काठमाडौं । कक्षा १० को एसइइ परीक्षाको नतिजामा भएको त्रुटि छानविनका लागि छानविन समिति गठन भएको छ ।

शिक्षा मन्त्रालयले २४ घण्टा भित्रै नतिजामा आएको परिवर्तनका सम्बन्धमा छानविन समिति गठन गरेको हो ।

शनिवार सार्वजनिक नतिजामा त्रुटि भएको भन्दै परीक्षा नियन्त्रण कार्यालयले आइतवार विज्ञप्ति जारी गरेको थियो । त्यस पश्चात् सोमवार राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका क्रममा देखिएको त्रुटिसम्बन्धमा छानविनका लागि शिक्षा मन्त्रालयमा पठाएको थियो ।

लगत्तै, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल सहित मन्त्रालयका सचिव सहसचिवहरु सम्मिलित बैठकले शिक्षक सेवा आयोगका प्रशासकीय अधिकृत डा. तुलसी थपलियाको संयोजकत्वको ३ सदस्यीय समिति बनाउने निर्णय गरेको हो । समितिमा मन्त्रालयको कानून शाखाका उपसचिव शम्भु रेग्मी र मन्त्रालयका उपसचिव दिनेश खनाल सदस्य रहेका छन् ।

उक्त समितिले ५ दिन भित्र छानविन गरी सत्यतथ्य सहितको प्रतिवेदन बुझाउने समयसीमा पाएको छ ।

२०७५ असार ११ गते २०:००मा प्रकाशित

प्रतिकृया दिनुहोस्