• चित्रबहादुर केसीको अक्षर अनुभव : आमाको कानको ढुंग्री बेचेर पढेँ
    (जीवन–अनुभूति)




  • त्यतिबेला छरछिमेकमा मात्रै होइन, बाग्लुङ जिल्लामै खासै विद्यालय थिएनन् । शिक्षक पनि थिएनन् । केही वेदचण्डी पढाउने भाषा पाठशाला भएपनि नजिक थिएनन् । अक्षर चिनेकाहरुले अरुलाई पनि अक्षर चिनाउथे । उहाँले पनि काठको कालोपाटीमा कालो अंगारले रंगाएर खरी ढुंगाले लेखेर अक्षर चिन्नुभयो । ‘मैले कुटी बनाएर साधुको छुट्टै जीवन बिताइरहनुभएका आफ्नै दाजूभाई पर्नेबाट अक्षर चिनेको हुँ । उहाँबाटै मैले चण्डी र दुर्गाकवच सिकेँ । चिनेर भन्दापनि अरुले भनेर कण्ठ पारिन्थ्यो,’ राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहनुभएका चित्रबहादुर केसी स्मरण गर्नुहुन्छ, ‘मैले क देखि ज्ञ र १ देखि १०० सम्म त्यसरी नै सिकेँ ।’


    उहाँ १२ वर्षको उमेरमा घरदेखि दुई घण्टा टाढाको पाठशाला जानुहुन्थ्यो । गल्कोट पहिलेको चौबीसे राज्य थियो । त्यसको राजधानी जसलाई अहिले हरिचौर भनिन्छ, त्यहाँ भाषा पाठशाला रहेको थियो । राजाको नाम भरत मल्ल र रानीको चैतन्य मल्ल थियो । ‘उनीहरुकै नाममा खुलेको भरतचैतन्य प्राइमरी स्कूलमा मैले पढ्न शुरु गरेँ । ५÷७ महिना त्यहाँ पढेँ । त्यतिबेला भाका मिलाएर श्लोक कण्ठ गर्न सिकाइन्थ्यो,’ केसीले विगत कोट्याउनुभयो, ‘पाठ्यपुस्तक केही थिएन । अंक, अक्षर र श्लोक पढिन्थे । त्यतिबेला हर्कबहादुर बुढामगर गुरु हुनुहुन्थ्यो । उहाँले सिकाउनुहुन्थ्यो । पछि विद्यालय बन्द भयो । पढाइ छुट्यो । अनि ०११ सालम फेरि हर्क गुरुलाई राखिएपछि २/४ महिना गएर पढँे । त्यतिबेला मैले नेपाली राम्रोसँग पढ्न र लेख्नसक्ने भएँ । दुईचोटि त्यहाँ पढ्दा मैले जोड, घटाऊ, भागालगायतको हिसाब गर्न सक्ने भएँ ।’


    त्यसपछि वि.सं. २०१४ सालमा डा. केआइ सिंह नेपालका प्रधानमन्त्री भए । गल्कोटे राजाको सत्ता खोसियो । गल्कोट राज्य नभएपछि बाग्लुङ बजार आउनुपर्ने भयो जुन आठकोश टाढा पथ्र्यो चित्रबहादुरको घरदेखि । गल्कोट राज्य उन्मूलन भएपछि राज्य गएपनि देवानी अड्डा नहटाइयोस् भनेर त्यतिबेलाका राजा महेन्द्रलाई बिन्तीपत्र बुझाउन राजाका भान्से समेत रहेका चित्रबहादुरका बुवासहित सातजना मानिसको टोली काठमाडौं जाने भयो । त्यतिबेला केसीका गाउँमा मुस्ताङको तिब्बती नून खाइन्थ्यो ।

    घरमा नून नभएकाले केसी पनि दशपाथी गहुसँग नून साटेर गाउँ लाग्ने भन्दै  बाग्लुङ बजार आउनुभयो । उहाँ भारतीय सेनामा जागिर खान नापिइसक्नु भएको थियो । छनौटमा एक नम्बरमै पर्नुभएछ । उहाँ घरमा नून पु¥याएर भारतीय फौजमा जाने तयारीमा हुनुहुन्थ्यो । पछि भरिया नपाएपछि म बुवाको झिटी–गुन्टा बोकेर पोखरासम्म आउनुप¥यो । अनि त ‘एक्लै गाउँ फर्कन सक्दैनस्’ भनेर बुवाले उहँलाई काठमाडौं आफूसँगै ल्याउनुभयो । २०१४ सालमा एकजनाको ६० रुपैयाँ तिरेर जहाजमा काठमाडौं आउनुभयो उहाँ । त्यतिबेला नक्सालमा गल्कोटे दरबार थियो । उनीहरुले केसीलाई गाउँ नलगे पढाएर राखिदिन्छौं भनेपछि उनी बाग्लुङ फर्किएनन् । काठमाडौंमै बसे । त्यतिबेला पढाइदिन्छौं भनेपनि राजाहरुलाई घरमा भाडा माझ्ने मान्छेहरुको खाँचो रहेछ । ‘मलाई भाडा माझ्न राखे,’ केसीले विगत खोतल्नुभयो, ‘बुवा जानसाथ मेरा दुःखका दिन शुरु भए ।’


    चित्रबहादुर ६ महिना त्यही भाडा माझेर बस्नुभयो । पछि उहाँले आमालाई चिठ्ठी लेख्दै आफूलाई पढाउनभन्दा भाडा मझाएर राखेको बेलीबिस्तार लगाउनुभयो । आमाले पछि कानमा लगाएका सुनको ढुंग्री पठाइदिनुभएछ–बेचेर घर आउनू भन्दै । ‘त्यो सुन असनमा लगेर ३९८ रुपौयाँमा बेचँे । चारसय पनि पार्न सकिनँ,’ केसीको ओठमा मुस्कान छायो ।  


    त्यो पैसा पाएपछि उहाँले दरबारमा भाडा माझ्न मात्रै छोड्नुभएन, घरमा जाने विचार पनि छाड्नुभयो । उहाँ पाँच रुपैयाँमा एउटा कोठा लिएर नक्सालमा पुरानो पाटीमा नन्दी रात्री पाठशाला हाइस्कूल भन्ने थियो । अहिले त्यो स्कूल नयाँ संरचनामा छ । ‘त्यो बेला कट्टु लगाएर स्कूल जान्थेँ । शिक्षकहरू धेरै मिहिनेती हुन्थे । शिक्षकलाई विद्यार्थीले धेरै मानसम्मान गर्थेँ,’ उहाँले भन्नुभयो ।


    त्यहाँ तीन वर्षमा एसएलसी पास गराइन्थ्यो । पहिलो कक्षामा पाँच सम्मको, दोस्रोमा आठसम्मको र तेस्रो कक्षामा ९ र १० को कक्षा पढाइन्थ्यो । भाडा मझाएको, अरुले दबाएको इख र उमेर छिप्पिएकाले पनि त्यही इख लिएर उहाँले मिहिनेत गरी पढ्नुभयो । उनी ६० रुपैयाँ घरभाडा र घरजाने भाडा लुकाएर बाँकीले खर्च पु¥याउथे । एसएलसी दिएपछि गल्कोट गएर उहाँले ठाँटीमा पढाउन शुरु गर्नुभयो । २०१६ सालमा परीक्षामा दोस्रो श्रेणीमा उत्तीर्ण भएपछि पनि त्यही पढाउदै गर्नुभयो । एसएलसी पास गरेको शिक्षकले पढाउन थालेपछि सरकारले सो विद्यालयलाई स्वीकृतिसँगै वार्षिक ११ सय रुपैयाँ पनि सहयोग गर्न थाल्यो । ‘अहिले त त्यो विद्यालय हाइस्कूल भा’छ,’ उहाँले थप्नुभयो ।


    पछि उहाँ इन्टर पढ्न फेरि काठमाडौं आउनुभयो । त्रिचन्द्र कलेजमा भर्ना हुनुभयो । त्यहीबाट इन्टर उत्तीर्ण गरी २०२५ सालमा प्राइभेटबाट स्नातक उत्तीर्ण हुनुभयो । इन्टरमा ७५ प्रतिशत हाजिर नपुगेपछि स्टाफलाई ५० रुपैयाँ पु¥याउन लगाए । त्यसपछि मेरो पढाइ छुट्यो । उहाँले यसो भन्दा उहाँ युवा अवस्थामै फर्किए झैँ देखिन्थ्यो ।


    २०१४ सालमै नन्दी विद्यालयमै पढ्दा नै राजनीतिमा लागिसक्नुभएका चित्रबहादुर आफ्नो पढाइ राजनीतिकै कारण नियमित भन्दापनि प्राइभेट हुन गएको बताउनुहुन्छ । इन्टर सकेपछि उहाँले ९ महिना राजधानीको पद्मोेदय माविमा समेत पढाउनुभयो । फेरि गाउँमा गएर ४ वर्ष पढाउनुभयो । त्यसपछि राज्यले उहाँलाई ‘मोस्ट वान्टेड’ सूचीमा राख्यो । उहाँ २०२६ सालदेखि भूमिगत हुनुुभयो ।


    हाल ७७ वर्ष पुग्नुभएका केसी आफू बाल्यकाल सरदर नेपाली किसानहरुको जस्तै जो बिहानदेखि बेलुकासम्म नंग्रा खियाएर जीवन निर्वाह गर्छन्, त्यस्तै रहेको बताउनुहुन्छ । ‘साथीभाइसँग डन्डिबियो खेलेर खुब रमाइलो गरिन्थ्यो । १४ वर्षको छँदा नौ वर्षिया केटीसँग विवाह भएको थियो । विवाह भएको ६ वर्षपछि मात्रै श्रीमती र मबीच बोलचाल शुरु भएको हो । त्यो बेला सानै उमेरमा विवाह गरिदिने चलन थियो । आफ्नै जीवनका देखाइ र भोगाइ सम्झिँदा अहिले आफैँलाई कथाजस्तो लाग्छ,’ उहाँ विगतमा हराउन थाल्नुभयो ।

    प्रस्तुति : रोशन क्षेत्री गाउँले

    साभार : आजको शिक्षा साप्ताहिक