्यार्थीमा उत्कृष्ट बनेका निरौला अहिले नेपाल राष्ट्र बैंकमा सहायक निर्देशकको रूपमा कार्यरत छन्। काठमाडौंको मदन भण्डारी मेमोरियल क्याम्पसबाट दस जोड दुई र शंकरदेव क्याम्पसबाट बीबीएको अध्ययन पूरा गरेका निरौला दुवै तहमा कलेज टपर हुन्। अध्ययनसँगै रोजगारीका तयारीमा पनि जुटेका निरौलाले २०७० सालमा नेपाल बैंकमा वरिष्ठ सहायक पदमा नाम निकाले भने अर्को वर्ष सञ्चय कोषमा पनि पाँचौं तहमा नाम निकाले। उनले नेपाल बैंकलाई छोडेर सञ्चय कोषको जागिरमा लागे।

    गत वर्ष भने उनी राष्ट्र बैंकमा सहायक निर्देशकमा छनोट भए। निरौला पढाइबारे आफ्नो अनुभव सुनाउँछन्, ‘अध्ययनमा धेरै नै मेहनत पनि गर्नुपर्दैन। तर आफूले जे पढेको छु त्यसलाई नियमितता दिनुपर्छ। आफ्नो विषयप्रति लगाव दिन सक्नुपर्छ।’ कहिले दिनको १० घन्टा पढ्ने, कहिले पढ्दै नपढ्ने प्रवृत्ति घातक हुने उनको अनुभव छ। उनको अनुभवमा उच्च शिक्षामा कुन विषय पढ्दा स्कोप राम्रो हुने र कुन पढ्दा नराम्रो हुने भन्ने द्विविधामा विद्यार्थी लाग्नु हुँदैन।

    ‘हरेक विषयको इक्वोल्ली स्कोप छ। मुख्य कुरा त्यस्ता स्कोपलाई कसरी एब्जर्व गर्ने भन्ने विद्यार्थीको क्षमतामा भरपर्छ’ निरौला भन्छन्, ‘मैले कहिल्यै पनि कलेज टप हुन्छु भन्ने उद्देश्य राखेर पढेको थिइनँ। मेरो एउटा मात्र गुण थियो, विषयवस्तुप्रति अपडेट हुने र नियमित रूपमा अध्ययन गर्ने।’ उनी भन्छन्, ‘अहिले स्नातकोत्तर तहमा जुनसुकै विषयमा भर्ना भएको भए पनि त्यस्ता विद्यार्थीलाई मेरो एक मात्र सुझाव छ। नियमित रूपमा पढ्नुस्। लगनशील भएर पढ्नुस्।’

    दोलखाका प्रेमप्रसाद दाहालको कथा झन् पत्याउनै नसकिने छ। पढाइ खर्च जुटाउनकै लागि उनले राजधानी छिरेदेखि नै निकै संघर्ष गर्नुपर्‍यो। काठमाडौं छिरेदेखि नै उनले स्कुल पढाउन थाले। दुःखसुख गरेर उनले अरूलाई पढाउँदै पशुपति क्याम्पसबाट दस जोड दुई उत्तीर्ण गरे शिक्षा विषय लिएर। बीएड पनि पशुपति क्याम्पसबाटै उत्तीर्ण गरेर उनले। दस जोड दुईमा सामान्य अंक ल्याएका उनले स्नातकमा भने राम्रै अंक ल्याएर उत्तीर्ण गरे।

    तर उनको मेहनत र लगनशीलताले भने यतिखेर सफलताको शिखर चुम्यो, जतिखेर उनी एमएडमा गणित विषयमा समग्र विश्वविद्यालयकै विद्यार्थीमाझ सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थी घोषित भए। ७३ दशमलव ४० प्रतिशत अंक ल्याएर विश्वविद्यालय उत्कृष्ट भएका उनी न्यून आर्थिक परिवारका थिए। उनको अनुभवमा पनि अध्ययनमा सफलता प्राप्त गर्ने एक मात्र उपाय भनेको लगनशीलता र धैर्य नै हो। ‘कुनै पनि विषयको अध्ययन गरेपछि कति सिक्नेभन्दा पनि कसरी सिक्ने भन्ने कुराले धेरै अर्थ राख्छ’ दाहाल भन्छन्, ‘मेहनत गरेअनुसारको सफलताको अपेक्षा पनि गरेका थियौं। सफल भइयो।’ दाहाल श्रीमती लक्ष्मी सुवेदी पनि त्रिवि टपर नै हुन्। धादिङकी सुवेदी र दाहाल गत वर्ष फागुनमा मात्र विवाहबन्धनमा बाँधिएका थिए। पशुपति क्याम्पसबाट एमएमा नेपाली विषय अध्ययन पूरा गरेकी उनी त्रिविअन्तर्गत एमएमा पढाइ हुने नेपाली विषयकी सर्वोत्कृष्ट हुन्। उनीहरू दुवैको सफलता पछाडिको मेहनतको कथा पनि कम प्रेरणादायी छैन।

    दुवै जना मध्यमस्तरको परिवारका सन्तान हुन्। परिवारबाट पढाइ खर्च जुटाउन नसक्ने अवस्थाका उनीहरू दुवै जनाले आर्थिक जोहो गर्न स्कुल पढाउँदै क्याम्पस पढ्ने गरेका थिए। ‘आर्थिक अवस्था कमजोर भएकै कारण दस जोड दुई र स्नातकमा पढ्दा पनि स्कुल पढाउँथे’ हाल सानोठिमी क्याम्पस भक्तपुरमा गणित विषयका उपप्राध्यापक रहेका दाहाल भन्छन्, ‘कतिसम्म भने स्कुल पढाउनुपर्ने बाध्यताका कारण पशुपति क्याम्पस उत्कृष्ट भए पनि मैले त्रिविमा दीक्षान्तको लागि फाराम भर्न पाइन्। फाराम भर्न पाएको भए त्यतिखेर पनि म नै उत्कृष्ट हुन्थे होला। तर दीक्षान्त फाराम नभरेका कारण दीक्षान्तमै भाग लिन पाइनँ।’

    सुवेदीको कथा झन् दाहालको भन्दा प्रेरणादायी छ। ‘हरेकजसो दिन राति २ बजे उठेर साथीसँग मिलेर खाना पकाउँथ्यौं। खाना पकाउँदै परीक्षाको तयारी गथ्र्यौं। र बिहान उठेर परीक्षा दिन जान्थ्यौं’ हाल दीपिका स्कुल चाबहिलमा नेपाली विषयकी शिक्षक रहेकी सुवेदीले भनिन्, ‘परीक्षा दिएर फर्केपछि हतारहतार गर्दै राति २ बजे पकाएर राखेको खाना खाएर स्कुल पढाउन जान्थेँ। त्यसरी मेहनत गरेर पढेअनुसार अहिले नतिजा हात परेकोमा खुसी छु।’

    त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्राध्यापक डा. शिवलाल भुसाल हरेक विषयको आआफ्नै महत्व हुने हुनाले यही विष मात्र महत्वपूर्ण छ भन्ने धारणा राख्न नहुने बताउँछन्। तर मानविकी संकायका विषयले भने अन्य विषयको तुलनामा धेरै ज्ञान दिने भुसाल दाबी गर्छन्। भन्छन्, ‘समाज विज्ञान मानव जगत्का लागि अति महत्वपूर्ण विषय हो। यसले व्यवस्थापनमा सिकेका कुरा कार्यान्वयन गराउने क्षमता छ। समाज विज्ञान पनि यसका सहायक विषय हुन्।’ जुन संकाय वा विषय पढे पनि विद्यार्थीको मेहनत प्रमुख पक्ष हो। मेहनत गर्ने विद्यार्थीका लागि सम्पन्न र विपन्न परिवारको सदस्य भन्ने कुराले कुनै असर गर्दैन।’

    पाटन वहुमुखी क्याम्पसबाट अर्थशास्त्रमा स्नातकोत्तर अध्ययन गरेर त्रिविमै उत्कृष्ट भएका रोशन कर्माचार्य अध्ययनमा सफलता हात पार्न सम्पन्न परिवारको हुनुपर्दैन भन्ने उदाहरणीय व्यक्ति हुन्। ७४ प्रतिशत अंक ल्याएर सर्वोत्कृष्ट बनेका उनी दस जोड दुई पढेदेखि नै स्कुल पढाउँथे। ‘परिवारबाट पढ्नको लागि खर्च जुटाउने अवस्था थिएन। त्यही भएर अरूलाई पढाउँदै आफूले पनि पढेँ’ कर्माचार्य भन्छन्, ‘सम्पन्न परिवारका छोराछोरीले विदेशमा गएर लाखौं खर्च गरेर पढेका छन्। मैले भने परिवारले लगानी गर्न नसके पनि सरकारले मेरो नाममा त्रिविमा लगानी गरेको छ र त्यस लगानीलाई उठाउन सक्ने गरी पढ्नुपर्छ भनेर लगनशील भए। यही लगनशीलताको परिणाम आज हात परेको छ।’

    अन्नपूर्णपोष्टमा खबर छ ।