• सबैका प्यारा ‘तुलसी सर’
    ()

  • रोशन क्षेत्री गाउँले /नवलपरासी

    नवलपुर जिल्लामा उहाँलाई नचिन्ने सायदै होलान् । अझ डण्डा क्षेत्रमा त उहाँ अभिभावककै रुपमा सम्मानित हुनुहुन्छ । सबैले उहाँलाई ‘तुलसी सर’ भन्छन् । जुन तुलसी सर डण्डा क्षेत्रमा शिक्षाको ज्योति बनेर उदाउनुभयो र जीवनभर बलिरहनु भएको छ ।


    आफ्नो जीवन नै शिक्षाका लागि समर्पित गर्ने थोरै मान्छेमा पर्नुहुन्छ उहाँ । साविक नवलपरासीको परासी बजारबाट २०२६ सालमा शिक्षण गर्न भनेर डण्डा ल्याइनुभएका उहाँ आजसम्म यतै रमाउनुभयो । पूरा जीवन नै डण्डाको शिक्षा विकासमा खचर्नुभएका उहाँ घर फर्केर जानु नै भएन ।


    गाउँमा भारतीय शिक्षक मात्रै भएपछि नेपाली खोज्न स्थानीय केवलप्रसाद थनेत, मदनप्रसाद प्रधान, हरिहर शर्मा परासी जानुभएको थियो । उहाँहरुले नै भर्खर एसएलसी उत्तीर्ण गरेर बसेका दुई युवाहरु दीपक केसी र तुलसीलाई डण्डामा लिएर आउनुभएको हो । पछि थप दुईजना नकुल प्रधान र प्रेमशंकर सपेरालाई पनि ल्याइयो । अनि यी चार भाईले मिलेर डण्डामा शिक्षाको ज्योति छर्ने काम गरे ।


    उहाँको पूरा नाम तुलसीप्रसाद भट्ट हो भनेर धेरैलाई थाहा नहुन सक्छ । उहाँ सबैको मनमा तुलसी सर बनेर नै बस्नुभएको छ । ‘हसिला तुलसी सर’, ‘रसिला तुलसी सर’, ‘धेरै कुट्ने तुलसी सर’, ‘धेरै माया गर्ने तुलसी सर’, ‘विद्यालय बनाउने तुलसी सर’, ‘समाजमा चेतना छर्ने तुलसी सर’, आदि ।


    डण्डाका तीन पुस्तालाई उहाँले शिक्षा दिनुमात्रै भएन, पूरा डण्डालाई नै शिक्षाको घामबाट उज्यालो बनाउनुभयो । उहाँ त्यो ठाउँमा शिक्षाको इतिहास नै बन्नुभयो । केही वर्ष मात्रै भयो तुलसी सर विद्यालयबाट अवकाश हुनुभएको । विद्यालयमा प्रधानाध्यापकबाट अवकाश भएपनि उहाँलाई सेवा गर्ने धीत मरेन होला । त्यसैले, उहाँले ६ वर्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेर सेवा गर्नुभयो । विद्यालयमा नयाँ भवन, खानेपानी, कम्प्यूटर र हरेक कक्षाकोठामा पंखा उहाँकै पालामा जोडिए ।


    १८ वर्षे ठिटो जागिर खान परासीको बजार छाडेर जंगलैजंगल भएको डण्डामा किन आउनु’भो ? बाध्यता र रहर र परिस्थितिले ? उहाँ भन्नुहुन्छ, ‘गाउँलेले बोलाए, अनुरोध गरे । फेरि मलाई पनि साना बालबालिकालाई पढाउन र सिकाउन मन लाग्यो ।’ तुलसी भट्टले एकै वाक्यमा भन्नुभयो, ‘मलाई त्यतिबेला लागेको विद्यार्थी पढाउने भोक अहिलेसम्म मरेको छैन ।’ उमेरले ६९ वर्ष टेकेपनि आफूलाई बुढो भएझैं लाग्दैन ।


    पहिले अग्यौली–७ त्रिभुवनटारको जनता माविमा पढाउन भनेर आउनुभएका उहाँ विद्यालय साघँुरो भयो भनेर प्राविलाई अग्यौली ९ टाँडीमा सारेपछि त्यही जानुभयो । पछि पुनः सोही वडामा अर्को दिपेन्द्र निमावि स्थापना भएपछि उहाँ त्यतातिर सर्नुभयो । जहाँबाट प्रधानाध्यापक हुँदै उहाँ अवकाश हुनुभयो ।

     

    तुलसी सरले २०२६ सालममै नवलपरासी जिल्लाकै परासीबाट डण्डा प्रवेश गर्नुभएको थियो । कस्तो थियो त डण्डा त्यतिबेला ? उहाँ भन्नुहुन्छ, ‘जंगलैजंगल थियो । ठटेरो र काचाँे ईंट्टाको विद्यालय भवन थियो । विद्यार्थीहरु फल्याक बिच्छ्याएर पढ्थे । काठको फलेकमा लेखेर पढाइन्थ्यो ।’


    बुवा–आमा सानैमा बितेपछि दाईसँग परासीमा बस्दै आउनुभएको थियो । उहाँको परिवारलाई दाईको मालपोतको मुखियाको जागिरले चलाउन हम्मे–हम्मे नै थियो । त्यही भएर तुलसी सरले एसएलसी पास गर्नेबित्तिकै जागिर खानुपर्ने बाध्यता भयो । भैरहवामा भन्सारमा जागिर खान ठिक्क पर्नुभएछ । भूमिसुधारमा समेत परीक्षा दिनुभएको थियो । तर, उहाँ शिक्षक बन्न डण्डा आउनुभयो । सबै माया मारेर । डण्डा आएर जीवनमा के पाएँ के गुमाए जस्तो लागेको छ त ? प्रश्न खस्न नपाउँदै उहाँ भन्नुहुन्छ, ‘डण्डाले मलाई सबथोक दिएको छ, माया, सम्मान र पहिचान ।’


    जीवनभरको कमाइ डेढ कठ्ठा जग्गामा छोराले बनाएको घरमा बुढेसकाल बिताइरहनुभएका तुलसी सरलाई ‘कमाउन पाइनँ’ भन्ने पछुतो कत्ति छैन । न लाउन सोख भयो न त पैसा कमाउन नै,’ उहाँले स्पष्ट पार्नुभयो । यसो भन्दा उहाँको अनुहारमा सन्तुष्टी भने झल्कन्थ्यो ।


    तीनजना छोरी र एकजना छोरासहितको ६ जनाको परिवारले यसै पेशाबाट गुजारा ग¥यो । आफू मात्रै शिक्षक बन्नुभएन उहाँ, सिलाइबुनाइ गरेर बसेकी श्रीमतिलाई समेत शिक्षण पेशामै भित्र्याउनुभयो । यी दुई जोडी जीवनभर शिक्षण पेशामा जमे ।


    छोराछोरीले धेरै नकमाएको, अन्य पेशा गरेर सम्पत्ति नजोडेको भनेर बेलाबेलामा टोकसो गर्छन् । त्यतिबेलाचाहिँ दुःख लाग्ने तुलसी सर बताउनुहुन्छ । ‘तर, कमाउनुभन्दा पनि मलाई जीवनभर साना बालबालिकासँग भुल्न नै सन्तुष्टी मिल्यो । कमाउने फुर्सदै मिलेन,’ उहाँ भावुक हुँदै भन्नुहुन्छ । कमाउने, परिवारलाई कसरी खुशी पार्ने कहिल्यै भएन । खाली विद्यालयकै चिन्तामा जिन्दगी गयो ।


    बिहान उठेपछि एकफेर गाउँ घुम्नु तुलसी सरको आदत हो । नृत्यकर्म सक्दानसक्दा १० बज्छ । विद्यालय जाने हतारो भइहाल्छ । परिवारले अवकाश भइसकेको सम्झएपछि बल्ल झस्कनुहुन्छ । ‘जीवनभर विद्यालय गएर होला बानी नै रे’छ,’ उहाँ केही मुस्कुराउन खोज्दै भन्नुहुन्छ, ‘तर, विद्यालय गएरै छाड्छु । निरीक्षण गर्छु, सरसल्लाह दिन्छु । कहिले घर बाहिर बसेरै विद्यार्थीहरु विद्यालय गएको हेरेर दिन बिताउँछु ।’


    परासीको आर्दश स्कूलमा पढ्नुभएका तुलसी सरको साथी दीपक बोहरा मन्त्री बनिसक्नुभएको छ । सँगै पढाएका पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नै बनिसक्नुभयो । आफूसँगै पढाएका शिक्षक प्रधानमन्त्री बन्दा कस्तो लाग्छ ? एकै शब्दमा उहाँको जवाफ आउँछ– ‘खुशी ।’

    दल खोल्दा प्रहरी फन्दामा
    पञ्चायतकाल थियो, दलहरुमाथि प्रतिबन्ध थियो । तर, परासीबाट आएका उहाँसहितका चारजना शिक्षकहरु मिलेर ‘चारभाई दल’ बनाएका थिए । सो दलले गाउँ–गाउँमा गएर नाटक देखाउने, गीत गाउने, नाच्ने गथ्र्यो । तर, ‘किन दल बनाइस् ?’ भनेर प्रहरीले दीपक र नकुललाई पक्राऊ गरेर लगे । उहाँले नमीठो अनुभव सुनाउनुभयो, ‘रमाइलोका लागि दल खोलेका थियौं, प्रहरी फन्दामा प¥यौं ।’

    साथीहरु फर्के म अडिएँ
    परासीबाट डण्डा आएका चारजनामध्ये अन्य शिक्षक साथीहरु पछि गाउँ नै फर्किए । त्यति मात्रै होइन, उनीहरुले पेशा नै अलग रोजे । तर, उहाँ भने बालबालिकालाई पढाउन छाडेर फर्किनुभएन । शिक्षणमै यतै रमाउनुभयो । आजसम्म पनि रमाइरहनुभएको छ । त्यतिबेला फर्कन नपाएकोमा कत्ति पछुतो नलागेको उहाँ गर्वसाथ सुनाउनुहुन्छ । २०३१ सालमा स्थायी हुनुभएका तुलसी सरले पछि डण्डा कोल्हुवामै विष्णुकुमारी भट्टसँग विवाह गर्नुभयो । शुरुमा आउँदा मासिक १८० रुपियाँ तलब र २० रुपियाँ भत्ता थियो । बस्ने र खाने समुदायले नै व्यवस्था मिलाउथे । पटक–पटक प्रधानाध्यापक बन्ने प्रस्ताव अस्वीकार गर्दै उहाँ पठनपाठनमै भुलिरहनुभयो । ‘मलाई प्रशासनिक काममा भुल्नुभन्दा पढाउनमै आनन्द लाग्थ्यो,’ उहाँले कारण बताउनुभयो ।

    अभिभावकहरुको चासो घट्यो 
    पहिले विद्यार्थी विद्यालय नआउँदा वा भागेर जाँदा हामी अभिभावकहरुलाई नै विद्यालयमा बोलाएर सोधी–खोजी गर्ने चलन थियो । उनीहरुको पनि चासो र माया हुन्थ्यो । तर, अहिले घटेको छ । उहाँ भन्नुहुन्छ, ‘सामुदायिक विद्यालय न सरकारको न त समुदायको जस्तो भयो । न सरकारले पर्याप्त हेरचाह र सहयोग ग¥यो न त समुदायले नै । शिक्षकहरु पनि कामचोर र अल्छि भए । शिक्षण पेशा जागिर मात्रै भयो । जिम्मेवारी र सेवा भएन । समुदायले सञ्चालन गरेका विद्यालय सरकारले लियो मात्रै तर पूरा हेरचाह गरेन । झड्केलो सन्तानको व्यवहार मात्रै ग¥यो ।’
    उहाँको ठम्याइमा समुदाय निजी विद्यालयप्रति बढी आकर्षित भएका छन् । छोराछोरी निजीमा पढाएपछि सामुदायिक विद्यालयप्रति शिक्षक–कर्मचारीको चासो घटिरहेको छ ।


    शिक्षक कस्तो हुनु पर्छ ?
    चालिस वर्षभन्दा बढी समय शिक्षक भएर शिक्षण गर्नुभएको तुलसी सरलाई सोधियो–शिक्षक कस्तो हुनुपर्ला ? उहाँको उत्तर छ, ‘शिक्षक साँच्चै अभिभावक जस्तै हुनु पर्छ । आफ्नै छोराछोरीलाई जस्तै माया र स्याहार गरेर सिकाउनु पर्छ ।’ तुलसी सरका अनुसार शिक्षकले पहिले आफूले जान्ने र सिक्ने प्रयास गर्ने र विद्यार्थीलाई सिकाउने गर्नु पर्छ । शिक्षकले पढे समाज र देश जान्ने हुन्छ । उहाँ भन्नुहुन्छ, ‘शिक्षक अनुशाशित र जिम्मेवार भए मुलुक समृद्ध हुन्छ ।’


    शिक्षामा ‘आफ्नोपन’ भएन
    उहाँको शिक्षाप्रतिको बुझाइ फरक छ । नेपालको शिक्षा नेपालका लागि भएन । शिक्षामा आफ्नो मौलिकपन नभएको उहाँको ठहर छ । ‘माटो सुहाउँदो, मुलुक बनाउने जनशक्ति उत्पादन गर्ने शिक्षा भएन । पढ्ने र विदेशको सेवा गर्न जाने शिक्षा भयो । नेपालको सेरोफेरोमा रहेर पाठ्यक्रम बन्नुपथ्र्यो । आयातित् भयो,’ तुलसी सर भन्नुहुन्छ, ‘हामीले फेवा, रारा, जनकपुर, सगरमाथा, खप्तड पढाएनौं । अलैचीँ, चिया र जडीबुटी पढाएनौं । कृषिप्रधान मुलुक भएपछि कक्षा १ देखि नै अनिवार्य कृषि विषय हुनुपथ्र्यो ।’

    साभार : आजको शिक्षा साप्ताहिक