• ‘शिक्षकहरुको पनि वर्षैपिच्छे क्षमता परीक्षण हुनु पर्छ’
    ()


  • लक्ष्मण पौडेल

    प्रधानाध्यापक, जुद्धोदय मावि, क्षेत्रपाटी, काठमाडौं

     

    यस ऐतिहासिक जुद्धोदय र अन्य विद्यालयबीच के फरक छ ?

    दरबार हाइ स्कूल दरबारियाहरुका लागि खोलिएको थियो । जुद्धोदय विद्यालयचाहिँ सर्वसाधारणहरुका लागि खुलेको थियो । वि.सं. १९९५ चैत्र २६ गते जुद्ध शम्शेरले यो विद्यालयको स्थापना गरेका हुन् । यो स्थापना नै पब्लिक स्कूलको रुपमा भएको हो । यसका आफ्ना आधारभूत र मौलिक विशेषताहरुले गर्दा एकदमै भिन्न छ । यसको ऐतिहासिकता, प्रतिष्ठा र भौगोलिक अवस्थिति भिन्न छ । यो विद्यालय राणाकाल, प्रजातान्त्रिककाल, पञ्चायतकाल र अहिलेको गणतान्त्रिककालसम्म निरन्तर भोग्यो । यो तीन पुस्तामा चलेको विद्यालय भएकाले यसले नेपालको शिक्षाका हरेक उतारचढाब र परिवर्तनहरु आत्मसात गरेर अस्तित्वमा छ । यसले नेपालका प्रतिष्ठित व्यक्तिहरु उत्पादन गर्दै आएको छ । धेरै बुद्धिजीवि, विज्ञ, राजनीतिज्ञ, व्यापारी, जन्माएको छ । राजधानीको ठमेलजस्तो पर्यटकीय क्षेत्रमा नौ रोपनी बढी क्षेत्रफलमा फैलिएको र यसमा विद्यालयको पाँचतले भवन अनि एउटा सपिङ मल बन्दैछ । आर्थिक सम्पन्नता पनि यसमा जोडिन्छ ।


    विद्यालयको शैक्षिक स्तर कस्तो छ ?

    शैक्षिक गुणस्तरमा विगतदेखि नै अब्बल रहँदै आएको छ । आठ पल्टसम्म एसएलसी परीक्षामा बोर्डटप उत्पादन गरिसकेको यस विद्यालय आजको दिनमा पनि एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल रहँदै आएको छ । विगतको शैक्षिक इतिहास, धरोहर र इज्जत कायम राख्न विद्यालय सफल छ । यो विद्यालयबाट एसएलसी र एसइइ पास गरेका विद्यार्थी नजिकैको सिग्मा कलेज, जेभियर कलेज कालोपुल, सरस्वती क्यमम्पसलगायतमा विभिन्न विषयमा उच्च नतिजा ल्याउन सफल भएका छन् । एसइइ र हरेक कक्षाको सिकाइ उपलब्धि र नतिजा उत्कृष्ट रहँदै आएको छ ।


    सिकाइ सुधारका पक्षमा गरिएका नौला अभ्यासहरु के–के छन् ? 

    हामी शिक्षासँगै सुरक्षामा पनि प्रतिवद्ध छौं । हाम्रा विद्यालय भवन ८ रेक्टरसम्मको भूकम्प प्रतिरोधी छन् । जुन हामीले २०७२ सालको भूकम्प जानु अघि नै निर्माण गरेका थियौं । हामीले २०५८ देखि पूर्ण रुपमा निःशुल्क अध्यापन गराउँदै आएका छौं । २०६३ सालदेखि अंग्रेजी माध्यममा अध्यापन गर्दै आयौं । हरेक परीक्षाको नतिजा लिन अभिभावकहरु अनिवार्य उपस्थित हुनु पर्छ । हामीले बार अनुसारको विद्यालय पोशाकको व्यवस्था गरेका छौं । नियमित शैक्षिक भ्रमणहरु गराउने गर्छौं । विद्यार्थीको खेलकुदमा विशेष ध्यान दिने गरेका छौं । हामी विद्यार्थीलाई उनीहरुको रुचि र प्रतिभाअनुसारको व्यवहार र व्यवस्थापनमा सिकाइ गर्दै आएका छौं ।

    वि.सं. २००९ सालदेखि नै स्काउट अविच्छिन्न रहँदै आएको छ । हामीले पठन समय र विद्यालय परिसरलाई राजनीतिमुक्त बनाउन सकेका छौं । १० बजेभित्र विद्यालयमा नछिरे शिक्षकहरु त्यो दिन गयल बस्नु पर्छ । ४ बजेपछि मात्रै जान पाइन्छ । हामीले वर्षैपिच्छे उत्कृष्ट विद्यार्थीसँगै नियमित विद्यालय आउने, छोराछोरीको पढाइमा चासो दिने अभिभावकहरुलाई समेत सम्मान र पुरस्कृत गर्दै आइरहेका छौं । अहिले यहाँ एक हजार बढी विद्यार्थी छन् । ऐतिहासिक अविच्छिन्न गौरव र निरन्तर शैक्षिक उत्कृष्टताले विद्यालयको प्रतिष्ठा उँचो रहँदै आएको छ ।


    विद्यालय सञ्चालनका चुनौतीहरु के–के छन् ?

    चुनौती नभएका होइनन् । विद्यालय भवन निर्माणधीन अवस्थामा छ । व्यापारिक र पर्यटकीय ठमेल क्षेत्रमा रहेकाले विद्यार्थीमा त्यसका विभिन्न असरहरु छन् । सामुदायिक विद्यालय भएकाले निम्न आर्थिक स्रोत, निम्न शैक्षिक स्तर भएका अभिभावकहरुका छोराछोरी पढाउनु परेको छ । स्थानीयभन्दा बाहिरबाट आउने विद्यार्थीको संख्या बढी छ । घरेलु मजदूर र ज्यालामजदूरी गर्ने अभिभावकका बालबालिका यहाँ बढी छन् । उनीहरुको शैक्षिक वातावरण व्यवस्थापनमा अभिभावकहरुलाई सचेतना समस्याहरु छन् ।


    बाहिरी क्षेत्रबाट विद्यालयलाई कस्तो आलोचनाहरु हुने गर्छन् ?

    हामीले त खासै आलोचनाहरु सुनेका छैनौं । विद्यार्थीको चाप बढी भएकाले शिक्षकहरु कम भयो भन्ने सुनिन्छ । विद्यार्थी एक हजार बढी भएपनि हामीकहाँ शिक्षकहरु १७ सरकारी दरबन्दी र १४ निजी स्रोतमा गरी ३१ जना शिक्षक छौं । अभिभावकहरुको गुनासा र चाहना अनुसार यसै वर्ष ०७५ सालदेखि ११ र १२ कक्षा सञ्चालन गर्दैछौं । हामीले ठमेल होटल एरिया पनि भएकाले होटेल मेनेजमेन्टको पढाइ शुरु गर्दैछौं ।


    निजी विद्यालयहरुसँग कत्तिको प्रतिस्पर्धा छ ?

    हाम्रो प्रतिस्पर्धा भनेकै निजी विद्यालयहरुसँग हो । हामी प्रवेश परीक्षा लिएर विद्यार्थी भर्ना गर्छौं । जसमा धेरै निजी विद्यालय छाडेर आउने गर्छन् । धेरै विद्यार्थीहरु प्रवेश परीक्षा अनुत्तीर्ण भएर पुनः निजीमै फर्किनेसमेत गर्छन् । हाम्रो विद्यालयमा प्रवेश परीक्षा सञ्चालन हुँदा अनुत्तीर्ण विद्यार्थीलाई लिन विद्यालय बाहिर सामुदायिक र निजी विद्यालयहरको भिड नै लाग्ने गर्छ । हामीकहाँ न्यूनतम लगानी र हाम्रो मिहिनेतमा निरन्तर विशिष्ट श्रेणी ल्याउने विद्यार्थीहरु धेरै छन् । निजीको ठूलो लगानी, शिक्षित अभिभावकहरुको चासोलगायतका बाबजुद पनि हाम्रो नतिजा कुनै निजी विद्यालयभन्दा कम छैन । निजी विद्यालयहरुको शैक्षिक वातावरण, घरमा अभिभावकहरुको चासो, ट्युशन, इन्टरनेटको सुविधा भएपनि हामीकहाँ ज्याला मजदूर अभिभावक र विद्यालयकै भरमा पढ्नुपर्ने भएपनि नतिजा उत्कृष्ट छ । घरबाट निदाउदै आउने, भोकै आउने, झगडा देखेर आउने भएकाले ती विद्यार्थीलाई हामीले सिकाइसँगै परामर्शका कामसमेत गर्नुपर्ने हुन्छ ।


    शिक्षकले लिने विभिन्न तालिम कक्षाकोठामा कत्तिको लागू भएको छ त ? 

    सरकारले शिक्षक तालिममा गरेको लगानी अनुत्पादक लाग्छ । यो तालिमले केही हुँदैन । सानो अंशमा सुधार भएपनि खासै ठूलो परिवर्तन तालिमबाट भएको जस्तो लाग्दैन । शिक्षकलाई पुनर्ताजगी गर्ने, साँच्चै क्षमता बढाउने हो भने कक्षाकोठा अवलोकन गरेर उसलाई के खाँचो रहेछ भनेर दिनु पर्छ । पहिलो दिन कक्षा हेर्ने र दोस्रो दिन सोही आधारमा विज्ञले तालिम दिनु पर्छ । मोडल कक्षाहरु सञ्चालन गरेर देखाउनुपर्छ । यति दिनको तालिम लिए भनेर सर्टिफिकेट मात्रै बाँडेर हुँदैन । मेरो विचारमा शिक्षकहरुको वर्षैपिच्छे क्षमता परीक्षण गर्नु पर्छ । हरेक वर्ष शिक्षकहरुलाई शैक्षिक योजना बनाउनु अघि परीक्षा लिने र त्यसमा उत्तीर्णहरुलाई मात्रै कक्षाकोठाम प्रवेश गर्न दिनुजतिको सुधार अरुबाट हुँदैन ।

    शिक्षकहरु बल्ल मिहिनेत गर्न र अध्ययन अनुसन्धानमा लाग्छन् । वि.सं. २०३० सालमा लिएको शिक्षाले अबका विद्यार्थीलाई सिकाउन सकिँदैन । विद्यार्थीले भन्दा शिक्षकले धेरै पढ्नुपर्ने बेला आएको छ । ज्ञान र विज्ञानको दायरा विकसित भएसँगै शिक्षकहरुको क्षमता पनि बढ्नु जरुरी छ । जागिर सुरक्षित राखिदिने तर शिक्षण प्रभावकारिताका लागि शिक्षकको वर्षैपिच्छे क्षमता परीक्षण हुनै पर्छ । सिपाही हरेक दिन तिखारिनु पर्छ भनेर पृथ्वीनारायण शाहले भने झैं शिक्षक भनेका हरेक दिन कक्षाकोठामा जानुपर्ने भएकाले ऊ पनि हरेक दिन तिखारिनु पर्छ ।


    सामुदायिक विद्यालयका चुनौती केलाई मान्नुहुन्छ ?

    सबैभन्दा ठूलो चुनौती हाम्रो मानसिकता हो । मानसिकता सुधारोन्मुख अनि सुधारको चाहना भए बहाना आफैं भाग्छन् । स्रोत मात्रै सबै थोक होइन् । सरकारको उदार कक्षोन्नति र गे्रडिङ पद्धतिले पनि विद्यार्थीको सिक्ने बानीमा कमी आएको छ । सरकारले शिक्षकहरुसँग छलफल नगरी ल्याएको नीति हो यो । १ कक्षामा कमजोर विद्यार्थी पास/फेल निक्र्याेल नहुँदै माथि पुग्छ । कसरी सुध्रिन्छ त माथिको नतिजा ? अनि प्रयोगात्मक नम्बर दिने चलन पनि गलत छ । लेखनमा कमजोरलाई पनि शिक्षकले प्रयोगात्मकमा पूर्ण अंक दिने गर्छन् । फेरि, ज्ञान अहिले शिक्षकमा मात्रै सिमित छैन । यो त सर्वत्र छ । अनलाइन, नेट सबै ज्ञानका स्रोत हुन् । कक्षामा भन्दा विद्यार्थीले इन्टरनेटबाट बढी सिक्ने भइसकेका छन् । अब शिक्षकमा पनि रुपान्तरण हुन जरुरी छ । अब शिक्षकलाई समेत चुनौती थपिएको छ ।

    शिक्षकका चुनौती कम आयस्रोत र निरक्षर अभिभावक होइनन्, सरकारको नीति पनि चुनौती हो भन्ठान्दिनँ । बरु, मोवाइल र सामाजिक सञ्जाल चुनौती हुन् । यी सिकाइका माध्यम हुँदाहुँदै पनि विकृतिको बन्न पुगेका छन् । ‘अर्ति र ओखती मिठो हुँदैन’ भने जस्तो शिक्षकको अर्ति र सिकाइभन्दा विद्यार्थीको ध्यान तथा मोह मोवाइल अनि इन्टरनेटमा बढी गएको पाइन्छ । यसले विकृति पनि देखिएका छन् । गृहकार्य नगर्ने, धेरै मोवाइल र इन्टरनेटमा व्यस्त भइदिने । हामी यसको सुधारका लागि योजना पनि बनाउदैछौं । रातभरी विद्यार्थी अनलाइनमा बसेर कक्षाकोठामा निदाइदिएपछि हाम्रो मिहिनेत बेकार जान्छ । अहिले सबै विद्यालयहरुको साझा चुनौती हो यो । तर, सबैले यसलाई गम्भीर रुपमा लिएको पाइदैन । फेरि, दुव्र्यसन, फेसन, ट्याटुलगायका चुनौती पनि छन् विद्यार्थीमा । हामीले बडो मिहिनेतले यो रोकिरहेको अवस्था हो अहिले ।

    सामुदायिक विद्यालयका समस्या के–के देख्नुभएको छ ?

    सरकारले सामुदायिक शिक्षाको कुरा गर्ने र कामले चाहिँ निजीको प्रबद्र्धन गर्ने नीति लिएको जस्तो देखिन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘हाइ हाइ अंग्रेजी’ भनेको जस्तै निजी विद्यालयहरुले अंग्रेजीको ढोल पिटे/पिटाए । सामुदायिकमा बढी राजनीति भयो काम भन्दा पनि । तर, निजीमा कामै गर्नु पर्छ । त्यो विषय सामुदायिकले निजीबाट सिक्न जरुरी छ । निजीमा विद्यार्थी जस्तै शिक्षकहरु पनि मिहिनेती र व्यस्त हुन्छन् । सामुदायिकमा विद्यालय समय पछि शिक्षकहरु फ्रि हुन्छन् । शिक्षकहरुले जागिर मात्रै खान विद्यालय आउने प्रवृत्तिमा सुधार हुन आवश्यक छ । अध्ययन, अनुसन्धानबिनाका विदेशी शैक्षिक मोडलहरु सरकारले लादिदिँदा समस्या भएको छ । बेला–बेला परीक्षाबिनै शिक्षकहरु स्वतः स्थायी गरिए । त्यसले पनि समस्या भयो कि ? निजीमा पढाउँदा सामाजिक प्रतिष्ठा बढ्ने सामाजिक प्रवृत्ति, सरकारी शिक्षक कर्मचारीहरु नै निजीप्रति आकर्षित हुने, सत्र थरिका शिक्षक सामुदायिकमा रहने, एउटालाई पोशाक दिने अर्कोलाई नदिने गर्दा शिक्षक मनोबलमा समस्या छ । सरकारी नीति, अभिभावकको अवस्था, सामाजिक प्रवृत्तिलगायतका विषयले सामुदायिक विद्यालयमा अपेक्षित सुधार हुन सकेको छैन ।


    हाम्रा शिक्षकहरुलाई साँच्चै ‘गुरु’ बनाउन के गर्नुपर्ला ?

    पुरस्कार र दण्डको व्यवस्था गर्नु पर्छ । पढाउनका लागि पढ्नु पर्छ, पढेको जस्तै बन्नु पर्छ भन्ने चेतना बिस्तार गर्न जरुरी छ । प्रधानाध्यापकहरुलाई पनि अलि अधिकार थप्नु पर्छ । ‘राम्रो गर’ मात्र भन्ने तर अधिकार नदिने भएपछि कसरी हुन्छ सुधार ? राम्रो नगरे दण्डित र राम्रो गरे पुरस्कृत भइन्छ भन्ने ग्यारेन्टी हुनु पर्छ । नाम मात्रको प्रधानाध्यापक पद र नामै मात्रको लागि प्रधानाध्यापक बनाउनु हुँदैन । कामले जंगलको राजा सिंह भएको हो । त्यसैले प्रधानाध्यापकले काम गरेरै देखाउने हो । नत्र, छाड्नु पर्छ । हाम्रो विद्यालयमा हरेक वर्ष एसइइमा ८/१० विद्यार्थी विशिष्ट र ए प्लस श्रेणीमा उत्तीर्ण भइराखेका छन् । तर, हामी ‘जंगलमा मयुर नाच्यो कसले देख्यो’ भने झैं हल्ला गर्दैनौं । त्यसैले शिक्षकले हल्ला कम, काम बढी गर्नु पर्छ ।

    प्रस्तुति : रोशन क्षेत्री गाउँले

    साभार : आजको शिक्षा साप्ताहिक