• शिक्षक आयोगद्वारा प्राथमिक तहमा झण्डै १० हजार दरवन्दीमा खुला विज्ञापन
    (क्रमशः अन्य तहको पनि गर्दै जाने )

  •  


    भक्तपुर । शिक्षक सेवा आयोगल खुला विज्ञापन गर्न शुरु गरेको छ । आयोगले पहिलो चरण अन्तर्गत प्राथमिक तहका ९ हजार ९ सय ९६ पदमा विज्ञापन गरेको छ ।

    प्राथमिक तहमा ६ बर्ष पछि बल्ल विज्ञापन भएको हो । यस अघि प्राविको विज्ञापन २०६९ सालमा भएको थियो भने मावि र निमाविको २०७२ सालमा भएको थियो ।

    तीनै तहको खुला विज्ञापन गर्ने तयारी गरेको आयोगले निमावि र मावि तहको विज्ञापन एक दुई दिनमै क्रमैसँग गर्दै जाने जनाएको छ ।


    शिक्षा विभागले यस अघि नै २०४९ सालदेखि २०७२ असोज २ सम्मको करिव १७ हजार रिक्त दरबन्दी विवरण आयोगमा पठाइसकेको थियो । पछिल्लोपटक जेठ ४ मा विभागले २०७२ असोज ३ देखि २०७४ फागुन मसान्तसम्मको तीनै तहको ७ हजार रिक्त शिक्षक दरबन्दी विवरण आयोगमा पठाएको हो । आयोगले २०७२ असोज ३ देखि २०७४ फागुन मसान्तसम्मको ७ हजार, यसअघि ७५ प्रतिशत आन्तरिक विज्ञापनबाट बाँकी रहेको २५ प्रतिशत दरबन्दी र सुविधामात्रै रोजेका अस्थायी शिक्षकहरुको ५५ सय गरी १२ हजार पाँच सय दरबन्दी संख्यामा खुला विज्ञापन गर्ने तयारी गरेको हो ।


    शिक्षा ऐनको आठौं संशोधनले आधारभूत र माध्यमिक तह गरी विद्यालय शिक्षाको संरचना तय गरे पनि संविधानको धारा ३०४ को व्यवस्था अनुसारे विज्ञापन गरिएको आयोगले जनाएको छ ।

    आयोगका अनुसार खुलातर्फ ५ हजार ४९८, महिलातर्फ १ हजार ४२१, दलित महिलातर्फ ४९, मुस्लिम महिलातर्फ १७, आदिवासी/जनजातीतर्फ १ हजार २१५, मधेशीतर्फ ९८६, दलिततर्फ ४०५, अपांगतर्फ २२५ र पिछडिएको क्षेत्रतर्फ १८० आरक्षण छुट्टाइएको छ ।

    विज्ञापनमा उल्लेख भए अनुसार मान्यताप्राप्त शिक्षण संस्थाबाट प्रविणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको, शिक्षा विषयमा कम्तीमा १० महिने तालिम लिएको वा शिक्षा शास्त्रमा प्रविणता प्रमाणपत्र तह वा सो रहरको परीक्षामा २ सय पूर्णांकको शिक्षा विषय लिइ उत्तीर्ण गरेको तर अपांगता भएका व्यक्तिले यो विज्ञापनका लागि तालिम नभए पनि उम्मेदवार हुन पाउने छन् ।

    त्यस्त स्थायी अध्यापन अनुमति पत्र, नेपाल नागरिक भएको तथा दरखास्त फारम बुझाउने अन्तिम मिति २०७५ साल असार ३० गतेसम्म १८ वर्ष उमेर पूरा भइ ४० वर्ष ननाघेको हुनुपर्नेछ । तर कार्यरत राहत शिक्षकका हकमा भने उमरको हद लाग्ने छैन् । कार्यरत स्थायी शिक्षकले समान पदमा उम्मेदवार हुन पाउने छैनन् ।आयोगका अनुसार लिखित परीक्षा असोज १३ गते हुनेछ ।

    कहिले कहिले भए विज्ञापन ?
    शिक्षक सेवा आयोगले आयोगको नियमावली, २०५७ को तेस्रो संशोधन पछि २०६१ मंसिर १५ गते (प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तह), २०६९ साल पुस २० गते (प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तह), २४ चैत २०७१ मा निमावितहका लागि र ३० फागुन २०७२ मा मावि तहका लागि मात्रै विज्ञापन गरिसकेको छ । आयोगले १९ चैत २०७३ मा अस्थायी शिक्षकहरुका लागि विज्ञापन गरेपनि शिक्षा मन्त्रालयको स्थगित गर्ने पत्रपछि परीक्षा स्थगित हुँदै आएको छ । शिक्षा (आठौं ससोधन) ऐन, २०७३ को दफा ११ ख (१) मा ‘सामुदायिक विद्यालयहरुमा नेपाल सरकारबाट स्वीकृत दरबन्दी अनुसार रिक्त शिक्षक तथा कर्मचारी पदको नियुक्ति तथा त्यस्तो पदमा नियुक्त शिक्षक र कर्मचारीको बढुवाको लागि सिफारिश गर्न एक शिक्षक सेवा आयोग गठन हुनेछ’ भन्ने व्यवस्था छ । तर, आयोगले विभिन्न कारणले गर्दा नियमित विज्ञापन गर्न सकिरहेको भने छैन । वर्षेपिच्छे आयोग खुल्नुपर्नेमा २०७२ देखि खुला विज्ञापन हुन सकेको छैन । बजारमा झण्डै सात लाख विद्यार्थीहरु शिक्षक लाइसेन्स लिएर विज्ञापनको पर्खाइमा रहेका छन् । आयोगले यस अगाडि नै परीक्षाको पाठ्यक्रम प्रकाशित गरिसकेको छ । पाठ्यक्रम प्रकाशित भएको तीन महिनामा परीक्षा भइसक्नुपर्छ । ऐन अनुसार आयोगले खुला प्रतियोगिताबाट स्थायी पदपुर्ति र बढुवाका लागि सिफारिश गर्दा तहगत रुपमा विद्यालयहरुमा स्वीकृत दरबन्दीअनुसार रिक्त पदको विवरण सम्बन्धित जिल्ला शिक्षा कार्यालयबाट लिने व्यवस्था भएपनि शिक्षक सेवा आयोग नियमावली २०५७ को नवौं संसोधनबाट खुला विज्ञापनका लागि शिक्षा विभागमार्फत् दरबन्दी प्राप्त गर्ने प्रावधान राखिँदा ढिलाइ हुँदै आएको छ ।