डोल्पाकी तिला थापा अहिले १८ महिने भेटेरिनरी जेटिए पढ्दै छिन् । उनीसहित उनका साथीहरु  विद्यालयमा पढेका मात्रै छैनन् सबैजना मिलेर तरकारी खेती पनि गरिरहेका छन् ।

विद्यालयबाट प्रत्येकले पाँच/पाँच हजार ऋण लिएर उनीहरु तरकारी खेति गरिरहेका छन् । तिला थापा भन्छिन् तरकारी खेतीबाट राम्रो आम्दानी पनि भइरहेको त छ नै पढ्दैै काम गर्नुको आनन्द पनि छुट्टैे छ ।

सुर्खेतको बराहताल गाउँपालिकाको बड्डीचौरमा रहेको जनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत् विद्यार्थीहरु यसैगरी पढ्दै कमाउँदै आएका छन् ।उनीहरुले पढाइसँगै विभिन्न कृषि पेशा पनि गर्दै आएका हुन् ।  विभिन्न जिल्लाबाट  पढ्न आएका विद्यार्थीहरु अहिले ऋण लिँदै व्यवसाय गरी राम्रो आम्दानी गर्न सफल भएका छन् ।

सामान्यतः विद्यालय भन्ने बित्तिकै पढ्ने र पढाउने स्थान बुझिए पनि यहाँका विद्यार्थी  भने पढ्ने मात्रै होइन काम गरेर आर्थिक जोहो पनि गर्ने गर्दछन् ।विद्यालयमा आइएसीएजी दोस्रो वर्षमा अध्ययनरत नुवाकोटका अविन तमाङ पनि पढ्दै काम गर्दै आएका छन् ।  दिउँसोको समयमा विद्यालयमा पढ्ने र साँझ बिहानको समयमा काम गर्ने उनको दैनिकी हो ।

नुवाकोटबाट छात्रवृत्तिमा पढ्न आएका उनले  बंगुर फर्म सञ्चालन गरिरहेका छन् । उनले भने, फर्ममा अहिले ३ वटा बंगुर छन् , यहाँबाट  कमाएको पैसा आफुलाई खर्च राखेर कहिले काहीँ घरमा पनि पठाइदिन्छु ।विद्यालयको २५ विद्या आफ्नै जग्गा छ । विद्यालयले विद्यार्थीहरुका लागि गाउँमा जग्गा भाडामा व्यवस्था गरिदिएको छ । २ वटा डिप बोरिङ खनेर सिञ्चाइको व्यवस्था पनि गरिदिएको छ ।

विद्यालयले आफैले पनि बाख्रा र गाई फर्म सञ्चालन गर्दै आएको  छ । एउटा विद्यार्थी बराबर पाँच हजार र राम्रो गर्दै गएपछि १ लाख ५० हजारसम्म ऋण विद्यालयले दिने गरेको छ । आगामी वर्षदेखि विद्यालयमा पढ्न आउने विद्यार्थीहरुलाई अनिवार्य काम गर्ने व्यवस्था गरिने योजना पनि विद्यालयको छ । विद्यार्थीहरुले पढदै र काम गर्दै गर्दा उनीहरुमा उत्साह देखिएको  विद्यालयका प्रध्यानाध्यापक नारायण सिग्देलले बताए ।अहिले यस विद्यालयमा भूकम्प प्रभावित ११ जिल्ला र कर्णालीलगायत अन्य प्रदेशसहित २६ जिल्लाका विद्यार्थीहरु अध्ययनरत् छन् ।

२०७५ असार ६ गते २३:१२मा प्रकाशित

प्रतिकृया दिनुहोस्