• बिकेन विश्वभाषा क्याम्पसको शिक्षा
    ()

  • काठमाडौँ  । विश्वमा बोलिने लोकप्रिय भाषाहरू पठनपाठन हुने देशको एक मात्र विश्वभाषा क्याम्पस परम्परा मात्र धानिरहेको छ । पाठ्यक्रम समयानुकूल परिमार्जन हुन नसक्दा क्याम्पसको यो अवस्था आएको हो ।

    यहाँ अंग्रेजी, चिनियाँ, जापानी, कोरियन, फ्रेन्च, स्पेनिस, अरबी, इटालियन, जर्मन र डच भाषामा पढाइ हुन्छ । तीमध्ये सबैभन्दा बढी अंग्रेजीका विद्यार्थी हुन्छन् । यसको आधारभूत र लेखन गरी दुई तह पढाइन्छ । त्यसपछि चिनियाँ बढी पढिन्छ । अहिले करिब ५ सयले यो भाषा पढदै छन् । नेपालस्थित चिनियाँ दूतावासले चार शिक्षक खटाएको छ । केही वर्षयता अरबी पढ्नेको संख्या भने बढेको छ । तर कोरियन भाषा सिकेर अहिलेसम्म हजारौं नेपाली ईपीएसमा कोरिया गए पनि कसैले पनि विश्वभाषामा कोरियन पढेनन् ।

    कोरिया गएर प्रशस्त पैसा कमाइ हुने भएपछि हजारौं युवाले कोरियन भाषा सिकिरहेका छन् । कोरियन भाषा सिकाउने निजी संस्थाहरू छन् । निश्चित अवधिका लागि एक युवाले कम्तीमा १२ हजार रुपैयाँ शुल्क बुझाउँछन् । तथ्यांकअनुसार सन् २००८ देखि २०१७ सम्ममा ईपीएस पास गरेर ४८ हजार ८ सय १९ जना नेपाली युवा दक्षिण कोरिया गएका छन् । तर तीमध्ये कसैले पनि विश्वभाषामा कोरियन सिकेनन् । ‘ईपीएस कोर्स र हाम्रो (विश्वभाषाको) कोर्स मिल्दैन,’ क्याम्पस प्रमुख भीमनाथ रेग्मी भन्छन्, ‘हाम्रो कोर्स बढी एकेडेमिक र व्याकरणमा केन्द्रित छ । ईपीएसमा त्यस्तो छैन ।’ विश्वभाषा क्याम्पसमा पढाइने प्राज्ञिक पाठ्यक्रम (एकेडेमिक कोर्स) होइन । ‘नन एकेडेमिक कोर्स’ का रूपमा भाषा सिकाउने मात्रै हो । खासगरी दैनिकी चलाउन सिकाइन्छ । भाषा बोलचाल र सम्बन्धित क्षेत्रको संस्कृति जान्न पनि सिकिन्छ ।

    यस्तै, पुसबाट सुरु भएको सेसनमा डच भाषा पढ्न कुनै विद्यार्थी आएनन् । विदेशीलाई नेपाली, संस्कृत र नेपाल भाषा (नेवारी) पढाइन्छ । यो वर्षबाट पालि भाषा (बुद्ध वचन संगृहीत भाषा) पढाउने तरखर भइरहेको क्याम्पस प्रमुख रेग्मी बताउँछन् । ५ विदेशी पालि भाषा सिक्दै छन् । पढाइ सुचारु भए पनि त्रिवि डिन कार्यालयले स्वीकृति भने दिइसकेको छैन । त्रिवि रेक्टर प्रा. सुधा त्रिपाठी समयानुकूलपाठ्यक्रम परिमार्जन गर्न नसक्नु कमजोरी रहेको बताउँछिन् । ‘इन्स्टिच्युटले कुनै एउटा भाषा पढाउँछन्, विश्वभाषामा धेरै भाषा पढाउँदा व्यवस्थापनमाचुकेको हो,’ उनले भनिन्।

    कान्तिपुरमा खबर छ ।