• विद्यार्थी अनुत्तीर्ण हुँदा शिक्षकको केही गुम्ला, अभिभावकको त सर्वश्व जान्छ
    ()

  •  

     


    डा. हरिप्रसाद कँडेल
    प्रधानाध्यापक, भीमोदय मावि,कालिका–५, चितवन

    भीमोदय माविको विशेषताहरु के–के छन् ?

    कक्षा नर्सरीदेखि १० सम्म अंग्रेजी माध्यममा पढाइहुने गरेको छ । कक्षा ८ को नतिजामा जिल्ला टप गरेको छ । भने एसइइ र एसएलसीको पनि नतिजा उत्कृष्ट छ । ९ र १० मा अंग्रेजी नेपाली दुबै माध्यममा पठनपाठन हुँदै आएको छ । विद्यार्थीका लागि होस्टेलको व्यवस्था छ । त्यहाँ कक्षा १० का विद्यार्थी बसेर एसइइको तयारी गर्ने गर्छन् । कक्षा ८ का विद्यार्थीहरुका लागि बिहान ६ देखि बेलुका ६ बजेसम्म कक्षा सञ्चालन हुन्छ । उनीहरुलाई विद्यालयमै खाना खाने व्यवस्था मिलाइएको छ । स्रोतकेन्द्रस्तरीय ३ वटा र विद्यालयले आन्तरिक ३ गरी ६ वटा परीक्षा लिने गरिएको छ । छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउने गर्छौं । सबै छात्राहरुलाई स्कट निषेध गरिएको छ । पाइन्ट अनिवार्य छ । संस्थागत विद्यालयसरह झोला, जुत्ता–टाई अनिवार्य गरिएको छ । एक दिन स्कूल लोगो भएको टिसर्ट लगाउनुपर्ने व्यवस्था गरिएको छ । साउण्ड सिस्टमका आधारमा एसेम्ब्ली गरिन्छ । विद्यालयमा सुविधा सम्पन्न कन्फेरेन्स हलको व्यवस्था गरिएको छ । विद्यालयले आफू मात्रै सुधारको प्रयास गरेको नभई अन्य छिमेकी स्कूलहरुमा पनि सुधारका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । १३२५ विद्यार्थीका लागि २० सरकारी तलब खाने र २० जना आन्तरिक स्रोतका गरी ४० जनाको शिक्षक समूह छ । विद्यार्थीको अत्यधिक चापका कारण प्रवेश परीक्षा लिएर विद्यार्थी भर्ना गर्नुपर्ने बाध्यता छ ।


    शिक्षक व्यवस्थापनका प्रयासहरु के–के भएका छन् ?

    शिक्षकहरुलाई अनिवार्य पोशाकको व्यवस्था गरेका छौं । कालो जुत्ता र टाईसँगै शिक्षकलाई झोला बोक्न अनिवार्य गरिएको छ । शिक्षक डायरी अनिवार्य गरिएको छ । कक्षा शिक्षकहरुलाई थप सुविधाको व्यवस्था गरिएको छ । शिक्षकलाई थप कक्षा पढाएवापत् थप सुविधाको व्यवस्था गरेकाले कुनै शिक्षक अनुपस्थित रहेपनि पढाइ रोकिँदैन । शिक्षकहरुको डिजिटल हाजिरीको व्यवस्था गरिदिएका छौं । को कतिखेर आयो, कति बस्यो ? भन्ने जानकारी हुन्छ । यसले शिक्षकलाई नियमित र समय पालनमा सहयोग पुर्याएको छ । शिक्षकको उपस्थिति बढे सिकाइ र विद्यार्थीको रेखदेख बढी हुन्छ भन्ने मान्यताले काम गरिएको छ । हाम्रा शिक्षकहरु यो विद्यालयको शिक्षक हुन पाएकोमा उहाँहरुलाई गर्व छ । ‘हाम्रो मिहिनेतले राम्रो भएको’ छ भन्नुहुन्छ । समुदायको सम्मान पाइरहनुभएको छ ।


    हामीले शिक्षकहरुलाई सन्तुष्ट पार्ने प्रयास गरेका छौं । हरेक शिक्षकका लागि दराज, ल्यापटप, पिउने पानीका लागि फ्रिजको व्यवस्था गरेका छौं । पर्याप्त शैक्षिक सामग्री, पत्रपत्रिका दिने व्यवस्था गरेका छौं । अतिरिक्त कक्षा लिने शिक्षकलाई थप सुविधा दिने व्यवस्था गरिएको छ । साथै, शिक्षकहरुलाई दण्ड र सजायको पनि व्यवस्था गरेका छौं । उहाँले पढाएको विषयमा गत वर्षको भन्दा नतिजा बढी ल्याउनुपर्ने व्यवस्था छ । आफ्नो विषयमा सबै विद्यार्थीलाई ८० प्रतिशत बढी अंकसहित उत्तीर्ण गराएमा एक तोलाको गोल्ड मेडल दिने र कमजोर नतिजा ल्याए तल्लो कक्षामा पढाउन लगाउने, स्पष्टिकरण दिने व्यवस्था गरेका छौं । एक वर्ष कमजोर नतिजा ल्याउने शिक्षकले अर्को वर्ष सोही कक्षा पढाउन पाउँदैनन् ।


    सिकाइमा प्रविधिको कत्तिको महत्व छ ?

    अब प्रविधिबिना सिकाइ सम्भव नै छैन । हामी प्रविधिमैत्री सिकाइमा विश्वास गर्छौं । हरेक कक्षामा सिसिटिभी र स्मार्ट बोर्डको व्यवस्था गरेका छौं । हरेक शिक्षकलाई एउटा–एउटा ल्यापटप निःशुल्क उपलब्ध गराएका छौं । उहाँहरुले खोजेर, स्लाइड बनाएर प्रोजेक्टरको माध्यमबाट पढाउने गर्नुहुन्छ । ३७ कम्प्यूटरसहितको ई–लाईब्रेरी र ई–कम्प्यूटर ल्यावको व्यवस्था गरेका छौं । ई–लाईब्ररीमा ४० हजार बढी किताबको सफ्ट कपि उपलब्ध छन् ।


    विद्यालयको फरक अभ्यासहरु के–के छन् ?

    हामी फरक कामभन्दा पनि हरेक काम फरक ढंगमा गर्न मन पराउँछौं । एउटै शिक्षकले एउटा विषय पढाउँदा विद्यार्थीलाई ‘मोनोटोनस’ हुन्छ भनेर एउटै विषय पनि फरक–फरक शिक्षकले पढाउने व्यवस्था गरेका छौं । ११ र १२ मा गणित पढाउने शिक्षकहरुले पनि नौ र १० मा गणित पढाउने, ९ का गणित पढाउनेले ११ पढाउने गर्नु हुन्छ । त्यस्तै, ४ पढाउनेलाई ८ र ८ पढाउनेलाई ४ कक्षाको गणित पढाउन लगाउने गरिएको छ । यसबाट विद्यार्थीले सिकाइमा फरक स्वाद र विधि थाहा पाउँछन् । शिक्षक पनि मिहिनेती बन्छन् । नर्सरीदेखि नै कक्षागत रुपमा अभिभावकहरुको नियमित भेला गर्छौं । विषयगत शिक्षकमार्फत् नतिजा विश्लेषण गर्ने गर्छौं । यसले विद्यार्थीको सिकाइ र विद्यालयको अवस्थाबारे अभिभावकलाई थाहा हुन्छ ।


    शिक्षकहरुलाई थप सुविधा दिएमात्रै मिहिनेती बन्छन् भन्न खोज्नुभएको हो ?

    थप सुविधा दिएमात्रै मिहिनेती बन्छन् भन्ने होइन । सकारात्मक परामर्श, हौसला र सम्मान पनि दिनु पर्छ । हाम्रो विद्यालयका केही शिक्षक नौ बजे आएर पढाउन थाल्नुहुन्छ । विद्यार्थीहरु पनि विद्यालय आउन हतारिन्छन् । घरमा भन्दा विद्यालयमा रमाउँछन् । हामीले विद्यालयमा पार्क पनि बनाइदिएका छौं । मुख्य कुरा वातावरण निर्माण हो । शिक्षकलाई विद्यार्थी फेल हुने होइन, शिक्षक हुने हो भन्ने विषय बुझाउन सक्नु पर्छ । तालिम, सुविधा, सुरक्षा छ तर सिकेको कुरा डेलिभरीमा समस्या हो । शिक्षक तालिमलाई सुविधाको रुपमा वायोडाटा बनाउन मात्रै लिइयो । क्षमता वृद्धि गर्न लिइएन । मुख्य कुरा, प्रोजेक्ट वर्क हो । शिक्षकलाई व्यस्त बनाइराख्नु पर्छ । मस्त बनाइ राख्नुपर्यो। तर, त्रस्त बनाइनु भएन ।


    विद्यालय सुधारमा प्रधानाध्यापकको भूमिका कत्तिको रहन्छ ? तपाईँ प्रअ भइसकेपछि के–के सुधार गर्नुभयो ?

    विद्यालयका प्रधानाध्यापकले शिक्षकहरुको नेतृत्व गर्ने भएकाले उनीहरुको भूमिका मुख्य हुन्छ । पहिले सुधारको आँट प्रअले नै गर्नुपर्छ । विव्यसले सधैं राम्रो होस्, सुधार होस् भन्ने चाहन्छ । उनीहरु दीर्घकालका लागि आएका पनि हुँदैनन । आफ्नो कार्यकाल राम्रै बनाउन चाहन्छन् । शिक्षकहरुलाई उनीहरुले हस्तक्षेप गर्न सक्दैनन् । शिक्षक बढी जानेका र पढेका हुन्छन् । प्रअले शिक्षक, समुदाय, समितिसँग सहकार्य गरेर अघि बढ्न सक्छ । मुख्य सिकाइ वितरण गर्ने शिक्षकले नै हो । हरेक शिक्षकलाई सकारात्मक प्रतिस्पर्धा र सिकाइ व्यवस्थापक बनाउने प्रअले नै हो । स्रोत व्यवस्थापनमा पनि प्रअकै भूमिका रहन्छ । मेरै कुरा गर्ने हो भने, दुई करोड बढी अनुदान रकम मेरै पहलमा विद्यालयमा भित्रिएको छ । म पहिले यही विद्यालयको विद्यार्थी हुँ । म २०५६ सालदेखि विज्ञान शिक्षकका रुपमा विद्यालयमा प्रवेश भएको हुँ । २०६३ सालमा स्थायी भएँ । २०६९ मा द्वितीय श्रेणीमा बढुवा भएँ । २०७१ असारदेखि प्रधानाध्यापकको जिम्मेवारीमा छु ।

    म प्रअ भएपछि शुरुमा पोशाक परिवर्तन र अनिवार्य गरेँ । पुस्तकको पैसाले जाडोमा विद्यार्थीका लागि एकैखाले स्वीटर किनिदिए्ँ, जुत्ता, झोला र टाइ अनिवार्य गरेँ । पर्खाल बनाएर विद्यालय घेरावार गरेँ । गेटमा हरेक दिन पाले राखेर विद्यार्थीको समय, कपाल, पोशाक, नङ चेक गर्ने व्यवस्था मिलाएँ । शिक्षकको हकमा पनि त्यही हो । एउटा गेटबाट प्रवेश गर्ने र अर्कोबाट बाहिर निस्कने व्यवस्था गरेँ । नर्सरी र केजीको शुरुवातसँगै निःशुल्क खाजाको व्यवस्था गरेँ । १–५ मा कपि–किताब, कलम नल्याए तत्काल दिने व्यवस्था गरेँ । अंग्रेजी माध्यम शुरु गरेँ । पहिलो वर्ष नर्सरीदेखि शुरु गरियो । अर्को वर्ष ३ सम्म लगेँ तेस्रो वर्ष ५ पुर्याएँ । उता, ६ देखि शुरु गरेँ र एकैचोटी ८ पुर्याएँ । तेस्रो वर्ष ९ र १० मा लगेँ । तीन वर्षमा नर्सरीदेखि १० सम्मै अंग्रेजी माध्यम शुरु गरेँ । मुख्य सुधार प्रअ आफूबाटै बन्नु पर्छ ।


    अंग्रेजी माध्यमका लागि शिक्षक तयारी कसरी गर्नुभयो ?

    २०६६ सम्म बिहान चल्ने कक्षा ११ र १२ लाई दिउँसो लगियो । दिउँसो नभ्याउने शिक्षकले छाड्नुभयो, त्यहाँ नयाँ शिक्षकहरु ल्याइयो । उमाविमा प्रायः नयाँ जेनेरेशनका शिक्षक हुनुहुन्थ्यो । उहाँहरुलाई दिउँसो ल्याउनेबित्तिकमै दुई पिरियड पढाएर उहाँहरु खाली हुनुभयो । त्यसपछि उहाँलाई ६ देखि माथिका कक्षाहरुमा पढाउन लगायौं । ८ सम्मका शिक्षकलाई ३ देखि पढाउन लगायौं । शिक्षकहरुले घरमा मिहिनेत गर्नुभयो । त्यतिबेला नसकुँला कि भन्ने शिक्षकहरु अहिले मजाले पढाउन थाल्नुभएको छ । फेरि पछिल्लो दिनमा निजी विद्यालयका राम्रा विद्यार्थी र राम्रा शिक्षक पनि भीमोदयमा आउन थाल्नुभएको छ । हाम्रो कालिका स्रोतकेन्द्रमा रहेका १२ निजी विद्यालयहरु हामीसँग सहकार्यमा हुनुहुन्छ । हामी मिलेर एउटै पाठ्यक्रम बनाउने तयारीमा छौं । उहाँहरुले रोजेको पाठ्यक्रम लागू गर्न समानस्तरको परीक्षा सञ्चालन गर्न हामी तयार छौं । हामीले परीक्षालाई सिकाइकै प्रक्रियाका रुपमा लिने गरेका छौं । निजीले ४ वटा परीक्षा लिनुहुन्छ तर हामी ६ परीक्षा लिने मार्कसिट तयार गर्ने गर्छाैं ।

    शैक्षिकस्तर सुधारका लागि कस्ता प्रयासहरु भए ?

    हामीले सुधारको शुरुवात सानो कक्षाबाट गर्यौं । इसिडिबाट एकैपटक कक्षा १ मा भर्ना हुने परम्पराविपरीत नर्सरी, केजी र युकेजीको व्यवस्था ग¥यौं । नर्सरीदेखि कक्षा २ सम्म मल्टिमिडियाको कक्षा र ग्रेड शिक्षक राखिएको छ । एकजना शिक्षकले वर्षभरी पढाउनुहुन्छ । र, अर्को कक्षामा चढ्दा पनि रोटेशन गरेर एउटै शिक्षकलाई जिम्मा दिएका छौं । नर्सरीदेखि कक्षा २ सम्म पुग्दा एकै शिक्षकले पढाउनुहुन्छ । बालमैत्री डेस्कबेञ्च र कर्नर पुस्तकालयको व्यवस्था गर्यौं। कक्षाकोठामा दराज, जुत्ता दराजको व्यवस्था गरिदियौं । संस्थागत विद्यालयका अंग्रेजी माध्यमका जुन पाठ्यक्रम र पाठ्यपुस्तक छ, त्यो नै लागू गरेका छौं । शिक्षकलाई पढाउन होइन, सिकाउन लगाएका छौं ।


    विव्यसको सहयोग कत्तिको छ ?

    एकदमै छ । हाम्रोमा विव्यस, शिक्षक, विद्यार्थी र अभिभावकको एकदमै एकता र सहकार्य छ । विव्यसका अध्यक्ष नियमित विद्यालय अनुगमनमा आउनुहुन्छ । समितिका अन्य सदस्यहरु पनि दिनको एकपल्ट विद्यालयमा छिर्नुहुन्छ । उहाँहरुको नियमित चासो र अनुगमन हुने गर्छ । राती अबेरसम्म पनि विव्यसका अध्यक्ष होस्टेलको अनुगमनमा रहनुहुन्छ । सबै दलको सर्वसम्मतिमा विव्यस गठन भएकाले यहाँ राजनीतिभन्दा शैक्षिक सुधारको चिन्ता मात्र बढी छ ।


    सामुदायिक विद्यालयका सिकाइ कमजोर हुनाको कारण नियत हो कि नीति ?

    सामुदायिक विद्यालयहरुमा अभाव र अपुग छन् । आवश्यकताभन्दा बढी विद्यालय खोल्न दिइयो । २०५६/०५८ देखि सरकारले एउटा पनि शिक्षक दरबन्दी दिएको छैन । यो बीस वर्षमा चितवनमा मात्रै २३ मावि थपिएका छन् । ९९ मध्ये २५ माविमा मावि दरबन्दी शून्य छ । भौतिक पूर्वाधारको अभाव छ । चितवनका ४६ निमाविमा दरबन्दी शून्य छ । अनि कसरी गुणस्तर बढ्छ ? देशभरको अवस्था यस्तै हो । फेरि, शिक्षकको पनि नियतमा समस्या छ । मुख्यगरी, शिक्षकहरुमा ‘म सरकारी शिक्षक हुँ । मेरो जागिर कसैले चलाउन सक्दैन । म सुरक्षित छु’ भन्ने अनुभूति छ । छोराछोरी अन्त लगेर पढाउने गर्नुहुन्छ । शिक्षकहरु विद्यार्थीको सिकाइ, आफ्नो शिक्षकको सिकाइ क्षमता, समाजप्रतिको उत्तरदायित्वप्रति प्रतिबद्ध छैनन् । शिक्षकको पो केही विद्यार्थी फेल भएपनि केही प्रतिशत मात्र फेल हुन्छन् तर अभिभावकको त शतप्रतिशत फेल हुन्छ नि ! त्यसमा बढी ध्यान दिन जरुरी छ । शिक्षकले राजनीति गरेकाले मात्रै शिक्षा बिग्रिएको होइन । म पनि शिक्षक संघको जिल्ला अध्यक्ष हुँ । नारायणी माविका प्रअ पूर्ण दवाडी पनि शिक्षक नेता हो । तर उहाँकै विद्यालय मोडल छ । हामी राजनीतिक नेता होइनौं । शैक्षिक र पेशागत नेता हौं । दलको झोले नेता बन्ने शिक्षकका विद्यालय मात्रै खस्किएका छन् ।


    तपाईँको विद्यालयमा पचास प्रतिशत निजी शिक्षक भएकाले उनीहरुलाई काममा लगाउन सजिलो छ । राम्रो नगरे जागिर जाने डर छ । के शिक्षकहरुलाई स्थायी गरिनु हुँदैन, हो ?

    शिक्षकहरुको हरेक वर्ष नतिजा परीक्षण हुनु आवश्यक छ । नतिजाकै आधारमा शिक्षक परीक्षण हुनु पर्छ । एक समय विश्वविद्यालय टपर सधैं टपर रहन सक्दैन । समय अनुसार मिहिनेत गर्न आवश्यक छ । संस्थागत विद्यालयमा मिहिनेतलाई राम्रो व्यवस्थापन हुन्छ । संस्थागत विद्यालयका शिक्षकले ४५ मिनेटको पिरियडमा कक्षाकार्य, गृहकार्य हेर्न दिन, सिकाउन सबै गर्न भ्याउँछ । सरकारीमा केही गर्न भ्याउँदैनन् । शिक्षकहरुको क्रियाशिलता बढाउनुको विकल्प छैन । हौसला र सम्मान दिएर सकारात्मक उत्पेरित गरिनु आवश्यक छ । 


    प्रस्तुतिः रोशन क्षेत्री गाउँले

    साभार : आजको शिक्षा साप्ताहिक