• ‘गुणस्तरमा सामुदायिकभन्दा कमजोर निजी विद्यालयहरु छन् भने बन्द गर्नु पर्छ’
    ()

  • दिपिका थापा रिमाल
    उपाध्यक्ष, प्याब्सन
    प्रिन्सिपल, सिद्धार्थ विद्यापीठ मावि, गठ्ठाघर, भक्तपुर

     

    सामुदायिक र निजी विद्यालयमा के फरक छ ?

    मलाई त नाममा मात्रै फरक लाग्छ । वास्तविकतामा केही फरक छैन । चामल त्यही हो । भात पकाउने त्यही हो । एउटामा भात पकाउँदा सायद पानी बढी हालिन्छ । अलि–अलि गिलो हुन्छ । अर्कोले ठिक्क हाल्छ, सायद भात राम्रो पाक्छ । चामल एउटै हो, पकाउने तरिका मात्रै बेग्लै । पकाउने ढंग नपुगेकाले मात्रै भात दुई किसिमको देखिएको हो । निजी विद्यालयहरुले पनि सामुदायिकले जस्तै शिक्षा मन्त्रालयअन्तर्गतकै पाठ्यक्रम सिकाउने हो । परीक्षा सञ्चालन गर्ने हो । पढाउने तरिका र प्रस्तुतिमा मात्रै भिन्नता छ । अझ, सामुदायिकमा भौतिक संरचना, पढाउने शिक्षकहरु निजीका भन्दा राम्रा र अनुभवी छन् । मात्र त्यहाँका व्यवस्थापकहरुले समयसापेक्ष नीति र कार्यक्रम बनाउन व्यवस्थापन गर्न नसक्दा केही समस्या आएको मात्रै हो । यदि सही ढंगको व्यवस्थापन भए निजीको भन्दा राम्रो नतिजा आउन सक्छ । किनभने, सामुदायिक विद्यालयमा प्रशस्त भवन, खेलकुद मैदान, कक्षाकोठा, प्रतिस्पर्धाबाट आएका शिक्षक हुन्छन् । जुन निजीमा छैनन् । त्यसैले व्यवस्थापनकै समस्या मात्रै हो ।


    समान नै भए किन त सामुदायिक र निजी बीचमा यत्रो खाडल भएको ?

    खाडल हाम्रो मानसिकतामा हो । एउटा उदाहरण दिऊ । हामीले हाम्रा विद्यालयमा विद्यार्थीको तीन समूह बनाएर समान पिठो, पानी, नून, सोडा, चुला, बेल्नाचौका दिएर रोटी पकाउन भनेका थियौं । तर, एउटाले पिठो गिलो मुछेर गिलोरोटी बनायो । अर्कोले धेरै नून हालेर र तावा धेरै तताएर रोटी डडायो । र, अन्तिम समूहले भने सबै वस्तु मिलाएर राम्रो रोटी तयार पा¥यो । एउटै वस्तुबाट तीन समूहले फरक–फरक नतिजा हात पारे । यहाँ कसरी खाडल भन्ने ? यो त बनाउने, पकाउने शैलीमा मात्रै भिन्नता हो ।


    निजी विद्यालयप्रतिको बढ्दो आकर्षणको कारण के होला ?

    अघि नै भनेको जस्तो रोटी पकाउने टोली राम्रो हो । निजी विद्यालयको व्यवस्थापन र प्रस्तुति अभिभावकहरलाई मन परेको मात्रै हो । गिलो रोटी पकाएर अरुले खाएनन् भन्न भएन नि । गिलो रोटी पकाउनेले पिठो मुछ्न सिक्दैछ, डडाउनेले त झन धेरै सिक्न बाँकी छ, राम्रो रोटी पकाउनेहरु परौठा पकाउन खोज्दैछन् । फरक यति मात्रै हो । अभिभावकहरु राम्रा रोटी र पराठाप्रति आकर्षित भएका हुन् । निजी विद्यालयहरु नियमित अपडेट हुँदै गए तर सामुदायिकहरु अझै सिक्ने प्रक्रियामा छन् । यसरी खाडल देखियो । राम्रो रोटी पकाउन भनेर उमेश श्रेष्ठलाई दरबार हाइ स्कूल राम्रो बनाउने जिम्मा दियो सरकारले । तर न पीठो दियो, न पानी, न त चूलो । अनि कसरी पाक्छ त रोटी ? लिटिल एञ्जल जस्तो बना रे ! फेरि शिक्षक चलाउन नपाउने, आफूले भने जस्तो नियम लागू गर्न नपाउने भएपछि कसरी हुन्छ ? यो गम्भीर विषय हो । तर, यसलाई कसैले गम्भीरतापूर्वक नलिँदा समस्या भएको हो ।


    सामुदायिक विद्यालयको व्यवस्थापनको सुधार कसरी गर्ने ?

    मेरो कुरा गर्नुहुन्छ भने मैले व्यवस्थापनको सीप परिवार व्यवस्थापनबाटै सिकेको हुँ । मैले घरमा खाना पनि पकाउथेँ । छोरा पनि पढाउथेँ । छिमेकीका बच्चाहरुलाई ट्युसनसमेत पढाउथेँ । विद्यालय पनि एउटा ठूलो घर हो । त्यसैले व्यवस्थापन र नैतिकता ठूलो कुरा हो । सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार, जनशक्ति राम्रो हुँदा हुँदैपनि अपेक्षित सुधार हुन नसक्नुको कारण व्यवस्थापनमा रहेको कमजोरी नै हो । त्यसैले व्यवस्थापनमा सुधार हुन आवश्यक छ । व्यवस्थापन, नैतिकता र जिम्मेवारीमा सुधार आए सामुदायिकहरु अब्बल बन्नबाट कसैले रोक्न सक्दैनन् ।


    सरकारको ठूलो लगानी, प्रतिस्पर्धाबाट आएका शिक्षक, राम्रा भौतिक पूर्वाधार भएका सामुदायिकभन्दा ऋण खोजेर जेनतेन सञ्चालित निजी विद्यालयहरु किन राम्रा भएका होलान् ?

    सरकारी विद्यालय तदर्थवादमा चलिरहेको छ । त्यहाँ सुधार गर्ने मानसिकता र हिम्मत भएन । त्यहाँ जागिर खान मात्रै शिक्षकहरु पुग्ने गर्छन् । जिम्मेवारी छैन । गरेपनि हुन्छ, नगरे पनि हुन्छ । एउटा निजी र सामुदायिक विद्यालयका शिक्षकहरुको तुलनात्मक अवस्था हेर्दा थाहा हुन्छ, को कति फुर्सदिला छन् भनेर । म २०३९ सालतिर सिद्धार्थ वनस्थलीमा पढाउथेँ । तर, त्यहाँ पढाउदा मैले घरको केही काम गर्न भ्याउँदैनथेँ । पछि म सरकारी विद्यालयमा पढाउन थालेँ । सबै घरको काम गर्न भ्याउन थालेँ, म अल्छि भएँ । सिद्धार्थ वनस्थली जस्तै बनाउछु भनेर लाग्दा म सामुदायिक विद्यालयबाट बीचमै निकालिएको अनुभव समेत छ । मैले मात्रै कपी जाँच्ने, अरुले नजाँच्ने अन्दाजको भरमा नम्बर दिने परिपाटी देखेँ । मैले सही जाँचेर कम नम्बर दिँदा विद्यार्थीहरु प्नि रिसाउने । प्रअ पनि रिसाउने । त्यसैले सामुदायिक विद्यालयहरु सिस्टममा चल्नु प¥यो । शिक्षकहरु व्यस्त हुनुप¥यो । नियमित हुनुप¥यो । स्वामित्व, उत्तरदायित्वसँगै मानसिकता र नियत सफा चाहिन्छ । नियम र नियत हुन जरुरी छ । राजनीतिमुक्त हुनु पर्छ । दण्ड र पुरस्कारको व्यवस्था हुनु पर्छ । यो मैले भोगेको अनुभवले भन्दैछु । सामुदायिक विद्यालय सुर्धान सकिँदैन भन्ने लागेपछि नै म निजीप्रति आकर्षित भएकी हुँ । २०५४ मा प्रभात स्कूल, २०५६ मा आशिर्वाद र २०५६ बाटै यस सिद्धार्थ विद्यापीठ सञ्चालन गर्दै आइरहेको छु ।


    सामुदायिक विद्यालयको शिक्षक व्यवस्थापनका कमजोरी के–के हुन् ?

    पुरस्कार र दण्ड । निजी विद्यालयमा सामुदायिकको जस्तो तलब सुविधा छैन । जागिरको सथायीत्व छैन । तरपनि, शिक्षकहरु मिहिनेती र कर्तव्यनिष्ठ छन् । तर सामुदायिकमा स्थायी, पेन्सन, सञ्चयकोष आदि सुविधाका कारण पनि अल्छि छन् । किन त भन्दाखेरी पुरस्कार र दण्डको व्यवस्था नहुनाले । निजीमा मिहिनेत नगरे जागिरबाट हात धुनुपर्छ, मिहिनेत गरे पुरस्कार पाइन्छ । तर सामुदायिकमा जे गरेपनि छुट छ । कसैले चलाउन सक्दैनन् । यदि सामुदायिक विद्यालयमा पनि दण्ड र पुरस्कारको व्यवस्थालाई कडा रुपमा लागू गर्न सक्ने हो भने यो समस्या हट्ने देखिन्छ । शारीरिक दण्ड दिन होइन, सरुवा गर्न सकिन्छ । अन्य विभागीय कार्बाही गर्न सकिन्छ नि ! तर, खोई त । सामुदायिकमा त राम्रो ग¥यो भने सरुवा गरिन्छ । उल्टो छ । ठूलो कुरा नैतिकता हुन जरुरी छ । अनुगमन र सुपरीवेक्षण बलियो बनाउन जरुरी छ ।


    संविधानले १ देखि १२ कक्षा सम्म निःशुल्क हुने तथा उच्चस्तरीय शिक्षा आयोगको प्ररम्भिक प्रतिवेदनमा समेत निजी विद्यालय बिस्तारै नियोजन गर्दै लग्ने विषय आएको छ, अब निजी विद्यालयको भविष्य के हुन्छ ?

    म फेरि अघिकै उदाहरणमा पुग्न चाहन्छु । जसले गोलो राम्रो रोटी पकाएको छ । उसलाई संरक्षण गर्दै अन्यलाई रोटी पकाउन सिकाउन छाडेर सरकारले राम्रो रोटी बनाउनेलाई नै निकाल्न खोजेको छ । राम्रो निस्किएपछि त समान भयो नि । निजी विद्यालयहरुको अवस्था त्यही भएको छ । राम्रा निजी बन्द गरे नराम्रा सबै सामुदायिक विद्यालयलाई समान बनाउने धाउन्नमा सरकार र नीति निर्माताहरु देखिन्छन् । निजी विद्यालयहरु अब त्यसको विरुद्ध लड्ने कि रोटी राम्रो बनाउनतिर लाग्ने द्विुविधामा छन् । लड्न गए फेरि रोटी बिग्रन्छ । निजी विद्यालयहरु कुनैपनि हालतमा बन्द हुँदैनन् र बन्द हुनै सक्दैनन् । जसले देशको विकास चाहन्छ, उसले निजी विद्यालय चाहन्छ । जसले विकास चाहँदैन देशलाई यस्तै भुमरीमा फसाउन चाहन्छ, उसले निजी विद्यालय चाहँदैन । निजी विद्यालयको विरोध गर्नु भनेको देशको विकास नचाहनु हो । निजी विद्यालयको नाम मन नपरे नाम परिवर्तन गर्न सकिन्छ तर बन्द गर्न सकिन्न । निःशुल्क शिक्षा सम्भव नै छैन । कसले तिर्ने भन्ने मात्रै हो । सामुदायिक विद्यालय पनि हामीले तिरेकै करबाट चलेका हुन् ।


    निजी विद्यालयहरुले अब के गर्नुपर्ला ?

    केही गर्नु पर्दैन । अझ राम्रो गर्दै जाने । नियममा बस्ने । नयाँ–नयाँ प्रविधिहरु प्रयोग गर्ने, व्यापारमा मात्रै ध्यान नदिने, विद्यार्थीको सुरक्षामा ध्यान दिने, शोषणरहित शिक्षा दिने, बालमैत्री वातावरणमा शिक्षा दिएपछि अभिभावकहरु आफैं आएर उफ्रिउफ्रि हामीलाई यही विद्यालय चाहिन्छ, निजी विद्यालय बन्द नगर्नुस भनेर भन्नेछन् । सामुदायिकमा हाम्रा बालबच्चाहरु सुरक्षित हुँदैनन् भनेर भन्नेछन् । त्यो माहौल बनाउने जिम्मा निजी विद्यालयको हो ।


    सबै निजी विद्यालयहरु उत्कृष्ट छैनन् । गाउँघरका औषत निजी विद्यालयहरुलाई के गर्ने त ?

    यदि सामुदायिक भन्दा कम वा सरहका विद्यालयहरु छन् भने बन्द गर्नु पर्छ । निजी विद्यालयहरु विकल्प बन्न सक्नु पर्छ । अन्यथा, बन्द गरिनु पर्छ । सामुदायिकसरह भए किन निजी चाहियो ? सामुदायिक विद्यालयहरु कमजोर रहँदासम्म मात्रै निजीको भविष्य छ । उनीहरु सुधार हुँदै आए निजी आफैं बन्द हुन्छन् । सामुदायिक विद्यालयको गुणस्तरमा निजीको भविष्य जोडिएको छ । बरु, निजीलाई नियमन, मर्ज गर्दै लैजानु पर्छ ।


    तपाईँ प्याब्सनको अध्यक्ष भन्ने तयारीमा हुनुहुन्छ हो ?

    म हुनै पर्छ भनेर मरिहत्ते त गर्दिनँ तर जिम्मेवारी पाएँ निर्वाह गर्न तयार छु । मेरो अध्यक्ष बन्न, प्याब्सनको सुधारका लागि छुट्टै योजना र तयारीहरु छन् । त्यो योजना र तयारी पूरा गर्ने बेलामा म प्याब्सनको अध्यक्ष बन्नेछु । अध्यक्ष बन्न मनी, म्यान, म्यानोरिटी, म्यानेजमेन्ट, मिडिया पावर चाहिन्छ । जबसम्म त्यो पावरमा सफल हुन्नँँ, म अध्यक्ष बन्न सक्दिनँ । यति पुग्नसाथ मलाई अध्यक्ष बन्न कसैले रोक्न सक्दैन ।

    प्रस्तुतिः रोशन क्षेत्री गाउँले

     

    साभार : आजको शिक्षा साप्ताहिक