• विद्यामन्दिरको सफलता: समुदायको सहयोग, कुशल नेतृत्व
    ()



  • अछाम । तीनतिर हरियाली जंगलको बीचमा प्रशस्त भवन, ठूलो मैदानको चारैतिर पर्खालले घेरिएको कम्पाउन्ड, मनमोहक वातावरण। बाहिरबाट हेर्दा झट्ट देखिने विद्यामन्दिरको दृश्य जति रमणीय छ त्यस्तै विद्यालयको भित्री अर्थात् शैक्षिक वातावरण पनि लोभलाग्दो छ।

    माध्यमिक तहसम्मको पढाइमा जिल्लाकै उत्कृष्ट स्थान ओगट्र्दै आएको दुर्गम अछामको विनायकस्थित विद्यामन्दिर मावि पछिल्लो समय प्राविधिक शिक्षालयको रूपमा समेत आफ्नो पहिचान बनाउन सफल भएको छ।

    माध्यामिक तहको उत्कृष्ट शिक्षा प्रदान गरेर मुलुकमा थुप्रै दक्ष जनशक्ति उत्पादन गरिसकेको विद्यामन्दिरले पछिल्लो समय कृषि प्राविधिकतर्फ दक्ष जनशक्ति उत्पादन गर्न सफल भएको छ। प्राविधिक शिक्षा पढ्न चाहनेहरूका लागि जिल्ला बाहिर जानुपर्ने केही समय पहिलेको बाध्यता पनि हटेको छ।

    कृषि प्राविधिक पढ्नका लागि स्थानीयलाई जिल्ला बाहिर जानुपर्ने बाध्यता त हटेको छ नै उक्त विषय पढ्नका लागि छिमेकीलगायत टाढाटाढाको जिल्लाबाट विद्यार्थी विनायक आउन थालेका छन्। २०६७ सालबाट जिल्लामै पहिलो पटक प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट १५ महिने कृषि जेटीए विषय अध्यापनको स्वीकृति पाएको विद्यालयले २०७१ बाट २९ महिने हुँदै चालू शैक्षिक सत्रबाट १८ महिने कोर्स अध्यापन गराउँदै आएको छ।

    यस अवधिमा एक सय ४९ विद्यार्थी पढाइ सकेर गइसकेका छन्। सोही तहमा ७४ विद्यार्थी हाल अध्ययनरत छन्। प्राविधिक कक्षा सञ्चालनका लागि चाहिने भौतिकलगायत अन्य स्रोतको राम्रो उपलब्धता भएकै कारणले विद्यामन्दिरले देशभर आठवटा कोटा मध्यमा स्वीकृति पाएको पूर्वप्राचार्य सुरतबहादुर विष्टले जानकारी दिनुभयो। प्राविधिक शिक्षाप्रतिको बढ्दो आकर्षण र विद्यामन्दिरले दिने गुणस्तरीय पढाइकै कारणले बर्सेनि आवेदन दिनेको संख्या बढ्दै गएको तथ्यांकबाट देखिन्छ।

    विद्यार्थीको एक शैक्षिक सत्रमा ४० विद्यार्थीको कोटा रहेकोमा एक सय ५० देखि दुई सयसम्म विद्यार्थी प्रवेश परीक्षामा सहभागी हुने प्रधानाध्यापक वीरबहादुर शाहीले जानकारी दिनुभयो। ७९ प्रतिशत उत्तीर्णदर रहेको कृषि जेटीए विषयको पढाइको स्तर राम्रो भएकैले विद्यालयले सीटीईभीटीअन्र्तगत नै तीनवर्षे आईएस्सी एजी अर्थात् बाली विज्ञान विषयको पढाइ पनि सञ्चालनमा ल्याएको छ। हाल तेस्रो वर्षमा चालू रहेको बाली विज्ञान विषयमा एक सय तीन विद्यार्थी अध्ययनरत छन्।

    १८ महिने कृषि जेटीएमा सबै खर्च सरकारले नै व्यहोर्ने भए पनि तीनवर्षे बाली विज्ञान विषयको पढाइ खर्च पूरै परीक्षार्थीले व्यहोर्नु पर्दछ। कृषि प्राविधिकतर्फको बढ्दो आकर्षणसँगै दुवै तहमा अध्ययन गर्नका लागि अछामबाहेक बाजुरा, डोटी, डँडेलधुरा, कैलाली, सुर्खेत, बाँके, बर्दिया, दैलेख, रुकुम, रोल्पा, हुम्ला, जुम्ला, कालीकोट, प्यूठान जिल्लाबाट विद्यार्थी आएका छन्। कृषि प्राविधिकतर्फ विद्यार्थीको आकर्षण बढ्दै गएकाले पढाइलाई थप गुणस्तरीय बनाउन विद्यालयलाई चुनौती थपिएको प्रअ शाहीले बताउनुभयो।

    कृषितर्फको १८ महिने र तीनवर्षे कोर्र्स अध्यापन गराउनुका साथै विद्यालयले यसै शैक्षिक सत्रबाट १८ महिने भेटेनरी जेटिएको पढाइ पनि सञ्चालन गर्ने सम्पूर्ण तयारी पूरा भइरहेको उहाँले जानकारी दिनुभयो। विद्यालयले दुई वर्ष पहिले तयार गरेको पञ्चवर्षीय योजनामा बीएस्सीएजी विषयको पढाइ पनि सञ्चालन गर्ने राखेको छ। केही वर्षमै उक्त तहको पढाइका लागि पनि आवश्यक तयारी भइरहेको प्रअ शाहीले जानकारी दिनुभयो। विद्यालयले कक्षा ९ बाटदेखि नै कृषि विषयको पढाइ सञ्चालन गरिरहेको छ।

    विद्यामन्दिरबाट उत्पादित अधिकांश कृषि प्राविधिकहरू कोही सरकारी तथा गैरसरकारी संघसस्थामा जागिर गरिरहेका छन् भने कोही कृषि पेसालाई व्यावसायिक बनाउन लागिपरेका छन्। जिल्ला कृषि विकास कार्यालयले गत वर्ष र यस वर्ष गरी २० जना कृषि प्राविधिकलाई करारमा नियुक्त गरेकोमा एक जनाबाहेक सबै अछामकै र विद्यामन्दिरमै अध्ययन गरेकाहरू रहेको वरिष्ठ कृषि विकास अधिकृत विष्णुहरि देवकोटाले जानकारी दिनुभयो। उहाँका अनुसार विद्यामन्दिरको पढाइको स्तर मध्यमस्तरको छ। साँझ बिहान घरकै माना खाएर कृषि प्राविधिक पढ्न पाउँदा निकै सजिलो भएको विनायककै स्थानीय महाजित विकले सुनाउनुभयो। उहाँ कृषि सेवा केन्द्रमा करारमा जागिरे हुनुहुन्छ।

    प्राविधिक, अप्राविधिक र विशेष शिक्षा गरी हाल विद्यामन्दिरमा एक हजार दुई सय २४ विद्यार्थी अध्ययनरत छन्। ३३ शिक्षक र आठ कर्मचारी गरी ४१ कार्यरत छन्। विद्यालयको तथ्यांक हेर्ने हो भने यसै विद्यालयबाट एसएलसी उत्तीर्ण गरेकामध्ये आठ इन्जिनियर, चार डाक्टर, पाँच प्राध्यापक, पाँच प्रहरी अधिकृत तथा १५ बढी विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रको उच्च ओहोदामा कार्यरत छन्।

    शिक्षकलगायत अन्य क्षेत्रमा कार्यरतको त कुनै तथ्यांक नै छैन। प्रअ वीरबहादुर शाही पनि यसै विद्यालयबाट एसएलसी उत्तीर्ण हुन् भने २०४९ सालको एसएलसी परीक्षामा जिल्ला प्रथम रामबहादुर शाही पनि यसै विद्यालयका विद्यार्थी हुन्। निमावि तहको विज्ञान विषयका स्थायी शिक्षक शाही पनि अहिले यसै विद्यालयमा कार्यरत छन्। यहाँ कार्यरत शिक्षकमध्ये आठजना यसै विद्यालयका पूर्वविद्यार्थी हुन्। २०४९ देखि २०५५ सम्म लगातार एसएलसी परीक्षामा जिल्ला प्रथम भएको इतिहास विद्यामन्दिरसँग छ।

    समुदायको बढ्दो लगाव
    विद्यालयप्रति समुदायको बढ्दो लगावकै कारणले विद्यामन्दिर साँच्चै नामजस्तै विद्याको मन्दिर बन्न सफल भएको हो। २०१६ सालबाट अस्तित्वमा आएको एउटा शैक्षिक संस्था समुदायको आर्थिक, भौतिक र भावनात्मक लगानीकै कारणले आज नमुना शैक्षिक सस्था बन्न पुगेको छ। सुरुमा पञ्चदेवल प्राविका नामले स्थापित विद्यालय २०२८ सालमा शारदा निमावि हुँदै २०३५ सालबाट मावि भएको हो।

    २०५२ सालमा अछामकै पहिलो उच्चमाविको सम्बन्धन पाएको विद्यामन्दिर अहिले यस क्षेत्रकै नमुना शैक्षिक संस्था बन्न पुगेको छ। विद्यामन्दिरलाई यो उचाइमा पुर्‍याउन भौतिक रूपमा विनायक र आसपासका स्थानीयको लगानी भए पनि आर्थिक रूपमा सिंगो अछामी तथा स्वदेशी, विदेशी धेरै व्यक्ति र संघसंस्थाको लगानी छ।

    विद्यालयका दुई पटक गरी करिब २२ वर्षसम्म व्यवस्थापन समितिको अध्यक्ष भएर जिम्मवारी सम्हालिसक्नु भएका ७४ वर्षीय जगन्नाथ अधिकारी सबैभन्दा लामो समय अध्यक्ष हुनुभएको छ। विद्यालय संस्थापकमध्येका एक अधिकारीकै नेतृत्वकालमा विद्यालयले मावि र उमाविको सम्बन्धन प्राप्त गरेको हो। जब २०३५ सालमा अधिकारी प्रधानपञ्च हुनुहुन्थ्यो त्यहीबेला विद्यालय व्यवस्थापन समितिको पनि अध्यक्ष हुनुहुन्थ्यो।

    मावि तह स्वीकृत गराउनका लागि एक दिन जिल्ला शिक्षा कार्यालय जानुभयो। जिशिअ सानुबाबु खत्रीले भौतिक संरचना नै नभएको विद्यालयलाई मावि तह सञ्चालनको अनुमति दिन नसकिने भन्दै एक लाख रुपैयाँ धरौटी राख्न सकेमात्र स्वीकृत दिने भनेर फर्काइदिनुभयो। जसरी पनि माविको स्वीकृत लिएरै छोड्ने अठोटका साथ गाउँ फकिएर अधिकारीले एउटा जुक्ति निकाल्नु भयो।

    त्यो के थियो भने गाउँभरिका महिलाका गहना संकलन गर्ने र लिएर धरौटी राख्न भनी जिशिअलाई बुझाउने। गर्न पनि त्यही गर्नुभयो। गाउँभरका महिलाका गहना संकलन गरेर एक झोलामा हालेर अधिकारी जिशिअकहाँ जानुभयो। ‘जिशिले झोलाभरि गहना देखेपछि पर्दैन पर्दैन गहना फिर्ता लगेर जानुहोस् तपाईंप्रति विश्वास छ भौतिक संरचना निर्माण गर्न सक्नुहुन्छ भन्दै मावि तहको स्वीकृति प्रदान गर्नुभयो’ अधिकारीले त्यो बेलाको स्मरण गर्नुभयो। स्वीकृत पाएलगत्तै प्रत्येक वडालाई एउटा भवन निर्माणको जिम्मा लगाएर रातदिन भवन निर्माण र मैदान सम्याउने काममा स्थानीयले अविस्मरणीय कार्य गरेको उहाँले सुनाउनुभयो।

    अधिकारी नै अध्यक्ष भएको बेला २०५२ सालमा उच्च माविको सम्बन्धन प्राप्त गर्नका लागि अधिकारीसहितको टोली काठमाडौं गयो। तर सम्बन्धन प्राप्त गर्नका लागि धरौटी राख्न चाहिने नगद चार लाख रुपैयाँ नहुँदा समस्या भयो। पछि अछामकै भैरवबहादुर बोहोराको काठमाडौंमा रहेको घर बैंकमा धरौटी राखेर चार लाख कर्जा लगेर त्यही रकम धरौटी राखेर उमावि सम्बन्धन प्राप्त गरेको अधिकारीले जानकारी दिनुभयो। आफूले जन्म दिएको शैक्षिक संस्था नुमना बन्न सफल भएकोमा अधिकारी निकै खुसी हुनुहुन्छ।

    कुशल नेतृत्व
    विद्यामन्दिरलाई नमुना शैक्षिक सस्था बनाउने कार्यमा महत्वपूर्ण योगदान पुर्‍याउनेमध्येमा पर्नुहुन्छ, सुरतबहादुर विष्ट। तीन पटक गरी करिब २० वर्ष विद्यालयमा प्रधानाध्यापक भएर सेवा गर्नुभएका विष्ट गत वर्षमात्र सेवानिवृत्त हुनुभएको छ।

    इमानदारितापूर्वक काम गरेकै कारणले समुदायले पनि विद्यालयप्रति अपनत्व ग्रहण गर्दा शैक्षिक प्रगति हासिल गर्न सकिएको उहाँले सुनाउनुभयो। कुनै पनि आर्थिक गतिविधिमा आफू प्रत्यक्ष संलग्न नभएर अरूलाई नै जिम्मा दिने र निर्देशितमात्र गर्ने काम विष्टले गर्नुभयो।

    स्थानीयको उल्लेखनीय साथ र सहयोगकै कारणले विद्यामन्दिरको नाम चलेको सुनाउँदै विष्टले समयसमयमा शिक्षक विद्यार्थी तथा शिक्षक अभिभावकबीचमा अन्तरसंवाद गर्नाले काम शैक्षिक उपलव्धि हासिल गर्न थप मद्दत पुगेको सुनाउनुभयो।

    शिक्षकलाई पढाइप्रति बढी जिम्मेवारी बनाउन आफूले प्रावि र निमावि दुवै तहमा इन्चार्ज तोकेर प्रत्यक्ष निगरानी गरेको समेत उहाँले सुनाउनुभयो। उहाँकै कार्यकालमा विद्यालयको भौतिक एवम् शैक्षिक गुणस्तर सुधारका लागि सीटीईभीटीबाट जोडकोषअर्न्तगत करिब दुई करोड, जीटीजेटबाट पर्खाल निर्माणका लागि ४० लाखबराबरको नगद सहयोगका साथै थुप्रै सानाठूला आर्थिक सहयोग विद्यालयले प्राप्त गरेको छ। अन्नपूर्णपोष्ट दैनिकमा खबर छ ।