काठमाडौँ । तालिम नलिएका कारण आयोग लड्न बञ्चित शिक्षकहरुले पनि अब शिक्षक आयोगमा प्रतिस्पर्धा गर्न पाउने भएका छन् । सर्वोच्च अदालतले तालिम नलिएका अस्थायी शिक्षकहरुलाई पनि आयोगमा प्रतिस्पर्धा गर्न बाटो खुलाइदिएको छ ।

बिहिबार सर्वोच्च अदालतका न्यायधिश ईश्वर प्रसाद खतीवडाको एकल इजालशले तालिम नलिएका कारण आयोग लड्न नपाएका शिक्षकहरुलाई समेत आयोगमा प्रतिस्पर्धा गर्न दिनु भनेर अन्तरिम आदेश जारी गरेको ईलामकी अस्थायी शिक्षक समिक्षा ढकाल निरौलाले जानकारी दिइन् ।

सुर्योदय आधारभूत विद्यालय इलामकी अस्थायी शिक्षक ढकालसँगै इलामकै अन्य दुई अस्थायी शिक्षकहरु दहमाई आधारभूत विद्यालयकी उमा खत्री र भगवती आधारभूत विद्यालयकी रञ्जु बम्जनले तालिम नभएकालाई पनि आयोग लड्न दिइयोस भनेर गत बैशाख २५ गते सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

उनीहरुले शिक्षक सेवा आयोगको नियमावलीमा तालिम नलिएका महिलाका सम्बन्धमा विशेष व्यवस्था भएको साथै, तालिम लिने म्याद समेत २०७५ कात्तिक २२ सम्म बाँकी रहेकाले तालिम नलिए पनि आफुहरुलाई आयोगमा प्रतिस्पर्धा गर्न पाउने आदेश माग गर्दै मुद्दा दायर गरेका थिए ।

२०७४ बैशाख २८ गते ०९:३५मा प्रकाशित

प्रतिकृया दिनुहोस्