काठमाडौं । अस्थायी शिक्षकले परीक्षामा सहभागी नभई सुविधा सहितको अवकाशका लागि दिएको निवेदन खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ ।

आयोगको परीक्षा अघि सुविधा फारम भराउने प्रक्रिया तत्काल रोक्न, कसैले सुविधको फारम भरेको भए सोको  निवेदन खारेज गर्न साथै परीक्षा पछि फारम भराउन फेरी अर्को सुचना गर्न माग गर्दै मुद्दा दायर भएको हो ।

सर्वोच्च अदालतले २०६६ माघ २४ मा पहिले अस्थायी शिक्षकका लागि प्रतियोगीता गर्नु र प्रतियोगीताबाट असफल हुनेहरुको हकमा सुविधा दिनु भनेर गरेको परमादेशको आदेश विरुद्ध अस्थायी शिक्षकहरुले प्रतियोगीता अगाडी नै सुविधाको फारम भर्नु सर्वोच्चको अपहेलना भएको भन्दै त्यसको खारेजीका लागि मुद्दा दायर भएको हो ।

बाजुराका अस्थायी शिक्षक टिका बहादुर घर्ती, अर्घाखाँचीका काशीनाथ पाण्डे, चतुरमुखी मावि शक्तिखोर चितवनका अस्थायी शिक्षकहरु गंगाधर काफ्ले र दिनेश पन्तलगायतले सोमबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । शिक्षक काफ्ले शिक्षामन्त्री धनीराम पौडेलका कक्षा साथी पनि हुन् । उनले मन्त्री पौडेलसँग कक्षा ८, ९ र १० सँगै पढेका थिए ।

मुद्दामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा मन्त्रालय, शिक्ष विभाग, शिक्षक सेवा आयोग र परीक्षा अघि नै सुविधा फारम भर्ने शिक्षकहरुलाई विपक्षी बनाइएको छ ।

सो मुद्दा सर्वोच्चमा २०७३–WO–११९१ मा दर्ता गरिएको छ । सर्वोच्चले सो मुद्दाको बहसका लागि बैशाख २८ गते पेशी तोकेको छ ।

अधिवक्ता कोषराज काफ्लेले राज्यले मात्रै नभई नागरिकले समेत कानून र सर्वोच्च अदालतको परमादेशको पालन गर्नुपर्ने बताए । सर्वोच्चले परीक्षा पछि सुविधा दिनु भनेर परमादेश जरी गरिसकेको अवस्थामा सरकारले पहिले भरायो भन्दैमा सुविधा फारम भर्ने अस्थायी शिक्षकहरुले समेत अदालतको मानहानी गरेकाले उनीहरुलाई समेत कार्बाही हुनुपर्ने बताए ।

२०७४ बैशाख २५ गते ११:२९मा प्रकाशित

प्रतिकृया दिनुहोस्