कक्षाकोठामा विद्यार्थीलाई शिक्षण गराउनुपर्ने शिक्षक दलको झण्डा बोकेर राजनीति गरे के होला ? चक र डस्टर लिने हातले दलको झण्डा समाए के होला ? पक्कै पनि शिक्षा राम्रो बन्दैन । यस्तै अवस्था देखिएको छ कांग्रेसको १३ औँ महाधिवेशनमा । कांग्रेसको महाधिवेशनमा संयौ शिक्षक कार्यकर्ता बनेर महाधिवेशनमा भाग लिएका छन् ।  नेपाली कांग्रेसको १३ औँ महाधिवेशनमा संयौ शिक्षकहरु प्रतिनिधिमा छनौट भएका हुन् । शिक्षकले राजनीति गरेकाले शिक्षा विग्रीएको आरोप लाग्दै आएको अवस्थामा ठूलो संख्यामा शिक्षकहरु प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

कांग्रेस निकट नेपाल शिक्षक संघमा आवद्ध सयौँ शिक्षक पढाउन छाडेर  महाधिवेशनमा आफ्ना नेता कार्यकर्ता जिताउन खुलेर लागे । जिल्ला जिल्लाबाट अन्य कांग्रेसी कार्यकर्तासँगै चुनावमा प्रतिस्पर्धा गरेर सयौँ शिक्षक प्रतिनिधिमा विजयी भए । गुल्मी जिल्लाबाट निजी र सरकारी गरी १० जना शिक्षकहरु महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । संघका जिल्ला अध्यक्ष समेत रहेका रेसुंगा माविका शिक्षक प्रेम नारायण भण्डारी सहित सोहि विद्यालयकी शिक्षक धनकला भण्डारी र नयाँ गाउँ उमाविका शिक्षक भीम प्रसाद पोखरेल महाधिवेशन प्रतिनीधिमा निर्वाचित भएका हुन ।

ताप्लेजुङबाट ९ जना शिक्षक प्रतिनिधि निर्वाचनमा खडा भएकामा ३ जना विजयी भएका छन् । देवी निमावि फूलवारीका शिक्षक इन्द्र प्रसाद घिमिरे, मैवाखोला उमाविका शिक्षक कविता सुव्वा र जलेश्वरी निमावि आङखोपका शिक्षक सञ्जिव कुमार देवान प्रतिनीधीमा निर्वाचित भएका छन् । काठमाडौँ कुलेश्वर माविका प्रधानाध्यापक एस के नेपाल नुवाकोट जिल्लाबाट प्रतिनिधी छनौट भएका छन् ।

सिन्धुपाल्चोकबाट महाधिवेशन प्रतिनिधिमा विजयी हुनेमा ज्ञानमन्दिर नमुना उमाविका शिक्षक यज्ञ प्रसाद दंगाल, थाङपाल हाप उमाविका शिक्षक गंगालक्ष्मि चापाँगाई, बनदेवी मावि चौताराका प्रधानाध्यापक शोभा उलक र पुर्व शिक्षक शिव सुनुवार रहेका छन् ।

त्यस्तै अछामबाट संघका जिल्ला अध्यक्ष रहेका सोषशा उमावि, मंगलशेनका शिक्षक पदम प्रसाद अधिकारी, बागेश्वरी प्रावि मूलीका शिक्षक कृष्ण ढकाल, विद्यामनिदर उमावि विनायकका शिक्षक सुरत विष्ट तथा पुर्व शिक्षक भोज बहादुर कुँवर प्रतिनिधिमा निर्वाचित भएका छन् ।

स्याङ्जा जिल्लाबाट संघका अध्यक्ष समेत रहेका रणवीरजनहीत उमाविका प्रअ लक्ष्मिप्रसाद रेग्मी, विपी स्मृति प्रवि विचारी चौतारीका प्रअ लेखमाया पौडेल, मातृशिशु कल्याण प्राविका प्रअ देवि अर्याल र गंगालाल उमाविका शिक्षक रोशन दर्जी निर्वार्चित भएका छन् ।  मोरङ जिल्लाबाट प्रजातन्त्र मावि घौडाहाका शिक्षक राम कुमार विश्वकर्मा निर्वाचित भएका छन् ।

बाग्लुङ जिल्लाबाट ३ जना शिक्षक महाधिवेशन प्रतिनिधिमा साथै ८ जना शिक्षक जिल्ला कार्यसमितिमा निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधिमा निर्वाचित शिक्षकहरुमा विद्यामन्दिर उमाविका प्रअ जगन्नाथ आचार्य, त्रिभुवन उमावि वलेवाका शिक्षक नारायण शर्मा पौडेल र बालमन्दिर निमावि बाग्लुङ वजारका शिक्षक उमाकान्त पौडेल रहेका छन् ।

त्यस्तै तनहुँ जिल्लाबाट विष्णु मल्ल र महर्षिवेदव्यास संस्कृतिक उमावि दमौलीका शिक्षक चिनु पोखरेल निर्वाचित भएका छन् । सर्लाहीमा जनता प्रावि कविलासी ५ का शिक्षक अनुराधा मिश्र तथा प्रावि राजघाटका शिक्षक जंगबहादुर महतो निर्वाचित भएका छन् ।

पर्वतका शिक्षक संघका अध्यक्ष तथा नारायण उमावि कुष्माका शिक्षक बसन्त बहादुर सिके कांग्रेस जिल्ला सभापतिमा चुनाव लडेर पराजित भएपनि महासमिति सदस्यमा विजयी भई महाधिवेशन प्रतिनिधि भए ।

नवलपरासीका शिक्षक संघका जिल्ला अध्यक्ष विक्रम प्रसाद यादव कांग्रेस जिल्ला सचिवमा निर्वाचित भएका छन् । त्यस्तै जनता उमावि मनरीका प्राचार्य मोहन शर्मा, राष्ट्रिय उमावि छिवनीका शिक्षक मुना धनञ्जय, ज्ञानोदय मावि कावासोतीका प्रअ कपिल भुषाल, देउराली प्राविका शिक्षक रेवती सारु अधिवेशन प्रतिनिधी तथा देउराली मावि  देउरालीका शिक्षक लक्ष्मि पाण्डे कांग्रेसको महासमिती सदस्यमा निर्वाचित भएका छन् ।

नेपाल शिक्षक संघका अध्यक्ष केशव निरौलाका अनुसार  देशभरबाट १३४ शिक्षकहरु महाधिवेशन प्रतिनिधीमा निर्वाचित भएका छन् । यसरी ठूलोसंख्यामा शिक्षक दलको कार्यकर्ता बनेर दलिय निर्वाचनमा सहभागि हुनुलाई शिक्षाविदहरुले भने गैरशैक्षिक हर्कत भनेका छन् । शिक्षाविद् प्राडा मनप्रसाद वाग्लेले सार्वजनिक शिक्षा वर्वादीको मूख्यकारण यस्तै कार्यकर्ता शिक्षक रहेको बताउछन् । शिक्षकले दलिय राजनीति गर्न नहुने उनको तर्क छ । तर शिक्षक महासंघका अध्यक्ष समेत रहेका शिक्षक संघका अध्यक्ष निरौला शिक्षण समय भन्दा बाहेकको समयमा शिक्षक पनि सामान्य नागरिक रहेकाले उनीहरुलाई दलको राजनीति गर्न छुट रहेको तर्क गर्छन् । आफ्नो कार्यक्षेत्रमा राजनीति नगर्ने शिक्षक मात्रै भएको ठोकुवा गर्दै निरौलाले घर गएपछि उनीहरुले खेतीगर्न, भजन गाउन, व्यापार गर्न, दलीय राजनीति गर्न पाउने दावी गर्छन । ‘सरकारले शिक्षकलाई ८ घण्टाको नै तलव दिएको हो बाकी १६ घण्टा शिक्षककोआफ्नो समय हो त्यो समयमा उनीहरु समाजका अन्य नागरिक सरह काम गर्न पाउछन् ।’ निरौलाले भने । ‘कि त २४ घण्टाको तलव सुविधा दिनुप¥यो ।’

विद्यालय नै बन्द
कतिपय जिल्लाहरुमा कांग्रेसको अधिवेशनका लागि विद्यालयहरु समेत बन्द भएका छन् । बाग्लुङ जिल्लामा जिल्ला अधिवेशनका लागि सदरमुकाममा अवस्थीत बालमन्दिर निमावि  तिन दिन बन्द भयो । फागुन ४ र ५ मा अधिवेशन सम्पन्न हुन नसकेपछि पुन निर्वाचनका लागि ६ गते पनि विद्यालय बन्द गरिको महाधिवेशन प्रतिनिधि निर्वार्चित विद्यालयका शिक्षक उमाकान्त पौडेलले जानकारी दिए ।  सर्लाहीको जनता उमावि हरीपुरमा अधिवेशन हुँदा १ दिन विद्यालय बन्द गर्नुपरेको नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष कौशलकुमार रायले जानकारी दिए । प्रअ लगायत शिक्षकहरु नै दलको अधिवेशन तथा महाधिवेशनमा खट्दा कक्षाकोठा अवरुद्ध हुने तथा विद्यालय नै बन्द हुने अवस्था समेत देखिएका छन् ।

दलैपिच्छेका भातृसंगठन
कांग्रेसमा मात्रै होइन अन्य दलहरमा पनि दलका झोले शिक्षकहरुको कमी छैन । एमाले, एमाओवादी, राप्रपा, मधेसवादी दल देखि लिएर भर्खरै बनेको नयाँशक्ति अभियान नेपाल समेतको आफुनिकट शिक्षकका  भातृसंगठनहरु रहेका छन् । भातृसंगठनमा आवद्ध शिक्षकहरु कुनै न कुनै रुपले मातृदलमा आवद्ध छन् । मातृदलका जिल्ला देखि केन्द्रीय महाधिवेशन सम्म उनीहरुको सहभागिता रहने गरेको छ । एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय अध्यक्ष तथा रुद्रायणी मावि खोकनाका प्रअ बाबुराम थापा एमालेको महाघिवेशनमा केन्द्रिय सदस्यमा चुनाव लडेर पराजित भएका थिए ।

शैक्षिक अपराधी
सरकारी तलव भत्ता खाएर दलको राजनीति गर्ने शिक्षक शैक्षिक अपराधी हुन भन्छन शिक्षाविद् प्राडा मनप्रसाद वाग्ले । त्यस्ता शिक्षकहरुले शिक्षण पेशा र राजनीति मध्ये एक रोज्नुपर्ने वाग्ले बताउछन् । अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारी पनि शिक्षकले शिक्षण पेशा छाडेर मात्र राजनीति गर्न पाउने बताउछन । पढाउने जिम्मा पाएका शिक्षक कक्षाकोठा छाडेर दलको राजनीतिमा लाग्नु अशोभनिय र गैरकानुनी भएको उनको भनाई छ । यो नैतिकता र आत्मसम्मानसँग गासिएको प्रश्न हो शिक्षक शिक्षककै रुपमा प्रत्यक्ष राजनीतिमा लाग्दा विद्यालय र विद्यार्थीमा कस्तो असर पर्ला प्रश्न गर्दै भण्डारी विद्यार्थीको भविष्यसँग खेलबाड गर्ने त्यस्ता शिक्षकलाई राज्यले दण्डीत गर्नुपर्ने बताउछन् ।

मन्त्रालय कारवाहीको तयारीमा
शिक्षा मन्त्रालयले कांग्रेस महाधिवेशनमा प्रतिनिधि निर्वाचित शिक्षकहरुलार्ई  कारवाही गर्ने भएको छ । शिक्षा विभाग मार्फत जिल्लाहरुबाट  त्यस्ता शिक्षकको तथ्यांक संकलन भइरहेको मन्त्रालयले जनाएको छ । जिल्ला अधिवेशनका लागि विद्यालय बन्द भएका समेत समाचार बाहिर आएकाले त्यस्ता विद्यालयहरुसँग स्पष्टीकरण लिइने तयारी मन्त्रालयले गरेको छ । वर्तमान ऐन नियमावलीले शिक्षकलाई राजनीति गर्ने छुट नदिएको मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले बताए । त्यस्ता शिक्षकहरुलाई ऐन र नियमावलीमा व्यवस्था भएबमोजिम नै कारवाही गरिने प्रवक्ता लम्सालले स्पष्ट पारे । संसदमा पुगेको शिक्षा विधेयकमा शिक्षकलाई राजनीति गर्न पुर्ण प्रतिवन्ध लगाइएको भएपनि त्यो पास भएर नआएकाले वर्तमान ऐनमा जे व्यवस्था छ सोही अनुसार कारवाही प्रकृयामा लगिने उनको भनाई छ । दलहरुसँग छलफल गरी उनीहरुको  सहयोग समेत लिएर राजनीतिमा सक्रिय शिक्षकहरुलाई कानुनी दायरामा ल्याइने मन्त्रालयले जनाएको छ ।

शिक्षक भन्दा कार्यकर्ता बढी !
शिक्षा विभागका अनुसार देसभरी सवैखाले शिक्षकको संख्या  साढे एक लाखको हाराहारीमा मात्रै छ तर शिक्षकको संघसंगठनमा लागेका शिक्षकहरुको संख्याभने साढे २ लाख नाघ्छन् ।

सरकारी तथ्यांक मान्ने हो भने देशमा स्थायी र अस्थायी गरी एक लाख आठ हजार शिक्षक छन् भने राहतकोटाका झण्डै ३९ हजार र पीसीएफ अन्तर्गत करिव १० हजार शिक्षक नियुक्त भएका छन् । यी सवै संख्या जोड्दा डेढलाख नाघ्दैनन् तर शिक्षक संघसंगठनहरुको तथ्यांकलाई विश्वास गर्ने हो भने झण्डै एक लाख शिक्षक अपुगको रोचक प्रसंग प्रष्ट हुन्छ ।

कांग्रेस निकट नेपाल शिक्षक संघले ७६ हजार ५ सय ७५ शिक्षकहरु सदस्य रहेको दावीगरेको छ । एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनले पनि ७२ हजार शिक्षक आफ्ना सदस्य रहेको दावी गरेको छ । एमाओवादी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन ४२ हजार र विप्लव माओवादी निकट अखिल नेपाल शिक्षक संगठनले ४३ हजार शिक्षकहरुलाई सदस्यता बाडेको दावी गरेको छ । वैध माओवादी निकट अखिल नेपाल प्रगतिशील शिक्षक संगठनले पनि २० हजार सदस्य रहेको दावी गर्छ । त्यस बाहेक नेपाल शिक्षक मञ्च, नेपाल क्रानिकारी शिक्षक संघ, नेपाल शिक्षक परिषद, मधेषी शिक्षक फोरम, लोकतान्त्रिक शिक्षक युनियन लगायत शिक्षक संगठनहरुले आफुआवद्ध ६ देखि १० हजार शिक्षकहरु रहेको दावी गर्छन् । उनीहरुले भन्ने गरेको तथ्यांक कार्यरत शिक्षकको मात्रै हो ।

शिक्षा विभागले भने हाल मुलुकभर एक लाख ४७ हजार ३ सय ४३ शिक्षक मात्रै कार्यरत भएको जनाएको छ । शिक्षा विभागका उपनिर्देशक तेजप्रसाद काफ्लेका अनुसार प्राथमिक तहमा ८० हजार १ सय ७६ साधारण र २१ हजार ६ सय ९४ राहत गरी जम्मा १ लाख १ हजार ८ सय ७०, निमावि तहमा १६ हजार २ सय २४ साधारण र ९ हजार ६ सय १२ गरी जम्मा २५ हजार ८ सय ३६ र मावि तहमा १२ हजार ७ सय १८ र र ६ हजार ९ सय १९ राहत गरी जम्मा १९ हजार ९ सय ६ सय ३७ शिक्षक कार्यरत रहेका छन् । काफ्लेका अनुसार वास्तविक जानकारी नभएपनि करिव १० हजार पिसीएफ शिक्षक कार्यरत छन् ।

फेरी थपियो
दलहरुको भातृसंगठनका रुपमा फेरी अर्को नयाँ शिक्षक संगठन थपिएको छ । पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नयाँ शक्ति अभियानको भातृसंगठनको रुपमा शिक्षक समाज नेपाल गठन गरिएको हो । पहिले नयाँ शक्ति शिक्षक नेपाल नामाकरण गरिएको भएपनि संगठनको पहिलो राष्«िटय भेलाले शिक्षक समाज नेपाल नाम कायम गरेको हो । नेपाल शिक्षक महासंघमा हाल १८ वटा शिक्षक संगठन आवद्ध छन् । त्यस बाहेक बैध माओवादी,संघीय समाजवादी पार्टी र नेपाल मजदुर किसान पार्टी को भातृसंगठनको रपमा रहेका शिक्षक संगठनहरु म्हासंघमा आवद्ध भएका छैनन् । औपचारकि रुपमा अव शिक्षक संगठनहरुको संख्या २२ पुगेको छ ।

शिक्षक समाजका सचिवालय सदस्य इन्द्रराज भट्टराईले शिक्षा क्षेत्रमा नयाँ दृष्टिकोण दिने उदेश्यले समाज स्थपना गरिएको जानकारी दिए । समाजको भेलाले दलबहादुर विसीको संयोजकत्वमा १९९ सदस्यीय अन्तरिम केन्द्रिय परिषद गठन गरेको छ ।

प्रतिकृया दिनुहोस्