• तीन वर्षे एलएलबीको प्रवेश परीक्षाका लागि फारम खुल्यो, परीक्षा जेठ ४ गते
    (ईपाटी संवाददाता)

  •  
    काठमाडौँ । नेपाल ल क्याम्पसले  एलएलबी प्रथम वर्ष २०७५ मा भर्नाका लागि प्रवेश परीक्षाको फाराम खुलाएको छ । यसवर्ष प्रवेश परीक्षामा उत्तीर्णले मात्र भर्ना हुन पाउने जनाइएको छ ।


    गतवर्ष प्रवेश परीक्षा लिइएपनि विद्यार्थी संगठनहरुको दवावका कारण प्रवेश परीक्षा नदिएकाहरुले पनि भर्ना भर्ना भएका थिए । यसवर्ष भने प्रवेश परीक्षा दिएपछि मात्रै भर्ना हुन पाइने व्यवस्था गरिएको छ ।

    गत वर्ष अन्तिम पटक मात्र फाराम खुलेको भन्दै एउटै कक्षामा झण्डै १२ हजारले भर्ना गरेका थिए । यसपटक भने तीन वर्षे एलएलबीका लागि आगामी वैशाख २७ गतेसम्म प्रवेश परीक्षाको फारम भर्ना पाइने जनाइएको छ । परीक्षा आगामी जेष्ठ ४ गते सञ्चालन हुने क्याम्पसले जनाएको छ ।

    प्रवेश परीक्षाका लागि १०५० दस्तुर कायम गरिएको छ ।  प्रवेश परीक्षा ५ अंकभारमा २० प्रश्न गरी १०० पूर्णांकको हुने र ३ घण्टा सञ्चालन हुने जनाइएको छ ।  परीक्षामा उत्तीर्णाक ४० कायम गरिएको छ । कुनैपनि विषयमा स्नातक तह उत्तीर्णहरुले मात्रै परीक्षा फारम भर्न पाउने छन् ।


    प्रवेश परीक्षामा नेपालको कानून, कानूनका सिद्धान्तहरु(कानूनको परिचय, विधिशास्त्रको परिचय र सम्प्रदाय, कानूनको स्रोत, सम्पत्ती सम्बन्धी अवधारणा, न्याय सम्बनधी व्यवस्था, हक र अधिकार, भोग र स्वामित्व तथा व्यक्ति र व्यक्तित्व) सम्बन्धी प्रश्नहरु सोधिने जनाइएको छ ।