शिक्षक सेवा आयोगले २०७३ साल चैत्र १८ गते दरबन्दीमा कार्यरत शिक्षकको आन्तरिक प्रतिस्पर्धाको विज्ञापन गरेको छ । शिक्षकका पेशागत समस्याहरुको विगत लामो समयदेखिको माग तथा नेपाल शिक्षक महासंघको ठूलो दबावका कारण यो विज्ञापन खोलिएको छ । पेशागत उपलब्धि र शिक्षाको सुधारका दृष्टिकोणले यो ऐतिहासिक उपलब्धि मान्नु पर्दछ । यस विज्ञापनले २०४९ साल भन्दा पहिले देखि २०७२ साल असोज २ गतेसम्म नियुक्ति पाई २०७३ साल असार १५ गतेसम्म अविच्छिन्न रुपमा शिक्षक दरबन्दीमा कार्यरत अस्थायी शिक्षकलाई स्थायी हुने वा सुविधा लिएर जाने बाटो खुलेको छ ।

 

क्र.स. तह २०४९ साल पुष २० अघिको नियुक्ति (पहिलो किसिम) २०४९ पुष २१ देखि २०६१ साउन २१ सम्मको नियुक्ति (दोस्रो किसिम) २०६१ साउन २२ देखि २०७२ असोज २ सम्मको नियुक्ति (तेस्रो किसिम) जम्मा
प्राथमिक ९३४ ८४८५ ३६४५ १३,०६४
नि.मा.वि. ६३३ १७०० २२६ २५५९
मा. वि. १२० २१३ ३७० ७०३
जम्मा १६८७ १०३९८ ४२४१ १६,३२६

 

विज्ञापनमा हाल सबै जिल्लाको तथ्यांक आइ नसकेकोले २०७४ बैशाख ८ गते भित्र तथ्यांक आउन बाँकी जिल्लाले थप संख्या पठाउन सक्ने हुँदा यो संख्या बढ्न सक्ने देखिन्छ । अब २०६१ साउन २१ सम्मको शिक्षकलाई परीक्षामा  ४० अंक ल्याउने वा ऐनमा व्यवस्था गरिए अनुसारको रकम लिएर बिदा हुने रोज्ने बेला आएको छ । तर यो विज्ञापनका बारेमा शिक्षकले केही नबुझेको जस्तो देखिन्छ । तसर्थ सबैलाई प्रष्ट जानकारी होस् भन्ने हेतु यो आन्तरिक प्रतिस्प्रधाका विशेषताहरु निम्नानुसार उल्लेख गरिएको छ ।

(क)    फाराम भर्ने अन्तिम मिति २०७४ साल बैशाख १७ गते र दोब्बर दस्तुर बुझाई २०७४ बैशाख २४ गतेसम्म छ।

(ख)    परीक्षाको मिति पछि तोकिने छ।

(ग)    यो विज्ञापन २०४९ साल पुष २० अघिको नियुक्ति (पहिलो किसिम), २०४९ पुष २१ देखि २०६१ साउन २१ सम्मको नियुक्ति (दोस्रो किसिम) र २०६१ साउन २२ देखि २०७२ असोज २ सम्मको नियुक्ति (तेस्रो किसिम) ।

(घ)    पहिलो र दोस्रो किसिमको विज्ञापनमा भागलिन पाउने शिक्षकको लागि उत्तीर्णांक ४० रहने छ।

(ङ)     तेस्रो किसिमको नियुक्त शिक्षकले ४९ प्रतिशतमा प्रतियोगी बन्नु पर्ने छ । अर्थात् ४९ जना छनौट हुनु पर्ने पदमा १०० जना कार्यरत शिक्षकले जाँच दिन पाउने छन् । बाँकी ५१ प्रतिशत दरबन्दीमा खुला प्रतियोगिता हुनेछ।

(च)     २०७२ साल असोज २ गते अगावै नियुक्ति पाई २०७३ साल असार १५ गतेसम्म अविच्छिन्न कार्यरत रहेको शिक्षकले प्रतिस्पर्धामा सहभागी नभई आर्थिक सहुलियत लिन चाहेमा

(१) अस्थायी सेवा अवधी ५ बर्षदेखि माथि १० बर्षसम्म भएमा प्रति बर्षको आधा महिनाको तलब बराबर,
(२) अस्थायी सेवा १० बर्षदेखि माथि १५ बर्षसम्म भएमा प्रतिबर्षको एक महिनाको तलब बराबर र
(३) अस्थायी सेवा १५ बर्षदेखि माथि बढीमा २० बर्ष सम्म को प्रतिबर्ष डेढ महिनाको तलब बराबर अनुदान पाउने छ।

(छ)    यसरी अनुदान लिने शिक्षकले सञ्चित बिदाको रकम पनि एकमुष्ठ प्राप्त गर्ने छ ।

(ज)    शिक्षकले परीक्षा दिने हो वा सुविधा लिने हो सोको अलग्गै फारम भर्नु पर्ने हुन्छ तर कसैले परीक्षा फाराम भरेता पनि फाराम भर्ने अन्तिम मिति अगावै सुविधा लिने फाराम भर्न पाउने छ तर परीक्षा दस्तुर भने फिर्ता हुने छैन ।

(झ)    विज्ञापन खोल्नु भन्दा पहिले शिक्षा कार्यालयले भराएको फाराममा जे भरेको भए पनि त्यसले कुनै फरक पर्दैन । अहिले आफुले चाहे अनुसारको फाराम भर्न पाईने छ ।

(ञ)    विज्ञापन र सुविधा दूबैमा आधारभूत प्राथमिक शिक्षा परियोजनामा नियुक्त महिला शिक्षक, लियन र सट्टा शिक्षकले पनि सहभागी हुनपाउने छन् ।
(ट)    पाठ्यक्रम र आवेदन पाराम आयोगको वेवसाइट www.tsc.gov.np बाट डाउनलोड गर्न सकिनेछ ।

(ठ)    आवेदन साथ नेपाली नागरिकता प्रमाण पत्र प्रतिलिपि, स्थायी अध्यापन अनुमति पत्र प्रतिलिपि, शैक्षिक योग्यताका प्रमाणपत्र प्रतिलिपिहरु, विदेशी शैक्षिक योग्यताका लागि सम्बन्धन पत्र, अस्थायी नियुक्ति पत्र र अविच्छिन सेवा प्रमाणित पत्र संलग्न गर्नु पर्नेछ ।

(ड)    फाराम जिल्ला शिक्षा कार्यालय मार्फत बुझाउनु पर्ने छ ।

प्रतिकृया दिनुहोस्