मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) सुर्खेतमा इञ्जिनियरिङ्ग संकायका विद्यार्थीहरु लामो समयदेखि आन्दोलनमा रहेपनि विश्वविद्यालयले वेवास्ता गर्दै आएको छ ।

पाठ्यपुस्तक र पाठ्यक्रमको माग गर्दा गर्दै तीन वर्ष बिताउन बाध्य भएपछि उनीहरु आन्दोलित हुँदै आएका छन् । भविष्यमा इञ्जिनियर बन्ने अभिलाषा बोकेका  विद्यार्थीले आफ्ना माग राख्दै आएको लामो समय बितेपनि मागको कुनै सुनुवाइ हुन नसकेको गुनासो गरेका छन्  ।

विद्यार्थीले अहिले इञ्जिनियरिङ्ग संकायलाई स्वायत्त बनाइनुपर्ने, हाइड्रो इन्जिनियरिङ्गको पूर्ण पाठ्यक्रम उपलब्ध गराउनुपर्ने, गोल्डेन चान्स परीक्षाको व्यवस्था गरिनुपर्ने, सम्पूर्ण प्रयोगात्मक कक्षा पूर्णरुपमा सञ्चालन गर्नुपर्ने, १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्ने, लाइव्रेरीमा पर्याप्त पुस्तक उपलब्ध गराउनुका साथै छुट्टै लाइब्रेरियनको व्यवस्था गर्नुपर्ने र सम्पूर्ण विषयको विषयगत शिक्षकको उचित व्यवस्थापन गर्नुपर्ने माग राख्दै आन्दोलन गर्दै आएका छन् ।

उनीहरुको आन्दोलन पछि विश्वविद्यालय प्रशासनले असार ७ गतेदेखि पठनपाठन बन्द गराएको छ । विगत ३ वर्षदेखि निरन्तर आन्दोलनमा सक्रिय रहेका एक विद्यार्थी विश्वविद्यालयले विद्यार्थीबाट चर्को शुल्क असुल्ने तर सुविधा केही नदिएको भन्दै विश्वविद्यालयप्रति आक्रोस व्यक्त गर्छन ।

आन्दोलित विद्यार्थी रोशन बस्नेतले विश्वविद्यालयले संकायका लागि आवश्यक बजेट नदिइएको  आरोप लगाए । संकायका डीन डा. गोविन्दप्रसाद लामिछानेले आर्थिक र प्रशासनिक अधिकार केन्द्रीकृत भएकाले विद्यार्थी आन्दोलित भएको बताए ।

विश्वविद्यालयका रजिस्ट्रार डा. महेन्द्रकुमार मल्लले शिक्षकका लागि विज्ञापन गरिएको तर स्नातकोत्तर गरेका शिक्षक काठमाडौंभन्दा बाहिर जान नमान्ने भएकाले आवश्यक मात्रामा पदपूर्ति गर्न नसकिएको बताए । तर, संकायमाथि कुनै पनि खालको भेदभाव नगरेको उनले दावी गरे । प्राविधिक विषयको अध्ययनमा लाग्नुपर्नेमा विद्यार्थीहरू आन्दोलनमा लाग्नु दुःखद कुरा भएको उनको भनाइ थियो ।

रजिस्ट्रार डा. मल्लले अहिले आफु बाहिर भएको भन्दै सुर्खेत आएर छलफल गर्ने आश्वासन दिएका छन् ।

२०७५ असार १३ गते २२:४६मा प्रकाशित

प्रतिकृया दिनुहोस्