काठमाडौं ।  नेपाल शिक्षक महासंघमा आवद्ध र सम्बद्ध संघसंगठनका शिक्षक नेताहरुले आन्दोलनबाटै शिक्षकको माग प्रति सरकारलाई झुकाइ छाड्ने उद्घोष गरेका छन् । शुक्रवार देशभरका हजारौं शिक्षकहरु उतारेर राजधानीमा विशाल सभा गरेको शिक्षक महासंघले सरकारलाई निकम्मा र निरीहको संज्ञा समेत दिएको थियो ।

विरोध सभाको सम्बोधन गर्दै शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले शिक्षकका माग प्रति सरकार गम्भीर नबने ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए । पञ्चायतकालीन सरकारलाई समेत आन्दोलनबाट झुकाइ आफ्ना माग पुरा गराउन सफल शिक्षकहरुले अहिलेको गणतान्त्रिक सरकारलाई समेत घुडा टेकाएरै छाड्ने थापाले दावी गरे ।

अहिलेसम्म संयमताका साथ प्रचाररात्मक र प्रदर्शनात्मक आन्दोलन गरिरहेको भएपनि आगामी दिनमा प्रतिरोधात्मक आन्दोलनको आधीवेहरी सिर्जना गर्ने धम्कि दिँदै थापाले शिक्षकहरुलाई शिक्षककै दर्जा नदिएसम्म आन्दोलन जारी राख्ने बताए । अब हामी विगतको झैं उधारो सहमतिले मान्दैनौं नगदमा कारोवार हुनुपर्छ– थापाले भने– शिक्षकका सबै माग अक्षरंश कार्यान्वयन नभएसम्म आन्दोलन जारी रहन्छ ।

शिक्षक महासंघका सहअध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक पूर्णप्रसाद दुवाडीले उत्पीडित शिक्षकले न्याय नपाउँदा सम्म आन्दोलन जारी राख्ने बताए । यो त आन्दोलनको टेलर मात्रै हो मंसिर २१ गते फिल्म देखाइदिन्छौं । दुवाडीले भने–यो आन्दोलनमा कानमा तेल हालेर बसेको सरकारको २१ गतेको आन्दोलनको हुंकारले कानको जाली खराव हुन सक्छ ।

नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्रराज पौडेलले अबको शिक्षक आन्दोलन गर या मरको हुने स्पष्ट पारे । शिक्षकहरुले न्यायका लागि अन्तिम निर्णयक आन्दोलन गर्ने बताउँदै त्यसले सरकारलाई झुकाएरै छाड्ने पौडेलले उद्घोष गरे । नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष लक्ष्मण शर्माले शिक्षकहरुको आन्दोलनलाई नजरअन्दाज नगर्न सरकारलाई चेतावनी अब सम्झौतामा मात्रै गएर आन्दोलन नरोकिने कार्यान्वयनमै जानुपर्ने बताए ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले राहत, इसिडि, निजी विद्यालयमा कार्यरत, तत्कालीन उमाविमा कार्यरत शिक्षक एवं विद्यालय कर्मचारीहरुले न्याय नपाएसम्म शिक्षक आन्दोलन जारी राख्ने स्पष्ट पारे । सरकारले शिक्षकहरुमाथि एकपछि अर्को आक्रमण गर्दै गइरहेको आरोप लगाउँदै अधिकारीले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनमा शिक्षकको पुनर्योगयता तालीमको कुरा सुनिन आएकाले त्यो आफुहरुलाई मान्य नभएको स्पष्ट पारे । पहिले निजामति कर्मचारीको पुनर्योग्यता तालीम लिएपछि मात्रै शिक्षकलाई दिनुपर्ने उनको माग थियो ।

अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष घनश्याम पाठकले शिक्षक महासंघले विगतका सम्झौता र आजका मागहरु पुरा गराएरै छाड्ने बताए । अब आन्दोलनकै बलमा समस्या वीहिन शिक्षक बनाउने छौं– पाठकले भने । नेपाल शिक्षक मञ्चका अध्यक्ष भगवानदाश चौधरीले शिक्षकहरुको एकता नै सफलताको आधार भएको बताए ।

२०७५ मंसिर १५ गते १६:२७मा प्रकाशित

प्रतिकृया दिनुहोस्