• कुटोदेखि कम्प्युटरसम्म पढाउने स्कुल
    ()

  • खोटाङ । सामान्यतयाः स्कुल भनेपछि बिहान–बेलुका घरको काम गरेर दिउँसो पढ्ने भनेर बुझिन्छ । नेपालको शिक्षा नीति यसैको परिधिभित्र रहेको छ । त्यसैले त धेरैले भन्ने गर्छन्, ‘नेपालको शिक्षा बेरोजगार युवा उत्पादन गर्ने कारखाना हो ।’

    खोटाङमा भने एउटा यस्तो स्कुल स्थापना भएको छ, जहाँ बाह्रखरीमात्र नभएर कृषि र कम्प्युटरसम्म सिकाइन्छ । डेढ वर्षअघि विद्यार्थी नभएर खारेजीमा परेको दिक्तेल सोल्मास्थित जनजागृति प्राविमा व्यवहारिक शिक्षा पठनपाठन गराउन थालिएपछि उदाहरणीय स्कुलका रूपमा चिनिन थालिएको छ । उक्त विद्यालय भएको स्थानमा पुग्दा सबै विद्यार्थी आफ्नै काममा व्यस्त रहेको भेटिन्छन् ।

    स्कुलको नाम छ ‘नयाँ स्कुल’ । सँगै लेखिएको छ, ‘कोदालोमा क्रान्ति, कलममा क्रान्ति, कम्प्युटरमा क्रान्ति’, ध्यान दिएर सुनौं, नियालेर हेरौं, काममुखी शिक्षा, शिक्षामुखी विकास, मानवद्वारा सृजित दिसा, पिसाब र पसिना बिरुवाको लागि अति राम्रो खाना हो, हुलको हैन रुलको शासनमा मरिमेटौं आदि ।

    उनिहरूले जुन काम गरिरहेका छन्, त्यो उनीहरूको व्यवहारिक शिक्षा हो । विद्यालय सञ्चालक भन्छन्, ‘सरकारी विद्यालयहरूमा पढाइने शिक्षा र यहाँको शिक्षामा आकाश पातालको फरक छ । यहाँ २४ सै घण्टा सबैखाले शिक्षा लिन्छन् विद्यार्थी । यस ठाउँमा अध्ययन गर्ने विद्यार्थीले कामसँगै शिक्षा लिन्छन् । उनीहरूले भविष्यमा बेरोजगार बस्नुपर्ने चिन्ता हुन्न ।’

    तीन शिक्षकको दरबन्दी भएको विद्यालयमा ७ जनामात्र विद्यार्थी भएपछि जिल्ला शिक्षा कार्यालयले खारेज गरेको थियो । १२ वर्षपछि खोला पनि फर्किन्छ भन्ने उखानझैं समयले यसरी कोल्टे फे(यो कि पूर्वका झापा, इलामदेखि पश्चिमका जुम्ला, हुम्लासम्मका ३० जिल्लाका विद्यार्थीले भरिएको छ यो स्कुल अहिले ।

    विद्यालयमा रहेका १ सय ५० जना विद्यार्थीलाई आवासीय सुविधासमेत छ । अभिभावक र विद्यालय व्यवस्थापन समितिको मिहिनेतले यतिखेर कोदालोदेखि कम्प्युटरसम्मको पढाइ हुने स्कुलका रूपमा नाम कमाएको छ, जनजागृतिले । स्कुल खारेज भएपछि अभिभावकको पहलमा विद्यार्थी व्यवस्था गरेर फेरि सञ्चालनमा ल्याइयो ।

    शिक्षाप्रेमी एवं शुभम् फाउण्डेसनका कार्यकारी निर्देशक सूर्य राई व्यवस्थापन समितिको अध्यक्ष बने । अचेल कोदालोदेखि कम्प्युटरसम्मको पढाइ हुने गरेको छ । “जमिन, जंगल र जलसम्मको पठनपाठन हुन्छ,” अध्यक्ष राईले भने, “विद्यार्थीलाई बारीमा गएर बारीसम्बन्धी सबै शब्द र अर्थ बुझाइन्छ, खोलासम्बन्धी पढाउन खोलामै लगिन्छ, यसो गर्दा विद्यार्थीले कहिल्यै भुल्दैनन् ।”

    जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल यसखाले पठनपाठनले आफू प्रभावित भएको बताउँछन् । “पाठ्यक्रमकै आधारमा कृषि, पशुपन्छी, घर निर्माण, उद्योग, कम्प्युटरलगायत जीवनोपयोगी ज्ञान दिने विधि अपनाइएको छ विद्यालयमा,” उनले भने । विद्यालयमा सरकारी दरबन्दीमा प्रावि तहका एक जना ९सविता ढकाल० मात्र शिक्षिका छिन् ।

    विद्यालयमा जुम्ला, कालिकोट, मुगु, हुम्ला, मुस्ताङ, कास्की, काठमाडौं, सिरहा, उदयपुर, झापा र इलामदेखिका विद्यार्थीसमेत पढ्न आएका छन् । आर्थिक स्थिति निम्न भएका र भूकम्प पीडितलाई प्राथमिकता दिएर भर्ना गरिएको छ ।

    विद्यालय सञ्चालनका लागि कृषिविज्ञ मदन राई संलग्न रहेको शुभद्रा–मदन फाउण्डेसनले सहयोग गरेको छ । विद्यार्थीहरूलाई किताबको पाठसँगै किताबले भनेअनुसारको क्रियाकलाप गराइन्छ ।

    त्यहाँ पुग्ने जोकोहि विद्यार्थीको सीप र जाँगर देखेर उत्साहित हुने गरेका छन् । सानो उमेर र टाढाबाट आएका विद्यार्थीहरू आफ्नै गाँउको रिति र संस्कृतिसँग मिल्ने गीत गाएर मख्ख बनाउँछन् । यो स्कुल खोटाङको मात्र नमुना नभई देशकै नमुना भएको सरोकारवाला तथा सञ्चालकहरूको भनाइ छ । कारोबार दैनिकमा खबर छ ।