काठमाडौं । हाल उच्च माध्यमिक तह(कक्षा ११ र १२) मा कार्यरत शिक्षकहरुलाई माध्यमिक दरबन्दीमा लगिने भएको छ । कक्षा ११ र १२ मा हाल कुनैपनि दरवन्दी रहेको छैन । अब उनीहरुलाई माध्यमिक तह(९–१२ कक्षा) का शिक्षकका रुपमा नियमित गर्न खोजिएको हो ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनमा यस्तो प्रस्ताव गरिएको हो । प्रतिवेदनमा हाल उच्च माविमा कार्यरत शिक्षकहरुलाई माध्यमिक तहका शिक्षकका रुपमा नियमित गर्न ऐनमा आवश्यक दरबन्दी तथा अन्य व्यवस्था गर्न सुझाब दिइएको छ ।

साथै, आयोगको प्रतिवेदनमा तोकिएको विषयमा स्नातकोत्तर उत्तीर्ण व्यक्ति मात्रै माध्यमिक तहको विषय शिक्षक हुनसक्ने नीति अवलम्वन गर्न सरकारलाई सुझाब दिइएको छ ।

प्रतिवेदनमा शिक्षक सेवा आयोगलाई स्वयत्त संवैधानिक आयोग बनाउने, आयोगलाई प्रदेश तहमा विस्तार गर्नुपर्ने र शिक्षाका लागि वित्तिय स्रोतको व्यवस्थापन गर्न संघ, प्रदेश र स्थानीय सरकारले क्रमशः ७०ः१५ः१५ प्रतिशतको अनुपातमा स्रोत जुटाउने नीति अवलम्वन गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

आयोगका तर्फबाट अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले माघ १ गते प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएका थिए । मन्त्रालय आफैले भने हालसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन ।

२०७५ माघ ४ गते २०:४५मा प्रकाशित

प्रतिकृया दिनुहोस्