•   प्रअलाई पूर्ण अधिकार देऊ, काम गर्न नसक्नेलाई हटाऊ
    ()

  •  

     

    विष्णुप्रसाद पनेरु

    प्रधानाध्यापक
    कंकाली मावि, पुरानो नैकाप
    काठमाडौं


    कंकाली माविको बहिरबाट हेर्दा देखिने विशेषताहरु के–के हुन् ?

    यो विद्यालय नमूना विद्यालयमा छनोट भएको छ । प्राविधिक तथा व्यवसायिक धारतर्फ कम्प्यूटर विज्ञान विषयको पठनपाठन हुँदै आएको छ । सामुदायिक र संस्थागत विद्यालयबीचको खाडल अन्त्य गर्न भन्दै अंग्रेजी माध्यम लागू गरेका छौं । नृत्य, कला र संगीतलाई सिकाइसँग जोड्ने प्रयास गर्दै आएका छौं । कमजोर विद्यार्थी पहिचान गरी उनीहरुका लागि विशेष उपचारात्मक कक्षाको व्यवस्था गर्दै आएका छौं । यी विशेषताका कारण कंकाली माविलाई अन्य सामुदायिक विद्यालयभन्दा भिन्न बनाउन सकेका छौं जस्तो लाग्छ । शैक्षिक, भौतिक र व्यवस्थापकीय सुशासनमा हामी अब्बल छौं ।

    यीबाहेक अन्यभन्दा फरक अभ्यासहरु के–के छन् ?

    हामीले विद्यार्थीलाई प्रश्नपत्र पहिल्यै दिएर परीक्षा सञ्चालन गर्ने गर्छाैं । परीक्षा हलमा पनि हामी गार्ड बस्दैनौं । विद्यार्थीले प्रश्नपत्र पहिल्यै हेर्न पाउँछन्, त्यसबारे पर्याप्त अनुसन्धान गर्न पाउँछन् । त्यति मात्रै होइन, परीक्षामा विद्यार्थीले किताब र नोट कपिसमेत हेर्न पाउँछन् । हामीले प्रश्नपत्र बनाउँदा सिर्जनात्मक र विशेष बनाउने गर्छौं । त्यसको जवाफ किताबमा हुँदै हुँदैन । उनीहरुले खोजेर सिर्जना गरेर आफ्नै भाषामा दिनुपर्ने खालका हुन्छन् । परीक्षामा चिटिङ गर्न नसकोस्, खोजेर लेख्ने बानी बसोस् भनेरै हामीले यसो गरेका हौं । यसबाट हामीलाई कमजोर विद्यार्थी पहिचान गर्न सहयोग मिल्छ र उनीहरुका लागि छुट्टै बिहान–बेलुका उपचारात्मक कक्षा सञ्चालन गर्र्छौं । हाम्रो विद्यालय काठमाडौंमा भएपनि भौगोलिक रुपमा केही अफ्ठ्यारो ठाउँमा डाँडाको टुप्पोमा छ । विद्यार्थीका लागि आउनजान असहज नहोस् भनेर स्कूल बसको व्यवस्था गरेका छौं । स्मार्टबोर्डबाट पठनपाठन गर्दै आएका छौं । सिकाइलाई सूचना प्रविधिसँग जोड्ने प्रयास गरेका छौं । स्कूल आएपछि पढिरहने वातावरणका लागि बालमैत्री अवस्था सिर्जना गरेका छौं । सजायरहित शिक्षण सिकाइ, विद्यार्थी आफैं उत्पेरित होउन् भनेर विभिन्न क्लबहरु बनाइदिएका छौं । परीक्षा प्रणाली सुधार, रुटिङ व्यवस्थापन विद्यार्थीकै सल्लाह अनुसार अनुकुल हुनेगरी व्यवस्थापन गरिदिएका छौं । एसेम्बलीमा सिकाइका कुराहरु प्रस्तुत गर्ने, एकाइ र मासिक परीक्षा लिने, त्यसको नतिजा अभिभावकलाई बोलाएर मात्रै दिने यी अभ्यास अन्यभन्दा केही भिन्न हुन कि भन्ने हाम्रो ठम्याइ रहेको छ ।

    शैक्षिक गुणस्तरको अवस्था कस्तो छ ?

    शैक्षिक गुणस्तरको अवस्था एकदमै राम्रो छ । विद्यालयमा करिव ४०० विद्यार्थी छन् । जसमा ७२ जना विद्यार्थी कमजोर अवस्थामा रहेको भनी पहिचान गरिएको छ भने ८० प्रतिशत बढीको सिकाइ उपलब्धि उत्कृष्ट पाएका छौं । विगत दुई वर्षको एसइइ र एसएलसी परीक्षाको नतिजालाई हेर्ने हो भने ९९.०९ प्रतिशत नतिजा रहेको अवस्था छ । नेपाल सरकारले पनि वर्षेपिच्छे उत्कृष्ट विद्यालय भनेर सम्मान गरेकै अवस्था छ ।

    विद्यालय राम्रो बनाउनका लागि सुधारका प्रयासहरु के–के भएका छन् ?

    हाम्रो विद्यालयको शिक्षक समूह केही गरौं भन्नेखालको मिहिनेती र क्रियाशिल छ । हाम्रो विद्यालयले २०५१ सालदेखि एसएलसी परीक्षामा सहभागी हुन थालेको हो । बीचमा एकदुई वर्ष ५० प्रतिशत नतिजा आएपनि बाँकी समय उत्कृष्ट नतिजा नै आएको अवस्था हो । हामी विगतदेखि नै कमजोर विद्यार्थीहरुको पहिचान गर्छौं र उपचारात्मक कक्षा सञ्चालन गर्छौं । जसले कमजोर विद्यार्थीको अवस्थामा सुधार आउने गर्छ । त्यसो त, एकाइ र मासिक परीक्षा सञ्चालन गर्ने गरिएको छ । जसले विद्यार्थीलाई परीक्षाप्रति अभ्यस्त बनाउँछ । विद्यार्थीका लागि मनोपरामर्शका कक्षाहरु बढीभन्दा बढी दिने गरेका छौं । भर्ना अभियानलाई प्रभावकारी बनाउन अभिभावक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएका छौं । अभिभावकलाई बोलाएर विभिन्न गोष्ठीहरुमा सहभागी गराउने र त्यसको समयवापत केही नगद सुविधा दिनेसमेत व्यवस्था गरिएको छ । आगामी वर्ष विद्यार्थीको संख्यामा भारी वृद्धि हुने अपेक्षा राखेका छौं ।

    कंकाली मावि नै किन ?

    विद्यार्थी संख्या बढाउने, स्कूल बसहरु थप्ने, कक्षा ५ सम्म निःशुल्क खाजाको व्यवस्था गर्ने, नाचगान र सास्कृतिक कक्षाहरुको शुरुवात गर्ने योजना बनाएका छौं । यी सब यही वर्षदेखि लागू गर्ने तयारीमा हामी छौं । गरीब परिवारका बालबालिका घरमै गाडी लिन आउने, निःशुल्क खाजा खानपाइने, अंग्रेजी बोल्न पाइने, नाचगान गर्न पाइने, थोरै किताब बोके पनि हुने, अडियो भिजुवेल कक्षामा हेरेर सिक्न पाइने, बालमैत्री वातावरणमा रमाउन पाउने, शारीरिक दण्ड सजाय नहुने भएपछि अलिकति मोटिभेसन हुन्छन कि भन्ने हाम्रो अपेक्षा रहेको छ । यसको परिणाम राम्रै देखिएको छ ।

    शिक्षक व्यवस्थापन कसरी भइरहेको छ ?

    विषयगत शिक्षक नभएपनि शिक्षक दरबन्दी पर्याप्त छ । जस्तो कि मावि तहमा नेपाली दरबन्दी नै छैन । हामीले योग्यता पुगेका तल्लो तहका शिक्षकलाई माथिल्लो तहमा पढाउन लगाएर थप सुविधा दिने गरेका छौं । विद्यालय अलि विकटमा रहेकाले शिक्षकहरुलाई पहिलो कक्षा लिनेले अन्तिम लिन नपर्ने र अन्तिम कक्षा लिनेले पहिलो कक्षा लिनु नपर्ने व्यवस्था मिलाएका छौं । खाली समयमा त्यसै बस्न नपाउने दैनिक पाठ योजना र लेसन प्लान बनाउनुपर्ने व्यवस्था गरिएको छ । हरेक दिन गृहकार्य दिएर नियमित परीक्षण गर्ने पर्ने व्यवस्था मिलाएका छौं । अंग्रेजी माध्यम २०६९ मा शुरु गर्दा रिक्त दरबन्दीमा अंग्रेजी माध्यमका शिक्षक नियुक्ति ग¥यौं भने भएकाहरुलाई विभिन्न तालिम दियौं । विभिन्न पुस्तक, सिडी, सेमिनार र तालिमहरु सञ्चालन ग¥यौं । हरेक वर्ष अन्तिम परीक्षा सकिएपछि १५ दिन शिक्षण सिकाइ सुधार तालिम सञ्चालन गर्दै आइरहेका छौं । शिक्षकहरुले पनि मिहिनेत गरे । अंग्रेजी माध्यम लागू गर्दैमा सबैथोक सुधार हुन्छ भन्नेमा मेरो विमति छ तर यसले गुणस्तर बढाएको भने पक्कै छ । गएको एसइइ परीक्षामा बि भन्दा तल कसैको आएन । सरकारले पुराना अस्थायी शिक्षक हटाउने योजना ल्याएको छ । त्यसो भए त्यहाँ अंग्रेजी जानेका शिक्षक भित्राउन पाए उपलब्धि अझ बढ्नेथियो ।

    शिक्षकहरुलाई सरकारले दिएको तालिम कत्तिको प्रभारवकारी भएको पाउनुभएको छ ? के त्यो कक्षाकोठामा पुगेको छ ?

    छैन, प्रभावकारी पनि हुन सकेको छैन । पूरै कक्षाकोठामा पनि पुग्न सकेको छैन । युनेस्कोले केही दिन पहिले एउटा प्रतिवेदन सार्वजनिक गरेको थियो । जहाँ ८६ प्रतिशत शिक्षकले तालिम लिएको उल्लेख छ । तर, ८६ प्रतिशत तालिम कक्षाकोठामा पुग्न सकेको जस्तो मलाई लाग्दैन । हामीले पाएका तालिम यदि कक्षाकोठामा पुग्ने हो भने सार्वजनिक शिक्षा अझ राम्रो हुने थियो । तालिमलाई फितलो रुपमा लिइयो । त्यसलाई कार्यसम्पादन मूल्याङ्कनमा जोड्ने काम भएन । फलोअप पनि भएन । शैक्षिक सामग्री पनि बनाउन जानेनन् । कक्षाकोठामा सिकेर आएका कुराहरु अभिव्यक्त पनि भएनन् । सामुदायिक विद्यालयमा अध्ययनशील र मिहिनेती शिक्षकहरु पनि भएनन् । भोलि म के पढाउदैछु ? क्रियाकलाप के गर्ने ? कुन सिकाइ सामग्री प्रयोग गर्ने ? कस्तो योजना बनाउने ? यी कुराको अभाव रह्यो । जसले गर्दा उपलब्धि कमजोर भयो । अब तालिम दिँदा पहिले शिक्षकलाई मोटिभेसन हुनेखालको दिनुप¥यो । शिक्षक मोटिभेस नभइ तालिमले मात्रै केही नहुने रहेछ । यो नमूना विद्यालय पनि भएकाले हरेक शिक्षकलाई पाठयोजना बनाउनैपर्ने नियम बनाइएको छ । शिक्षकलाई ट्यावलेट, पेनड्राइन दिएका दिइएको छ । उहाँहरुले त्यसमा एक वर्षको योजना बनाउनै पर्छ । आवश्यक सामग्री टिपाइ दिएपछि हामी किनेर ल्याइदिन्छौं । शिक्षकलाई विद्युतीय हाजिर गर्ने गरेका छौं ।

    स्रोत व्यवस्थापन कसरी भएको छ ?

    सबै नेपाल सरकारकै अनुदान र स्रोत हो । नमूना विद्यालयका लागि नेपाल सरकारलाई हामीले गुरुयोजना बनाएर पेश गरेका छौं । त्यो कार्यान्वयन भए त्यो स्रोत पर्याप्त हुन्छ । वास्तवमा सामुदायिक विद्यालयहरुमा स्रोतको कमी होइन, कार्यान्वयनको हो । स्रोतले सुधार हुने कुरा म मान्दिनँ ।

    सामुदायिक विद्यालयको अवस्था खस्कँदै जानुको कारण के हो जस्तो लाग्छ ?

    पढेलेखेका अभिभावकले पटक्कै विश्वास नगर्ने, शिक्षक स्वयंले विश्वास नगरेको अवस्था छ । नेपाल सरकारको तलव खाने छोराछोरी निजीमा पढाउने परिपाटी छ । हामी आफैले विश्वास नगरेपछि हामीलाई विश्वास गर्ने निम्न आय भएका गरीब अभिभावकहरुले मात्रै विश्वास गरेको अवस्था छ । राम्रा विद्यार्थी छानेर निजीले लैजान्छ । राम्रा विद्यार्थी छानेपछि नतिजा राम्रै हुनेभयो । हामीले गरीब निम्न आयस्रोत भएका र निजीले छानेर बाँकी रहेका विद्यार्थी जम्मा गरेर पढाउनुपर्ने अवस्था छ । कमजोर कमजोर विद्यार्थी जम्मा गरेपछि उत्कृष्ट नतिजा कसरी आउँछ ? निजीले हाम्रा जस्ता विद्यार्थी भर्ना गरेर उत्कृष्ट नतिजा ल्याएर देखाउन् न ?

    एउटा विद्यालय राम्रो बनाउन प्रधानाध्यापकको कस्तो भूमिका रहन्छ ?

    एउटा विद्यालय राम्रो बनाउनका लागि प्रधानाध्यापकको भुमिका अहम् हुने गर्छ । जुन विद्यालयमा अलिकति सक्रिय प्रअ हुनुहुन्छ त्यो विद्यालयको स्थिति सुदृढ भएको मैले पाएको छु । जति नै राम्रो गाडी ल्याएपनि डाइभर राम्रो नभए चक्का, इञ्जिन, सिट राम्रो हुँदैमा गन्तव्यमा नपुग्न पनि सक्छ । एउटा प्रधानाध्यापक सक्षम, समाजमा घुल्न सक्ने, जुझारु, केही गरौं भन्ने भावना भएको, समाजप्रति आफ्नो जिम्मेवारी बहन गर्न सक्ने हुन जरुरी छ । हाम्रो विद्यालय राम्रो विद्यालय बनाउन लालायित, रोलमोडल प्रअ भएको खण्डमा तमाम् सामुदायिक विद्यालयहरुको अवस्था सुदृढ हुनेमा दुईमत नै छैन । कुशल प्रअ भएनै विदालय राम्रो हुने हो । त्यसका लागि प्रअ नै पहिले राम्रो हुन भने जरुरी छ ।

    शिक्षकले राजनीति गरेकाले सामुदायिक विद्यालयको स्तर खस्किएको हो भन्ने आवाज चर्काे छ, यसमा कति सहमत हुनुहुन्छ ?

    शिक्षकले राजनीति गरेरै विद्यालयको स्तर खस्किएको एकाध घटना त होलान् । तर, म पनि नेपाल राष्ट्रिय शिक्षक संगठनको काठमाडौं जिल्ला अध्यक्ष छु । मैले पढाउने विद्यालय काठमाडौं जिल्लाकै मोडल विद्यालय छ । मैले पढाउने विद्यालय प्राविधिक विद्यालय, अंग्रेजी माध्यमको विद्यालय, ९९.०९ सिकाइ उपलब्धि भएको विद्यालय । बिग्रियो कसरी भनौं ? एकाध घटनाहरु भए होलान तर सबैलाई एउटै घानमा राखेर हेरिनु हुन्न । संगठनका अध्यक्ष बाबुराम थापाको रुद्र्रायणी, एण्टोका अध्यक्ष घनश्याम पाठकको कालिका, युएण्टोका नेताहरु पूर्ण दुवाडीको नारायणी नमूना, कुलप्रसाल खतिवडाको वरुणेश्वर मावि उत्कृष्ट छ । हामी राजनीतिक नेता होइनौं, शैक्षिक नेता हौं ।

    सरकारले सामुदायिक विद्यालय रुपान्तरणका लागि के गर्नुपर्ला ?

    सरकारले सामुदायिक विद्यालयका पक्षमा जतिसुकै राम्रा नारा घन्काएपनि व्यवहार सकारात्मक देखाएको छैन । म ३३ वर्ष पुरानो प्रअ भएको हैसियतमा के भन्छु भने सरकारको बोलाइ र गराइमा समानता छैन । शिक्षा सरकारको प्राथमिकतामा पर्न सकेको छैन । बजेट एकदमै कम छ । अनुगमन र मूल्याङ्कन अभाव छ । सर्वप्रथम सरकारको प्रमुखतामा शिक्षा पर्नुप¥यो । पर्याप्त बजेट विनियोजन हुनुप¥यो । नमूना र प्राविधिक विद्यालयहरु स्थानीय तहले होइन, केन्द्र सरकारले नै हेर्नु पर्छ ।

    शिक्षा सुधार नहुनुमा सरकारको नीतिमा समस्या भयो कि नियतमा ?

    शिक्षाको नीति फितलो भयो । नियत जागिरे भयो । नीति त धेरै राम्रा आए, कार्यान्वयनमा आएन । प्रअलाई शिक्षकको एक ग्रेड थप्ने, काट्ने अधिकार पनि छैन । रातो मसीले चिन्ह लाउने अधिकार पनि छैन । अधिकारबिहीन प्रअको परिकल्पना गरिएको छ । प्रअलाई सरकारले विश्वास गर्नुप¥यो । दण्ड र पुरस्कारको व्यवस्था कडाइपूर्वक लागू गर्नु पर्छ । काम गर्न नसक्ने प्रअलाई जिम्मेवारीबाट हटाउनु पर्छ । करार सम्झौता गर्ने नीति छ, खोई कार्यान्वयन ? तालिम नभएका शिक्षक भएका निजी विद्यालय किन उत्कृष्ट ? फितलो अनुगमन, अधिकारबिहीन प्रअको व्यवस्थापनमा सुधार हुनु पर्छ । अनि, सामुदायिक विद्यालय अब्बल बन्छन् ।

    प्रस्तुति : रोशन क्षेत्री गाउँले

    साभार : आजको शिक्षा साप्ताहिक