• कक्षा ११ र १२ मा परीक्षा फारम भर्न छुटेकालाई पुनः मौका, जरिवाना सहित चैत २५ सम्म भर्न पाउने
    ()

  • भक्तपुर । कक्षा ११ र १२ मा परीक्षा फारम भर्न छुटाएका विद्यार्थी एवं विद्यालयहरुले पुनः फारम भर्ने अन्तिम मौका पाउने भएका छन् ।


    राष्ट्रिय परीक्षा बोर्डको बुधवार बसेको बैठकले परीक्षा फारम भर्न छुटाएका विद्यार्थी र विद्यालयलाई पुनः फारम भर्ने अन्तिम मौका दिने निर्णय गरेको हो ।


    परीक्षा फारम भर्न छुटाएका विद्यालय एवं विद्यार्थीहरुले दोव्वर दस्तुर र जरीवाना सहित आगामी चैत्र २५ गते भित्र पुनः बुझाउन सक्ने बोर्डले जनाएको छ । निर्धारित र दोव्वर दस्तुर सहित बुझाउने समयमा समेत केही विद्यालय र विद्यार्थीहरुले परीक्षा फारम भर्न छुटाएका गुनासो आएपछि बोर्ड उनीहरुलाई अन्तिम मौका प्रदान गरेको हो ।


    बुधवार बसेको परीक्षा बोर्डको बैठकले २०७५ साल वैशाख/जेठ महिनामा सञ्चालन हुने कक्षा १२ र ११ को वार्षिक परीक्षामा सहभागी हुनका लागि तोकिएको समयमा परीक्षा आवेदन फारम बुझाउन छुट भएका परीक्षार्थीहरुलाई चैत्र २५ गतेभित्र फारम बुझाउने म्याद थप गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणी पौडेलले जानकारी दिए ।


    बोर्ड बैठकले प्रति विद्यार्थी प्रति कक्षा दोब्बर १,२०० का दरले शुल्क लिई, सम्बन्धित विद्यालयलाई एकमुष्ट ३,००० जरिवाना र प्र.अ.लाई सचेत गराई छुट फारम बुझिलिने निर्णय गरेको पौडेलले जानकारी दिए ।


    बोर्डका अनुसार देशभर ५५८ विद्यार्थीहरुले परीक्षा फारम भर्न छुटाएका छन् । उनीहरुले दोव्वर दस्तुर र जरीवाना सहित फारम बुझाए परीक्षामा सहभागी हुन पाउनेछन् ।

    बुधवारको बैठकमा केही विद्यालयको छुटेको परीक्षा केन्द्र व्यवस्थापन गर्ने निर्णय समेत भएको अध्यक्ष पौडेलले जानकारी दिए ।


    विश्वविद्यालय भर्नाको आधार छिट्टै तय हुने
    माध्यमिक शिक्षामा(कक्षा १०, ११ र १२)मा विद्यार्थी मूल्याङ्कनमा अक्षराङ्कन प्रणाली लागु भइसकेको अवस्थामा विश्वविद्यालयहरुमा विषयगत भर्नाको आधार कालागि बोर्डले तयारी शुरु गरेको छ । बोर्डले सबै विश्व विद्यालयहरुका डिनहरुसँगको यसबारे छलफल शुरु गरेको हो । छलफलमा डिनहरुले आ–आफ्ना संस्थाहरुमा छलफल गरी भर्नाको आधार छिट्टै उपलब्ध गराउने जानकारी गराएका बोर्डले जनाएको छ । अक्षराङ्कन प्रणालीमा कोही फेल नहुने भएपनि सवैले विश्वविद्यालयमा भर्ना हुन पाउने किन नपाउने अन्योल रहँदै आएको छ । अब विश्वविद्यालयहरुले कुन विषयमा कुन ग्रेड आएका विद्यार्थीहरुले विश्वविद्यालयमा कुन विषय अध्ययन गर्न पाउने/नपाउने आधार छिट्टै उपलब्ध गराउने भएका हुन् ।