काठमाडौं । यसै साउन महिना देखि अस्थायी र करार नियुक्ति पाएका शिक्षाका कर्मचारीहरुको जागिर चट् हुने भएको छ ।करार तथा ज्यालादारीमा लामो समयदेखि कार्यरत शिक्षाका कर्मचारीले मंगलबारदेखि सरकारी कार्यालयमा हाजिर गर्न नपाउने भएका हुन् । शिक्षा विभागले उनीहरूलाई मंगलबारदेखि कार्यालय नआउन सूचित गरेको छ ।

शिक्षा विभागले साउन १ गते देखि स्थायी/अस्थायी  दरवन्दीमा करारमा कार्यरत कर्मचारीहरुको साउन १ गते देखि करार नविकरण नगर्ने र साउन १ देखि हाजिर पनि नगराउन मातहतका निकायलाई निर्देशन दिएको छ । अस्थायी दरवन्दीमा कार्यरत कर्मचारीहरुलाई भने अर्को व्यवस्था नभएसम्मका लागि काममा लगाउन विभागले निर्देशन दिएको छ ।

विभागले शिक्षा मन्त्रालयको असार ३१ निर्णय अनुसार भन्दै ५ वटैै क्षेत्रीय शिक्षा निर्देशनालय र बोधार्थमा ७७ वटै जिल्ला विकास तथा समन्वय इकाइका पठाएको निर्देशनमा सवै निकायमा कार्यरत स्थायी दरवन्दीका कर्मचारीहरुलाई भने अर्को व्यवस्था नभएसम्म यथावत काममा नै लगाउन भनिएको छ ।

साउन ३२ को विभागको पत्रले विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुलाई भने सम्बोधन नगरेको विभागका महानिर्देशक बाबुराम पौडेलले जानकारी दिए ।

सरकारले नयाँ आर्थिक वर्षदेखि करार र ज्यालादारी कर्मचारीको म्याद थप गर्न नसक्ने जनाएपछि शिक्षाका सँगै अन्य सेवाका देशभरका झन्डै ३२ हजार कर्मचारी प्रभावित हुने भएका छन् । त्यस्ता कर्मचारीको संख्या काठमाडौंमा मात्र करिब १३ हजार छ ।

संघ (केन्द्र) देखि जिल्ला र स्थानीय तहसम्मका कार्यालय खारेज र मर्ज भएपछि फाजिलमा परेका करार र ज्यालादारी कर्मचारीलाई हाजिर गराउन नसकिने जानकारी यसअघि नै दिइसकिएको छ ।

करार र ज्यालादारी कर्मचारीको छाता संगठन अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले हाजिर नगराए आन्दोलन गर्ने घोषणा गरेको छ ।

२०७५ साउन १ गते ०९:१६मा प्रकाशित

प्रतिकृया दिनुहोस्