काठमाडौं । शिक्षा ऐन आएको सात महिनापछि शिक्षक सेवा आयोगले अस्थायी शिक्षक अनुमतिपत्र (लाइसेन्स)को  विज्ञापनगरेको छ । आयोगले उच्च माध्यमिक विद्यालयमा कार्यरत शिक्षकहरुलाई अस्थायी अध्यापन अनुमति प्रदान गर्नका लागि आवदेन माग गरेको हो ।

संशोधित शिक्षा ऐनमा साविक उच्च माध्यमिक विद्यालयमा कार्यरत शिक्षकहरुलाई ६ महिनाभित्र अस्थायी अध्यापन अनुमति प्रदान गर्ने व्यवस्था गरेपनि ऐन जारी भएको सात महिना पछि बल्ल आवेदन मागिएको हो ।

शिक्षक सेवा आयोगले २०७३ असार १५ सम्म आफू कार्यरत रहेको विद्यालयले दिएको सेवा निरन्तरताको सक्कल कागज र नियुक्ति पत्रको प्रमाणित प्रतिलिपि समावेश गरी लाइसेन्स लिन इच्छुक व्यक्तिहरुले जिल्ला शिक्षा कार्यालयहरुमा फागुन ७ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ ।

सो लाइसेन्सका लागि लागि साविक उच्च माध्यमिक शिक्षा ऐन २०४६ बमोजिम सम्बन्धन प्राप्त उच्च माध्यमिक विद्यालयमा कार्यरत शिक्षकहरुले आवेदन गर्न सक्नेछन् । त्यसको लागि मान्यताप्राप्त विश्वविद्यालयहरुबाट स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरेको कागजातहरुको प्रमाणित प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा रु. ५ सय लाग्ने आयोगले जनाएको छ ।

आयोगले सबै प्रकृया पुगेका आवेदनको जिल्ला शिक्षा कार्यालयहरुले छानविन गरी आयोगमा विवरण पठाएपछि जिल्ला शिक्षा कार्यालमार्फत् नै अस्थायी अध्यापन अनुमतिपत्र वितरण गरिने आयोगका प्रशासकिय प्रमुख लक्ष्मीराम पौडेलले जानकारी दिए ।

२०७३ माघ ८

प्रतिकृया दिनुहोस्