• अस्थायी शिक्षकको स्थगित परीक्षा असार २९ र ३० मा हुने
    (ईपाटी संवाददाता)




  • भक्तपुर । अस्थायी शिक्षकको स्थगित परीक्षा यही असार २९ र ३० गते हुने भएको छ ।


    शिक्षक सेवा आयोगले पटक पटक स्थगित हुँदै आएको परीक्षा मिति तय गरेको हो । आयोगको बुधबार बसेको बैठकले निम्न माध्यमिक र माध्यमिक तहको परीक्षा असार २९ गते र प्राथमिक तहको परीक्षा ३० गते गर्ने निर्णय गरेको हो ।


    परीक्षा यसअघि तोकिएकै परीक्षा केन्द्रमा हुने आयोगले जनाएको छ । आयोगका अनुसार तीनै तहमा २२ हजार ७६ दरवन्दीमा २३ हजार २ सय ८६ अस्थायी शिक्षकको आवेदन परेको छ । आयोगले परीक्षाको मिति तय गरेसँगै अब सुविधा रोजेका शिक्षकहरुको सुविधा लिने बाटो समेत खुलेको छ । परीक्षा सम्पन्न हुनसाथ उनीहरुले सुविधा पाउनेछन् ।


    आयोगले यस अघि नै खुल्ला विज्ञापन गरिसकेको छ । शिक्षक सेवा आयोगले  स्थगित अस्थायी शिक्षकको परीक्षा थाती राख्दै खुला विज्ञापन गरेको थियो । अस्थायी शिक्षकलाई स्थायीका निम्ति गत चैत २३ गतेका लागि तोकिएको थियो । तर, सो परीक्षा चौतर्फी विरोधका कारण अनिश्चितकालसम्म स्थगित गरिएको अवस्थामा छ । शिक्षक सेवा आयोगले चौथोपटक परीक्षा स्थगित गरेको थियो । २४ असार २०७४ मा परीक्षाको मिति तय गर्दै २०७३ साल चैत १९ मा अस्थायी शिक्षकहरुका लागि आन्तरिक विज्ञापन खोलिएको थियो ।

    आयोगले आन्तरिक तयारी नपुगेको भन्दै गएको असार ५ गते सो परीक्षा पहिलोपटक भाद्र ३ गतेका लागि सारेको थियो । साउन ३१ गते आयोगले बाढी–पहिरोको कारण देखाउँदै दोस्रो पटक परीक्षा भाद्र १० का लागि सारेको थियो । आयोगले गत भाद्र ६ गते सूचित गर्दै १० गतेका लागि निर्धारण गरिएको अस्थायी शिक्षकहरुको परीक्षा तेस्रोपटक अनिश्चितकालका लागि स्थगित गर्न पुग्यो ।

    आयोगले नवौं ऐन संशोधन पछि गत कात्तिक २१ मा पुनः विज्ञापन गरेको थियो । पछि आयोगले चैत २३ का लागि परीक्षा मिति तय ग¥यो तर पुनः परीक्षा हुनुभन्दा ८ दिन अगाडि नै आयोगले सो परीक्षा पनि अनिश्चितकालका लागि स्थगित गरेको थियो । अन्ततः आयोगले अस्थायी शिक्षकको परीक्षाको मिति तय गरेको हो ।