काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत  कर्मचारीहरुले न्यायको माग गर्दै शुक्रवारदेखि खुलामञ्चमा रिले अनशन शुरु गरेका छन् । पहिले भद्रकालीमा अनशन बस्ने भनिएपनि सरकारले नदिएपछि विद्यालय कर्मचारी खुलामञ्चमा अनशन  शुरु गरेका हुन् ।

शुक्रवार ११ बजे बसन्तरपुर क्षेत्रबाट नाराजुलुस गर्दै शान्तिवाटीका हुँदै भद्रकालीमा कोण सभा गरेर अनशन शुरु गर्ने तयारी गरेपनि नपाएपछि खुलामञ्चमा अनशन शुरु गरेको विद्यालय कर्मचारी संयुक्त आन्दोलन परिचालन समितिका नेता शंकर ढकालले जानकारी दिए ।

उनका अनुसार शुक्रवार पहिलो दिन राजेन्द्र ठाकुर(सिरहा), गंगा कामती(सिरहा), रेसम कार्की(ललितपुर), घनश्याम ठाकुर(सिरहा), चुडाराज पोखरेल(सिन्धुली), डंकर राउत(सिन्धुली), शिवनारायण महतो(पर्सा), श्रीलाल यादव(सिरहा), प्रमोद यादव(सिरहा), शंकर ढकाल(काठमाडौं) र लिला बहादुर कठायत क्षेत्री(पर्सा) अनशन बसेका हुन् ।

त्यस्तै, सिरहाकै भुपेन्द्र पासवान, रुद्रनारायण यादव, रामकुमार यादव, श्यामकुमार यादव पनि अनशनमा छन् ।

आन्दोलन समितिका नेता कमल खतिवडाले न्याय नपाएसम्म आन्दोलन जारी राख्ने बताए । अहिले रिले अनशन शुरु गरेपनि असोज ९ गते देखि आमरण अनशन बस्ने उनको भनाइ थियो ।

आन्दोलन समितिले असोज २ गते देखि चरणबद्ध आन्दोलन गर्दै आएको छ । त्यसै क्रममा समितिले बिहिवार प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेको थियो ।

सर्वोच्च अदालतको फैसला अनुसार सर्भिस ल कार्यान्वयन हुनुपर्ने, शिक्षा ऐनको आठौं संशोधन अनुसार विद्यालय कर्मचारीको व्यवस्थापन हुनुपर्ने साथै, बन्दै गरेको संघीय शिक्षा ऐनमा विद्यालय कर्मचारीका मुद्दा समेट्नुपर्ने माग गर्दै विद्यालय कर्मचारीहरु आन्दोलनमा छन् ।

२०७५ असोज ६ गते १४:०२मा प्रकाशित

प्रतिकृया दिनुहोस्