काठमाडौं । नेपाल शिक्षक महासंघले शुक्रवार काठमाडौंमा विशाल प्रदर्शन गरेको छ । देशभरबाट राजधानी आएका  हजारौं शिक्षकहरुले प्रदर्शनी मार्गमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा प्रदर्शनकारी शिक्षक र प्रहरीबीच झडप समेत भएको थियो । महासंघले काठमाडौं उपत्यकाका सामुदायिक विद्यालयहरु बन्द गराएर शिक्षकहरुलाई सडकमा ओरालेको थियो । यद्यपि महासंघले शुक्रवार अवरुद्ध भएको पढाइ शनिवार विद्यालय सञ्चालन गरेर पुर्ति गर्ने जनाएको छ ।

बिहान १० बजे बाल्मिकीमा जम्मा भएका शिक्षकहरु नारावाजी गर्दै टुडिखेलतर्फ अगाडि बढ्न खोज्दा प्रहरीले राष्ट्रिय सभागृह गेट अगाडि रोकेको थियो । त्यसपछि शिक्षक र प्रहरिकाबीच सामान्य झडप समेत भएको थियो । पछि राष्ट्रिय सभागृह अगाडि कोण सभा गरिएको थियो ।

पहिले बाल्मिकी क्याम्पसमा जम्मा भएर नारावाजी गर्दैै भद्रकाली, माइतीघर हुँदै बानेश्वर पुगेर विरोध र्याली कोणसभामा परिणत हुने निर्धारित कार्यक्रम रहेपनि प्रशासनले रोक लगाएपछि प्रदर्शनी मार्गमै कोणसभा गरिएको थियो ।

शिक्षकहरुले निरिह सरकारले शिक्षकमाथि निरन्तर आक्रमण गरिरहेको, शिक्षकका विगतका सहमति सम्झौता कार्यान्वयन नगरेको भन्दै नारावाजी गरेका थिए । उनीहरुले अब सरकारसँग उधारो सहमति नगर्न समेत शिक्षक नेताहरुलाई सचेत गराएका थिए ।

आजको विरोध प्रदर्शन कास्टिङ मात्रै भएको भन्दै आगामी मंसिर २१ गते आन्दोलनको फिल्म प्रदर्शन गर्ने महासंघले चेतावनी दिएको छ ।

कोणसभालाई शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा, आन्दोलन परिचालन समितिका संयोजक पूर्ण दुवाडी, एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी, नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्रराज पौडेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष लक्ष्मण शर्मालगायतले सम्बोधन गरेका थिए ।

२०७५ मंसिर १४ गते १८:३७मा प्रकाशित

प्रतिकृया दिनुहोस्