• रामेछाप जिल्लाको साहित्यिक इतिहास : एक संक्षिप्त सिंहावलोकन
    ( पेशल आचार्य)




  • प्राक्कथन
    साहित्य समाजको ऐना हो । समाज अध्ययन गर्नु पर्ने भए साहित्यको अध्ययन गर्ने सल्लाह दिन्छन् – विद्वानहरु । हुन त यो साहित्यको सनातान परिभाषा हो तर अहिलेसम्म नयाँनवीन भनिएका कुनै परिभाषाहरुले पनि यो सनातन परिभाषालाई विस्थापित गर्न सकेको देखिँदैन । पौरस्त मान्यतानुसारको संस्कृत साहित्य र मीमांशामा साहित्य दुई अर्थमा लेखिने कुरा सगौरव रूपमा चर्चा गरिएको छ । पहिलो अर्थ ‘स्वान्त सुखाय’ र दोस्रो अर्थ ‘पर हिताय ।’ ‘स्वान्त सुखाय’ को अर्थ व्यापक छ । यसका माने धेरैथरि लाग्छन् । आनन्द, इच्छा, सन्तुष्टि, स्वाद् र चाहना सुखका पर्याय हुन् । त्यसैगरी ‘पर हिताय’ भनेको आफूबाहेक अरूको हित वा भलाइ हुनु हो । यसर्थमा साहित्यका केही परिभाषालाई यसरी अघि सार्न सकिन्छ –

    ‘शब्दार्थ सहितौ काव्यम’ – भामह
    ‘वाक्यम् रसात्मकम् काव्यम’ – जगन्नाथ


    पूर्वीयसाहित्य शास्त्रले बह्मालाई आदिकवि र वेदलाई सर्वप्राचीन काव्य मान्दछ । पश्चिममा पनि ग्रीक म्याथोलोजीका पूराकथा र जनश्रुति र किम्वदन्तीहरु प्रचलनमा रहेका थिए । हामी पूर्वीय संस्कृतिका अनुयायी भएकाले वेद, पुराण, ब्राह्मण ग्रन्थहुँदै जातक कथाहरुमा हाम्रो विश्वास पढी भए पनि पश्चिमी मतानुसारको धार्मिक, सांस्कृतिक र पारम्परिक कुराहरुमा तर्क साथै प्रमाणहरु भएको अवस्थालाई दृढोक्तिका साथ दावा गर्ने गरिन्छ ।


    समाजको विकास अघि नै जब ओडारमा मानिसको बसोबास थियो त्यसबेला मै सिकार गर्न जाँदाआँउदा थकाली प्रवृत्तिको मानिसले आफ्ना सन्तान परिवारका अन्य सदस्यरुलाई शान्त्वनाकै लागि भनेर जब ‘सिकार कथा’ वाचन ग¥यो तत् समयदेखि नै कथ्य रूपमा साहित्यको लोककथा विधा शनैःशनैः घस्रन थालेको हुनुपर्छ । कला शाखाका १६ वटा शाखामध्ये शब्दकला जीवन र जगत्लाई विशालतम् रूपले अथ्र्याउन सक्ने सर्वशक्तिमान् र सबै खाले मानव मनहरुलाई उपयुक्त हुने कला प्रस्तुत गर्न सक्षम छ । संसारका सबै भाषा, कला र संस्कृतिमा यो परम्परा उत्तरोत्तर रुपले अगाडि बढिरहेको पाइन्छ । इतिहासले पनि त्यही कुरालाई बताउन खोजको छ ।


    विकासका क्रममा अक्षर, छापाखाना र कागजको आविष्कार पछि मनिसहरुको जीवन साक्षरोत्तर ढंगले क्रियाशील हुँदै अगाडि बढ्दै जाँदा साहित्यका लेख्य विधाहरुले जन्मिने र अन्मिने अवसरहरु पाउँदै गए ।


    समय आफ्नै गतिमा पखेँटा चाल्दै गयो । सभ्यताले गति पक्य्रो । पुस्ता दरपुस्ताहरुका शृङ्खलाहरु आवृत्ति हुँदै गए फलतः हामी भाषा आविष्कारको यी दसपन्ध्र हजार वर्षहरुका लिखित रूपमै सरल ढङ्गले यात्रारत छौं ।


    पृष्ठभूमि
    वर्तमानमा मध्यमाञ्चल विकास क्षेत्रको १९ जिल्लामध्ये विकास र मानव सूचकाङ्क का हिसाबले १९ औं नम्बरमै पर्ने भनिए पनि साहित्य र कलाका हिसबाले रामेछापलाई ऐतिहासिक जिल्लाका रूपमा पाउन सकिन्छ । पचासको दसकको मध्यतिर मात्रै सडक, बिजुली र टेलिफोनजस्ता आधुनिक सुविधाहरु उपलब्ध हुँदै गएपछि अलिक सुविधा र सरलताको जीवन भोग्दै गएका यहाँका मानिसहरु विश्वासिला, परिश्रमी र साहसयोग्य पनि रहेका देखिन्छन् ।


    रामेछाप जिल्लालाई पुरानो जनबोलीमा पूर्व २ नम्बर पनि भनिन्छ । यो जिल्लामा जन्मेर कतिपय विद्वान् विदुषीहरुले प्रारम्भिक शिक्षा यहीँ लिएर जिविकोपार्जन हिसाबमा जिल्ला बाहिर गएर बसेका र त्यहीँ आफ्नो बसोबास गर्ने गरेको पाइन्छ भने कतिपयले चाहिँ जन्मने सौभाग्य मात्रै यहाँ पाएका र प्रारम्भिक शिक्षादेखि सबै कुराहरु बाहिर गएर मात्र सम्भव भएको हुँदा तिनीहरुले जिल्लाका लागि समय समयमा केही रचनात्मक कार्य गरिरहेको समेत देखिन्छ । यो अवस्था केवल साहित्यमा मात्र सीमित भएर विद्यमान छैन । साहित्य इतरका समाजसेवा र , शिक्षा र स्वास्थ्य एवम् मानवाधिकारको क्षेत्रमा समेत रहेको छ ।


    रामेछापमै जन्मेर हुर्कीबढी गरेका संस्कृत भाषा, साहित्य र मीमांशाका एकमात्र पहिलो विद्वान् पोष्टाचार्य पद्मप्रसाद भट्टराई हुन् । तिनी सालुमा जन्मेका स्रष्टा हुन् । त्यसैगरी संस्कृत साहित्यको वृहत् अध्ययन गरेर ‘ब्रह्मशूत्र त्रिविधभाष्य’ जस्तो गरिमामय ग्रन्थ लेख्ने विद्वान् पण्डित सोमनाथ घिमिरे व्यास हुन् । खोजीपस्दा नेपाली साहित्यको माध्यमिक कालदेखि नै रामेछापमा सशक्त साहित्यिक स्रष्टाहरुको क्रियाशीलता भएको पाइन्छ । थुप्रै गद्यपद्य कृतिका लेखक तथा आशुकवि शम्भुप्रसाद, नेपाली उद्बोधन साहित्यमा अतुलनीय योगदान गर्दै नाम कमाएका प्रसिद्ध कविकर धरणीधर कोइराला र नेपाली साहित्यमा पुस्तक लेखेर पहिलोपटक साहित्यिक सहिद उपनामले विभुषित हुने सुब्बा कृष्णलाल अधिकारी पनि रामेछाप जिल्लाकै हुन् ।


    यहाँको माटोमा जन्मेर थुप्रै विधामा राष्ट्रिय, अन्तर्रा्ष्ट्रिय रूपमा नाम कमाउन सफल भएका धेरै विद्वान् विदुषीहरु यतिखेर जिल्लाबाहिर देशभित्र र देशबाहिर रहेर अझै आफ्नो मातृभूमिको भार रूपि ऋण तिर्न अहोरात्र क्रियाशील रहनुभएको छ जसको विस्तृत रूपमा पछिल्ला अनुच्छेद्हरुमा व्याख्या र विश्लेषण गरिन्छ ।


    खोजको सहारा लिएर लामो अध्ययन गर्ने हो भने रामेछाप जिल्लाको साहित्यिक इतिहास छिमेकी दोलखा र सिन्धुली जिल्लाको इतिहासभन्दा बढी गौरवमय र संघर्षशील देखिन्छ । यो सानो लेखाट मै पनि रामेछापमा सयौँ स्रष्टाहरुको जन्म र उनीहरुले कलम एवम् कुची शक्तिका माध्यमबाट आफ्नो मातृजिल्लालाई चिनाउने कार्य गरेको पाइयो । नेपाली भाषाको विकास भएको प्राचीन समयदेखि नै यस क्षेत्रमा क्षेत्री र बाहुनजस्ता जातहरु बसोबास भएको प्राचीन ग्रन्थहरुमा उल्लेख भेटिन्छ । तत्पश्चात् उत्तर भोट प्रदेशबाट तिब्बती मूल भएका तामाङ जातिहरुको आगमन भई बसोबास भएको पाइन्छ भने सोही समयदेखि नै केही अघि वा पछि सुनुवार, पहरी, हायूजस्ता अल्पसंख्यक जातजातिहरु भित्रिएका हुन् जो हाल जिल्लाकै विभिन्न गाविसहरुमा छरिएर रहेका छन् ।


    जिल्लाको नामकरण नै हेर्दा के थाहा पाइन्छ भने जिल्ला नामकरणका बेला ‘रा’ को सामान्य अर्थ ‘बाख्रा’ र ‘म्हे’ को अर्थ ‘भेडा’ र छापको अर्थ ‘खोर वा गोठ’ भन्ने लगाई तामाङहरुलाई जिल्लाकै पुराना आदिवासीको रूपमा गणना गर्न सकिन्छ । यद्यपि जातिगत इतिहास पुरानो भए पनि तत्तत् जातिमा रहेका मिथक र किम्बदन्तीका आधारमा रही लिखित साहित्य लेखिने क्रम भने वर्तमानका समय सम्ममा रहेको पाइँदैन । केही छिटपुट रूपमा भने जनजातिका साहित्यकारहरुले कलम चलाउनु भएको पाइन्छ । यो सन्दर्भमा अमृत योञ्जनको नाम उल्लेख रूपमा देखापर्छ । पत्रकार तथा लेखक अमृत योञ्जनले तामाङ भाषा र संस्कृतिका क्षेत्रमा दर्जनौ कृतिहरु दिनुभएको छ । यद्यपि वहाँ नेपाली भाषालाई अभिव्यक्तिको माध्यमबाट पनि पस्कँन पाको लेखक हो ।


    यसरी नेपाली भाषाका लेखिएका र नेपाली भाषालाई आफ्नो वाणि प्रकशनको माध्यम बनाउनु हुने लेखकहरुको चरणगत विकास र योगदानलाई यहाँ यो सानो आलेखमा प्रकाश पार्न खोजिएको छ ।

    चरणगत विकास :


    पहिलो चरण (१९३४–१९६०) :
    लोक साहित्य जब लिखित साहित्यमा अघि बढ्दै आयो त्यसपछि यस जिल्लाका साहित्यकारहरु पनि क्रमशः उत्साहित हुँदै गएको पइन्छ । नेपाली निबन्ध र कविताका धरोहर आशुकवि शम्भुप्रसाद ढुङ्गेलको जन्म जिल्लाकै पकरबासमा भएको मानिन्छ जसले ‘महेन्द्रमल्ली’ नामको निबन्ध लेखेर नेपाली निबन्ध साहित्यको पहिलो चरणमा योगदान दिएका थिए । त्यसैगरी उनले कविता र काव्यमा पनि योगदान दिएको पाइन्छ ।
    त्यसपछि मावलमा जन्मेका कवि धरणीधर कोइराला अग्रपङ्तिमा आउँछन् । उनी साविक दोलखा र हाल रामेछापको बेताली भन्ने स्थानमा (वि.सं १९४४ सालमा) जन्मेका थिए । त्यसपछि पोष्टाचार्य पद्मप्रसाद भट्टराई, सोमनाथ घिमिरे ‘व्यास’, सुब्बा कृष्णलाल अधिकारी, पं. शाम्बभक्त सुवेदी ‘मुरारी’, हितप्रसाद उपाध्याय सुवेदी, पं.छविलाल ढुङ्गेल ‘सुरी’, पं.श्रीकान्त शर्मा घिमिरे, ऋषिभक्त पौडेल, पं. दधिराम पौडेल, यदुनाथ घिमिरे, देवीप्रसाद पौडेल हबल्दार, दाताराम शर्मा पौडेल, चन्द्रप्रसाद ढुङ्गाना, दिलबहादुर नेवार, हृदयराज शर्मा घिमिरे, पुष्पलाल श्रेष्ठ, भरतराज शर्मा ‘मन्थलीय’, गोविन्द शर्मा ‘विमल’, शंकरप्रसाद सत्याल, टेकनाथ भट्टराई र प्राडा दीर्घराज घिमिरेका फुटकर तथा कृतिगत रचनाहरुले सारभूत रूपमा साहित्यको आधार कार्य गरेको पाइन्छ ।


    दोस्रो चरण (१९९१–२०४६) :
    रामेछापकै साहित्यिक विकासमा समग्रतामा दोस्रो चरण भनेको सात सालको क्रान्ति अगाडि संवत्को नब्बेको दसक नै हो । यस समयलाई समग्र साहित्यिक इतिहासले आधुनिक कालको रूपमा मूल्याङ्कन गरे पनि रामेछापको सन्दर्भमा चाहिँ दोस्रो चरण या विकास कालका रूपमा लिन सकिन्छ । यो काल खण्डमा रामेछापमा थुप्रै साहित्यिक स्रष्टाहरु यस दोस्रो चरणमा पनि कलम चलाउँदै रहे भने केही नयाँ स्रष्टाहरुको आगमन भने नव प्रवेशीहरुको रूपमा पाइएको छ । यस काललाई जोर सन्धीकालका रूपमा पनि लिन सकिने मत विद्वान्हरुको रहेको छ ।


    यस समयावधिमा क्रियाशील साहित्यिक हस्तीहरुमा बाबुराम सापकोटा (जस्केलो हस्तलिखित पत्रिका २०१३ का सम्पादक), नगेन्द्रराज शर्मा (अभिव्यक्तिका सम्पादक), रोचक घिमिरे (रचनाका सम्पादक), बहुमुखी साहित्यकार जगदीश घिमिरे, गुणराज काफ्ले शाण्डिल्य, बाबुराम पौडेल, अर्जुनकुमार खड्का, प्रा.नीलमणि ढुङ्गाना, गोविन्दप्रसाद घिमिरे, रघुनाथ घिमिरे, चन्द्रकला नेवार, डा. भूपहरि पौडेलजस्ता थुप्रै साहित्यिक हस्तीहरुको कलम विविध विधाका विभिन्न रचनाहरुमा अविश्रान्त तबरले चलेको पाइन्छ ।


    साहित्यिक हस्ती मात्रै जन्माएर गजक्क परेर रामेछाप जिल्ला बसेन यसले त राजनीति क्षेत्रका महान् हस्तीहरुलाई पनि आफ्नो काखमा जन्मदिएर लुटपुटिने अवसर समेत दियो । ती व्यक्तित्व थिए –नेपाली जनक्रान्तिका प्रथम सहिद मध्येका गंगालाल श्रेष्ठ (१९७५–१९९७) र नेपाली कम्युनिष्ट आन्दोलनका धरोहर पुष्पलाल श्रेष्ठ (१९८१–२०३५) । त्यसै हुनाले रामेछाप जिल्लालाई आज पनि तीनलालको जिल्लाका रूपमा लिइन्छ । प्रथम लाल गंगालाल, द्वितीय लाल पुष्पलाल र तृतीय लाल भनेका कृष्णलाल हुन् । यी लालहरुको सुकीर्ति, सुनाम र सुयशले जिल्लामा चेतनाको पारो क्रमशः बढ्दै गएको हो । अब यो इतिहसको विषय भैसके पनि यही सुयशमा रामेछापका स्रष्टाले आफ्नो चेतनाको पारो ओकल्ने कलम चलाउनु परेको छ ।


    दोस्रो चरण मै पत्रकारिताका क्षेत्रमा उल्लेख्य योगदान पु¥याउनु हुने व्यक्तित्वहरुमा नगेन्द्रराज शर्मा (सम्पादक अभिव्यक्ति), रोचक घिमिरे (सम्पादक रचना), नवराज अधिकारी (सम्पादक अन्तर्रा्ष्ट्रिय मञ्च, नारी मञ्च, बाल मञ्च), विमल भौकाजी (सम्पादक घुएँत्रो र शारदा), अशोक सुवेदी (सम्पादक नौलो विहानी) आदि प्रमुख रहेका छन् । यी पत्रिकाहरु जिल्ला बाहिरबाट दर्ता भई जिल्ला बाहिरबाटै प्रकाशित भइरहेका छन् । यो क्रममा शारदा र घुएँत्रो पत्रिका यसबेलाको स्थितिमा बन्द भएको अवस्था छ ।


    रामेछाप जिल्ला भित्रबाटै २०४६ सालअघि प्रकाशित रूपमा जिल्ला प्रशसन कार्यालयमा दर्ता भएर पत्रपत्रिका प्रकाशित भएको पाइँदैन तर पत्रपत्रिकामा श्रमजीवीका रूपमा थुपै्र पत्रकारहरु कार्यरत रहेको भने पाइन्छ । श्रमजीवी पत्रकारको रूपमा कुरा गर्दा अग्रज पत्रकारहरु नगेन्द्रराज शर्मा (अभिव्यक्ति), रोचक घिमिरे (रचना), जगदीश घिमिरे ( समीक्षा साप्ताहिक २०२५ तिर) जस्ता व्यक्तित्वले पत्रकारिता गर्दै साहित्य र साहित्यइतरका विविध विधामा समेत योगदान गरेको पाइन्छ ।


    त्यसैगरी रामेछाप जिल्लामै जन्मेर चित्रकलाको माध्यमबाट उच्च शिक्षा लिई प्रथम पीएचडीको उपाधि समेत ग्रहण गरेका डा. रामकुमार भौकाजीले समेत कला र सो क्षेत्रको विकासका लागि थुपै्र खोज र अनुसन्धानमूलक लेखरचनाहरु लेखेको पाइन्छ ।


    तृतीय चरण (२०४७ देखि हालसम्म)
    यो चरण अद्यावधि क्रियाशील भएकाले अझै पूर्णरूपेण मात्रामा मूल्याङ्कन गर्ने समय आइसकेकै छैन । तापनि यस चरणमा साहित्य, पत्रकारिता, चित्रकला र संगीतका क्षेत्रमा रामेछाप जिल्लामा जन्मेर स्थानीय र राष्ट्रिय स्तरमा नाम कमाएका थुपै्र स्रष्टाहरु जन्मेर हुर्किसकेका छन् ।


    जिल्लामै जन्मी जिल्लामै बसी पत्रकारिता गर्ने श्रमजीवी पत्रकार राजकुमार केसी (देउरालीका बासिन्दा) थिए । उनी २०४६ को परिवर्तन अघि रामेछापको मन्थलीमा क्रियाशील पत्रकार थिए । ‘गोरखापत्र’ का सम्वाददाता भई कार्य गर्ने केसी माओवादी जनयुद्धका बेला सेनाद्वारा हत्या गरिएका पत्रकार हुन् । हाल उनकी छोरी उमा केसी ‘हजुरको रेडियो’ रामेछापमामा पत्रकारितामा क्रियाशील हुँदै हाल राजधानीस्थित ‘नेपालवाणी’ एफ्एम्मा अझै कार्यरत छिन् ।
    प्रजातन्त्रको पुनस्र्थापनापछि रामेछापबाट पत्रपत्रिकामा काम गर्ने श्रमजीवीहरुको निकै लामो सूची नै निर्माण भयो जसमध्ये क्रियाशील पत्रकारहरुमा टीकाप्रसाद भट्ट (कान्तिपुर दैनिक), नवराज पथिक (नेपाल समाचारपत्र, हालः रेडियो तीनलाल), दिनेश गाउँले (हालः हजुरको रेडियो), पेशल आचार्य (जनमञ्च, नेपाल समाचारपत्र, हालः स्वतन्त्र लेखन र दीपन सम्पादन), हिमाल ढुङ्गेल (अन्नपूर्ण पोष्ट), रमेश ढुङ्गेल (कालिन्चोक सन्देश), दीपक भट्ट –नयाँपत्रिका), अप्रिल अधिकारी (कारोबार दैनिक), बद्री नयाँघरे (राजधानी दैनिक), सौजन्यप्रसाद सत्याल (गोरखापत्र दैनिक), मञ्जु उप्रेती (नागरिक दैनिक), निरज सापकोटा (सैलुङनुम्बुर टाइम्स), टंकप्रसाद गौतम (रामेछाप पोष्ट साप्ताहिक), सुमित श्रेष्ठ (पुष्पवृष्टि साप्ताहिक), वेदबहादुर श्रेष्ठ (पुष्पवृष्टि साप्ताहिक), विजय श्रेष्ठ (पुष्पवृष्टि साप्ताहिक) आदि रहेका छन् भने ‘गोरखापत्र’ दैनिकमा समावेशी प्रकाशनका रूपमा रहेको माझी भाषाको पाक्षिक सम्पादन ‘माझी भाषाको पृष्ठ’ मा गणेश माझी र गोपाल माझी पृष्ठ संयोजक भई क्रियाशील पत्रकारद्वयका रूपमा क्रियाशील रहेका छन् ।


    त्यसैगरी विद्युतीय सञ्चार माध्यममा कार्यरत पत्रकारहरुमा टीकाप्रसाद भट्ट कान्तिपुर टेलिभिजन, नवराज पथिक एभेन्युज टेलिभिजन, रमेश ढुङ्गेल तराई टेलिभिजन, हिमाल ढुङ्गेल नेपाल टेलिभिजन, अप्रिल अधिकारी हिमालय टेलिभिजन, विनोद सुवेदी एबीसी टेलिभिजनमा कार्यरत रहेका छन् भने जिल्लाभित्र र जिल्लाबाहिरका एफएमहरुमा कार्यरत पत्रकारहरुमा टीकाप्रसाद भट्ट कान्तिपुर एफएम, नवराज पथिक तीनलाल एफएम, दिनेश गाउँले हजुरको रेडियो, दीपक घिमिरे हजुरको रेडियो, रमेश ढुङ्गेल जानकी एफएम, सौजन्यप्रसाद सत्याल रेडियो रामेछापमा क्रियाशील रहेका छन् । त्यसैगरी जिल्लाकै एफएम रेडियोहरुमा क्रियाशील पत्रकारहरुमा शान्त श्रेष्ठ, सञ्जीला मोक्तान, सुमित्रा योञ्जन, सुशीला थोकर, कैलाश खत्री, प्रज्ज्वल पौडेल ‘पिस्वायर’, उज्ज्वल गिरी, युनिक विफा घिसिङ, रामचन्द्र विश्वकर्मालगायतका युवा पत्रकाहरुकार्यरत रहेका देखिन्छन् ।


    द्वितीय चरणमा प्रकाशित ‘जस्केलो’ (२०१३) हस्तलिखित पत्रिकामार्फत् पत्रकारितामा उदाएका पत्रकार तथा साहित्यकार बाबुराम सापकोटा लामो समयसम्म प्रशासनिक क्षेत्रमा क्रियाशील भई हाल साहित्यिक रूपमा भने निष्क्रियप्रायः जीवन बिताइरहेका छन् । त्यसैगरी रामेछापबाटै दर्ता भई केही समय प्रकाशित भएर स्थगित भएका पत्रिकाहरुमा अनीता श्रेष्ठको ‘रामेछाप सन्देश’, दिनेश घिमिरेको ‘तीनलाल साप्ताहिक’, सुदर्शन रायको ‘नुम्बुर टाइम्स’, अशोक सुवेदीको ‘जनपुष्प’, पेशल आचार्यको ‘अविरल’ मासिक, यज्ञ ढकालको ‘रामेछाप मासिक’, रमेश ढुङ्गेलको ‘लोकवार्ता’ साप्ताहिक रहेका छन् भने हाल जिल्लामा ‘रामेछाप साप्ताहिक’, ‘सैलुङनुम्बुर साप्ताहिक’, ‘रामेछाप खबर साप्ताहिक’, ‘पुष्पवृष्टि साप्ताहिक’ र ‘रामेछाप साप्ताहिक’ नामका ५ वटा साप्ताहिक पत्रिकाहरु प्रकाशनमा रहेका देखिन्छन् ।


    त्यसैगरी अहिलेको समयसम्म जिल्लामा ७ वटा एफएमहरु सञ्चालनमा आएका छन् । तिनीहरुमा ‘तीनलाल एफएम’, ‘रेडियो रामेछाप’, ‘हजुरको रेडियो’, ‘रेडियो तीफदी’, ‘झन्कार रेडियो’ र अन्य दुईवटा जिल्ला सदरमुकामबाहिर बाम्तीभण्डार र प्रीतिमा रहेका छन् । यसरी अहिलेको परिस्थितिमा पत्रपत्रिका र रेडियोको माध्यमबाट जिल्लामा क्रियाशील पत्रकारहरु ५० भन्दा बढीको संख्यामा कार्यरत रहेको कुरा पत्रकार रमेश ढुङ्गेलले जानकारी गराउनु भएको छ । ती पत्रपत्रिका र रेडियोमा कार्यरत पत्रकारहरुले पनि बेलाबेलामा साप्ताहिक रूपमा साहित्यिक कार्यक्रमहरु प्रशारण गर्ने गर्दछन् जसमध्ये ‘रेडियो तीनलाल’ मा पत्रकार तथा गजलकार युनिक विफा घिसिङको सञ्चालनमा ‘अल्झिएको साहित्य’, ‘रेडियो रामेछाप’ एफएममा पत्रकार तथा गजलकर प्रज्ज्वल पौडेलको सञ्चालनमा ‘स्मृतिका पानाहरु’ नामक साप्ताहिक साहित्यिक रेडियो कार्यक्रम पनि सञ्चालन भइरहेका छन् भने निकट भविष्यमै प्रकाश न्यौपाने ‘परिष्कार’ को सञ्चालनमा रेडियो रामेछापबाटै अर्को एक साहित्यिक कार्यक्रम सञ्चालन हुने तयारी भैरहेको जानकारी पनि सञ्चालकबाटै पाइएको छ ।


    जिल्लमा प्रकाशित साहित्यिक पत्रपत्रिकाहरु :
    रामेछाप जिल्लामा अहिलेसम्मको रेकर्ड अनुसार साहित्यिक पत्रिकाको दर्ता समाचार र अन्य विकासे पत्रपत्रिकाहरुको तुलनामा निकै कम भएको पाइन्छ । ‘नव आलोक’ र स्रष्टा सङ्गम को संचालनमा प्रकाशित ‘दीपन’ मासिक पत्रिका नै अहिलेसम्म जिल्लामा दर्ता भएर प्रकशित भएका पत्रिकाहरुमा पर्दछन् तर ती दुवै यो लेख तयार पार्दाका अवस्थासम्म बन्द अवस्थामा छन् । ‘दीपन’ मसिकलाई भने नयाँ जोश जाँगरका साथ २०७१ सालदेखि पुनः प्रकाशित गरिने जानकारी सो पत्रिकाका प्रधान सम्पादक सौजन्य प्रसाद सत्यालले दिएका छन् । दर्ता नभएका तर केही समय प्रकाशित भएका पत्रिकाहरुमा ‘अविरल’ मासिक (प्रधान सम्पादक पेशल आचार्य र सम्पादक हिमाल ढुङ्गेल), ‘वसन्त पल्लव’ मासिक (सम्पादकद्वय प्रकाश न्यौपाने ‘परिष्कार’ र मुकुन्दप्रसाद भण्डारी), ‘तामोकासी आवाज’ (सम्पादक पार्वती श्रेष्ठ), ‘नवआयाम’ मासिक (सम्पादक केशव अमोल तिम्सिना र रवीन्द्र प्रलय) जस्ता पत्रिकाहरु रहेका थिए ती अब साहित्यिक इतिहासको गर्तमा बिलाई सकेका छन् ।


    जिल्लमा क्रियाशील साहित्यिक संघसंस्थाहरु :
    जिल्लामा यतिखेरसम्मको अवस्थामा जगदीश घिमिरे साहित्य प्रतिष्ठान, महाकवि लक्ष्मीप्रसाद देवकोटा साहित्य प्रतिष्ठान, हितप्रसाद उपाध्याय–जूनमाया सुवेदी साहित्यिक प्रतिष्ठान, प्रगतिशील लेखक संघ, रामेछाप साहित्यिक प्रतिष्ठान, नवआयाम साहित्यिक प्रतिष्ठान, अनौपचारिक साहित्यिक मञ्च र स्रष्टा सङ्गमजस्ता साहित्यिक संघसंस्थाहरु केही नियमित सहित्यिक कार्यक्रमसहित र केही धुकधुकीसहित क्रियाशील रहेका छन् । २०५१÷०५२ सालतिर कर्मचारी मिलन केन्द्र रामेछापले पनि राष्ट्रिय दिवसहरुको अवसरपारेर निकै रमाइला साहित्यिक कार्यक्रमहरु गर्ने गरेकोमा अहिले सो संस्थाले लामो समयदेखि आफ्ना साहित्यिक कार्यक्रमहरुलाई निरन्तरता दिन सकेको छैन । जिल्लामा आउने केही साहित्यिक रसिक हाकिमहरुको जोश र जाँगरमा मात्र सिमित हुने त्यस्ता कार्यक्रमहरुले भन्दा पनि जिल्लामै क्रियाशील साहित्यिक संघसंस्थाहरुले एकीकृत रूपमा साहित्यका कार्यक्रमहरु बनाएर जानु पर्ने अवधारणा केही लेखकहरुको रहेको छ । यस सन्दर्भमा विचार र आस्थाभन्दा पनि लेखनका रूपमा अघि बढेका जिल्लाका पुराना लेखकहरुलाई सहभागी बनाएर कार्यक्रम अघि लैजान सके साहित्यको विकास र श्रीवृद्धिमा थप टेवा मिल्ने थियो । यो खोजकर्ताका अनुभवमा लेखनमा आएका नयाँ छिमलका भाइबहिनीहरुलाई अहिले लेखनभन्दा पनि सामयिक र कालक्रमिक साहित्यिक पठन र काउन्सिलिङको खाँचो रहेको तथ्य थाह भएको छ ।


    वर्तमान अवस्थामा भने मन्थलीमा क्रियाशील लेखक र साहित्यकारहरुको उपस्थितिमा महिनाको दुई तीनपटक स्रष्टासङ्गम नामको साहित्यिक संस्थाले रचना वाचनको कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । सो संस्थाले चित्रकारिता, लेखन र गायनमा संलग्न स्रष्टाहरुलाई समेत समेटेर आफ्नो साहित्यिक कार्यलाई अगाडि बढाइरहेको कुरा जनाएको छ ।


    साहित्यकार जगदीश घिमिरेको अगुवाइमा २०६२ देखि केही वर्ष लगभग वर्ष नबिराइकन मन्थलीमा साहित्यिक कार्यक्रमहरु भएका थिए । जसको संयोजन वहाँ आफैँले गर्नु हुन्थ्यो । त्यो क्रमलाई वहाँले २०६५ सम्म निरन्तरता दिनु भएको थियो । जसको उल्लेख ‘अन्तर्मनको यात्रा’ मा वहाँले पनि गर्नु भएको छ । जगदीश घिमिरेको निम्तामा नेपालका स्वनामधन्य सयौँ साहित्यकारहरु मन्थली आएर आफ्ना रचनाहरु सुनाउने र यहाँका स्रष्टाका रचनाहरु सुन्ने काम गरेका छन् । त्यसैगरी साहित्यकार तथा पत्रकार अशोक सुवेदीले पनि आफ्ना बाबाआमाको सम्झनामा स्थापना गर्नु भएको साहित्यिक संस्था हितप्रसाद उपाध्याय–जूनमाया सुवेदी साहित्य प्रतिष्ठानका तर्फबाट पनि वर्षेनी वार्षिक पुण्यतिथिको अवसर पारेर चैत्र २५ गते लाई साहित्यिक कार्यका रुपमा मनाउँदै आउनु भएको छ । यो अवसरमा विगत् ५ वर्षदेखि कविता प्रतियोगिता हुँदै आएका छन् । गोष्ठीमा वाचित कविताहरुलाई वहाँले पुस्तकाकार रुप दिएर प्रकाशित पनि गरिदिनु भएको छ । यो नव प्रतिभाहरुका लागि सारै खुसीको कुरा हो । यसरी हेर्दा गोष्ठीको प्रभावकारिताले २०६२ देखि २०६५ सम्म मन्थलीमा साहित्यिक माहौल निकै फष्टाएको देखिन्थ्यो ।


    वर्तमान समयमा क्रियाशील स्रष्टाहरु :
    सिर्जनात्मक र समालोचनात्मक दुवै प्रकारका साहित्यमा रामेछापका स्रष्टाहरु क्रियाशील छन् फरक यति हो कि कोही यहाँ जन्मेर जिल्ला बाहिर गई सिर्जनामा रहनु भएको छ भने कोहीकोही चाहिँ बाहिर जिल्लामा जन्मी जीवीकोपार्जनका लागि रामेछाप आएर साहित्य सिर्जनामा व्यस्त रहनु भएको छ । संक्षेपमा दुवै परिस्थितिमा रहनुभएका स्रष्टाहरुको बारेमा प्रकश पारौँ ।


    जिल्लाबाहिर गई सक्रिय स्रष्टाहरु
    जगदीश घिमिरे (लेखक, विश्लेषक), नगेन्द्रराज शर्मा (साहित्यिक पत्रकार), रोचक घिमिरे (साहित्यिक पत्रकार), विमल भौकाजी (साहित्यिक पत्रकार र लेखक), उत्तम भौकाजी (लेखक), कपिल काफ्ले (पत्रकार तथा लेखक), अशोक सुवेदी (पत्रकार तथा लेखक), नीलमणि ढुङ्गाना (पाठ्यपुस्तक लेखक तथा अनुवादक), नवराज अधिकारी (सम्पादक), रघुनाथ घिमिरे (निबन्धकार र समालोचक), गोविन्दप्रसाद घिमिरे (कानुनी पुस्तकका लेखक), पुण्यप्रसाद पौडेल (कवि तथा खण्डकाव्यकार), डा.भूपहरि पौडेल (लेखक तथा खोजकर्ता), देवशंकर पौडेल (कवि, लेखक), गान्धीराज काफ्ले (कवि, निबन्धकार), ध्यानबहादुर मोक्तान (कवि), सरला श्रेष्ठ (कवि), विष्णुकुमार खत्री (कवि तथा गीतकार), दिनेश बस्नेत (इन्टरनेट पत्रकार), होमराज श्रेष्ठ (गीतकार, लेखक), दीपेश घिमिरे (लेखक तथा विश्लेषक पत्रकार), रवीन्द्र दहाल (कवि, कथाकार), निरज खड्का (कवि), उद्धव आचार्य ‘अविचल’ (कवि तथा खण्डकाव्यकार), दिनेश पुरी (गजलकार), प्रिन्स प्रकाश (गजलकार), रमेश घिमिरे (कवि, लेखक) र रमा थापा ‘रश्मि’ (गजलकार) आदि रहेका छन् ।


    जिल्लाभित्र क्रियाशील स्रष्टाहरु :
    माधव सयपत्री (कथाकार र लेखक), पेशल आचार्य (निबन्धकार, कवि तथा कथाकार), डा.सुमन कर्माचार्य (कवि तथा लेखक), रामचन्द्र वियोगी (कवि), नवीन मनोहर (कवि), नवीन गाउँले, लालबहादुर तामाङ (कवि), माधव काफ्ले (निबन्धकार), अम्बिकाप्रसाद गजुरेल (कवि), युनिक विफा घिसिङ (गजलकार), ब्लु स्काइ लामा (कवि), कल्पना प्रकृति (गजलकार), केशव अमोल तिमल्सिना (कवि), प्रभु विवश (कवि तथा गजलकार), प्रकाश न्यौपाने ‘परिष्कार’ (कथाकार र कवि), उद्धव आचार्य ‘अविचल’ कवि, खण्डकाव्यकार), सजना वाइवा (गजलकार), लक्ष्मी मानन्धर (कवि), कृष्ण उफान (व्यङ्गकार), शिवजी भण्डारी (गजलकार), विक्रम नेपाली (गजलकार, कवि), वाशिष्ट गुरु भण्डारी (कवि), झम्क कडेँल (कवि), बुद्धिप्रसाद ढुङ्गेल (नाटककार), राजतिलक श्रेष्ठ (नाटककार), शारदा खड्का (गजलकार) आदि क्रियाशील लेखकका रूपमा रहेका छन् ।

    उपसंहार :
    यसरी रामेछाप जिल्लामा जन्मेर जिल्ला बाहिर गई क्रियाशील भएका साहित्यकार र बाहिर जिल्लामा जन्म भई रामेछापलाई कर्मस्थलका रूपमा लिने साहित्यकार दुवैले साहित्यिक विकासमा योगदान गरेका छन् । देशमा प्राप्त भएको २०४६ को प्रजातन्त्र र २०६२/६३ को लोकतन्त्र पश्चात् रामेछाप जिल्लामा पनि पत्रपत्रिका र एफएमको स्थापनाले गर्दा अझ साहित्यिक र सांस्कृतिक विकासमा योगदान थपिँदा छन् ।


    स्थानीय रेडियो र पत्रपत्रिकाहरुमा काम गर्ने नयाँ पत्रकार र लेखकहरुको उच्च स्तरीय सहभागिताले गर्दा नयाँ नयाँ सम्भावना भएका लेखक र पत्रकारहरुको उदय त भएको छ नै साथै जिल्लामा भएका सबै खाले चेतना र लेखनका विषयवस्तुलाई रेडियो र पत्रपत्रिकाका माध्यमबाट सार्वजनिकीकरण गर्ने संस्कारले गर्दा समेत अचेल साहित्यिक घनत्व बढ्दै गएको पाइन्छ ।


    यो परिस्थिति जिल्लाका लागि सन्तोषजनक कुरा हो । नेपाली समाज अब खुलापन तर्फ अगाडि बढ्दै गएको पाइन्छ । यस्तो स्थितिमा अब छापा र रेडियो पत्रकारितामा मात्र साहित्य र साहित्यिक गतिविधि अडिएको छैन । जमानाले फड्को हानेर अब इ–पत्रकारिता र वेभ म्यागाजिनको रूप लिइसकेको छ । लेखकहरु अब क्रमशः डिजिटलाइज्ड भएका छन् । उनीहरुको पहूँच अब स्थानीय पत्रपत्रिकामा मात्र सीमित छैन । उनीहरु घरलाई नै विश्व मानेर लेखन र प्रकाशनमा अघि बढिरहेका छन् । यो स्थितिले नेपाली लेखकहरुको स्तर र लेखनमा नै नयाँ लिउन लगाइदिएको छ । साहित्य लेख्ने लेखकहरु अब क्रमशः सेलिब्रेटी हुन थालेका छन् । पैसा र मान सम्मानको खोलो पैरो साहित्यमा पनि हुन थालेको छ । यो स्थितिको आगमन रामेछापमा अहिले नै नभए पनि भोलिका दिनमा सम्भव होला भन्न सकिन्छ ।


    अझ यस सन्दर्भमा के पनि भन्न सकिन्छ भने कुनै व्यक्ति वा आधिकारिक संघसंस्थाहरुका तर्फबाट आधिकारिक रुपमा रामेछापको ऐतिहासिक साहित्यिक गतिविधिको खोजी गरिदिने हो भने यहाँका कुनाकाप्चामा रहेर साहित्य रचनाका माध्यमबाट जीवनमा कलात्मकताको खोजी गरिरहेका साहित्यिक हस्तीहरुको जीवनी, प्रवृत्ति र कृतित्व क्रमशः फैलन गई जिल्लाकै नाम अझ उँचो हुन जाने क्रम निश्चित छ । आशा गरौँ, यो अभियानमा अवश्यमेव पूर्णता छाउनेछ । नेपाली लेखकहरुको यो सान र सौगातसँगै रामेछापका लेखकहरु पनि अग्रगतिको मार्गमा छलाङ मार्न सक्षम होऊन भन्ने सुकामना राख्दै अहिलेलाई यो लेख यति मै समापन गर्छु । जय साहित्य ! जय साहित्यकार !


    सन्दर्भ सामग्री :
    १) सुवेदी, अशोक : रामेछाप जिल्लाका साहित्यकार र कवि हितप्रसाद सुवेदी –२०६७
    २) आचार्य, पेशल : रामेछापको साहित्यिक इतिहास, अप्रकशित शोधपत्र –२०६४
    ३) कोइराला जीवनचन्द्रः रामेछाप जिल्लाको साहित्यिक सिंहावलोकन –२०६४
    ४) रामेछाप जिल्लाका स्रष्टासँग अन्तर्वार्ता–२०७०
    ५) पौडेल, भूपहरि : नेपालको विद्वत् परम्परा –२०५१, काठमाडौँ ।
    ६) केही समसामयिक पत्रपत्रिकहरु ।
    प्रकाशित मिति स् प्रकाशन मिति स् शुक्रबार, द्दड चैत्र, द्दण्ठण्