काठमाडौं । भाद्र १० गतेको परीक्षा सार्ने माग राखेर भद्रकालीमा जारी अनशन टुंगिएकै दिन एकाथरी अस्थायी शिक्षकहरुले भने परीक्षा सारे आफुहरु आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।

अस्थायी शिक्षकहरुले भाद्र १० गतेको परीक्षा पुनः सारिए आफुहरु आमरण अनसन लगायतको कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन् । परीक्षा अब कुनै हालतमा सार्न नहुने भन्दै उनीहरुले पुनः परीक्षा सारिए आफूहरुलाई क्षतिपुर्ती दिनुपर्ने माग गरेका छन् ।

अस्थायी शिक्षकहरुलाई परीक्षाबाट भागेको, अयोग्य पनि भन्ने फेरी शिक्षा मन्त्रालय र शिक्षक सेवा आयोग परीक्षा लिन डराउने भन्दै उनीहरुले आफुहरुलाई परीक्षाबाट अयोग्य सावित गर्न समेत चुनौति दिए ।

‘२०६१ सालदेखि अस्थायी शिक्षकहरुलाई आयोगपनि नखोल्ने, अयोग्य र परीक्षाबाट भागेको आरोप पनि लगाउन पाइन्छ ?’ मावि पिपरा रौतहटका अस्थायी शिक्षक टेकमन राय यादवले प्रश्न गरे– ‘हामी चुनौति दिन चाहन्छौं हामीलाई परीक्षा लिएर अयोग्य सावित गरियोस ।’

२०५६ सालको नियुक्त भएका राय ४७ वर्ष पुगीसकेका छन् । तर, उनी कसैको कृपाबाट भन्दापनि परीक्षामा प्रतिस्पर्धा गरेरै स्थायी बन्न चाहन्छन् । यदी आफुहरुलाई भाद्र १० गतेको परीक्षामा प्रतिस्पर्धा गर्नबाट बञ्चित गरिए शिक्षक सेवा आयोगकै बिरुद्धमा आन्दोलन थाल्ने उनले चेतावनी समेत दिए ।

बज्रकाली प्रावि रामेछापका अस्थायी शिक्षक रामबहादुर आले परीक्षा दिन भनेर काठमाडौं आएको दुईपटक भयो । शिक्षक आयोग र समाजले लगाएको अस्थायी शिक्षकलाई अक्षसम, अयोग्य र परीक्षाबाट भागेको भन्ने आरोप असत्य सावित गर्न आफू परीक्षा दिन चाहेको उनले स्पष्ट पारे । हामी प्रतिस्पर्धाबाटै स्थायी भएर देखाउन चाहन्छौं तर हाम्रो योग्यतामाथि शंका गर्ने आयोग नै हामीलाई परीक्षा लिन डराइरहेको छ । आलेले भने–यदी भाद्र १० को परीक्षा तेस्रो पटक सार्ने दुश्प्रयास भएमा हामीहरु क्डा आन्दोलनमा उत्रन्छौं । परीक्षा दिने साथीहरु बीच सम्पर्क भइरहेको छ ।

मावि दुधिअवा रौतहटका अस्थायी शिक्षक रञ्जन खरेलले परीक्षा देखि डराउने र भाग्ने केही अस्थायी शिक्षकहरु कहिल्यै परीक्षा नभएर ६० वर्षसम्म अस्थायी रुपमै पढइरहन चाहेको अरोप लगाउँदै शिक्षा मन्त्री र शिक्षक सेवा आयोगका अध्यक्ष पनि उनीहरुकै मतियार बनेका जिकिर गरे । असार २४ को परीक्षाका लागि जेठ १२ देखि नै कोचिङ पढ्न काठमाडौं आएका उनी परीक्षा भाद्र ३ गते सरेपछि विद्यालय बर्खे बिदामा बन्द रहेकाले यतै बसेर तयरी गरिरहेका थिए । भाद्र ३ को परीक्षा १० गर्ते सरेको र पुनः सर्ने हल्ला चलेकाले कुनै हालमा परीक्षा सार्न नहुने उनले जिकिर गरे । सीमित खर्च लिएर आएको थिए होटलमा बस्दा बस्दा लखौं ऋण पुगिसकेको छ । अबपनि परीक्षा सारिए आफुहरुलाई खर्चको क्षतिपुर्ति दिइनुपर्ने उनले माग गरेका छन् ।

नेमधारी वाशुदेव मावि मुडवाला रौतहटका अस्थायी शिक्षक रामश्रेष्ठ यादवले असार २४ गतेको परीक्षाका लागि काठमाडौं आएर हजारौं खर्च भएको परीक्षा भाद्र ३ गते सरेपछि पुनः घर गएको बताए । ‘परीक्षा तयारी गर्दा गर्दै तराइको गाउँमा बढी आयो । दुईवटा खाट खप्ट्याएर पनि सुत्यौं ।’ उनले भने–‘बढीका बीच घर परिवारलाई छोडेर आइयो, परिवारले परीक्षा छाड्न गरेको अनुरोध नमान्दै हिड्दै, मोटरसाइकलमा आधाबाटो सम्म र गाडीमा बडो कष्टसँग काठमाडौं ओर्लिए ।’ काठमाडौं ओर्लिन साथ परीक्षा सरेको खबर आएपछि बस्नु न फर्कन्ु भएको भन्दै यादवले भाद्र १० गतेको पनि परीक्षा सरे आफु बिचल्लीमा पर्ने बताए ।

स्वतर्मु प्रावि वाङ्ती रामेछापका अस्थायी शिक्षक भिमबहादुर बस्नेतले परीक्षा सरिरहँदा आफ्नो विद्यालय बिदा र खर्च सकिएको दुखेसो पोखे । परीक्षाको अन्तिममा आएर सार्नै निर्णय गरेर आयोगले अस्थायी शिक्षकको संवेदनामाथि खेलवाड गरेको उनले आरोप लगाए । अब पनि परीक्षा सारे आफुहरु भद्रकालीमा आमरण अनसन बस्ने उनले स्पष्ट पारे । ‘हामी परीक्षा लडेर आफ्नो योग्यताले स्थायी हुन्छौं भन्न नपाउने ?’ बस्नेतले भने –‘परीक्षा सार्नु भनेको शिक्षकहरुलाई अस्थायी र अयोग्य नै बनाइरहने खेल हो ।’ परीक्षा सारे आफुहरुले शिक्षक सेवा आयोगलाई अयोग्य घोषणा गर्दै पहिले जस्तै शिक्षक छनौट समितिबाटै परीक्षा सञ्चालन गर्न सरकारलाई दबाब दिने समेत उनले दाबी गरे । असक्षम र अयोग्य भएको भए हामी परीक्षा किन रोज्थ्यौं र ? प्रश्न गर्दै उनले कुनैपनि बहानामा  भाद्र १० गतेको  परीक्षा सरिए आफुहरुले कडा आन्दोलन गर्ने बताए ।

बालविकास मावि आलापोट काठमाडौंका अस्थायी शिक्षक जयनारायण चौधरीले मन्त्रिपरिषदबाट परीक्षा सारिए आफुहरु अदालत र आन्दोलनको बाटो रोज्ने स्पष्ट पारे । हामी रगत बगाउन तयार छौं तर भाद्र १० गतेको परीक्षा सर्न दिदैनौं–चौधरीले भने । परीक्षा दिन चाहने अस्थायी शिक्षकहरुको संगठन नै बनाएर परीक्षाको पक्षमा सरकार, आयोग र दलहरुलाई दबाब दिने तयारी भएको समेत उनले खुलासा गरे ।

२०७४ भदौ ५ गते १३:१८मा प्रकाशित

प्रतिकृया दिनुहोस्