• गिजुभाइको बालकथाः चलाख पाठो
    ()

  • -गिजुभाइ

    सन् १८८५ मा जन्मिएका गिरिजाशङ्कर भगवानजी बधेका अर्थात् गिजुभाई र उनका समकालीन महात्मा गान्धीको जन्म र कर्मभूमि भारतको गुजरात प्रान्त रह्यो । भारतीय समाजमा उनीहरूले आ–आफ्नो क्षेत्रमा अद्वितीय योगदान गरे । युवा गान्धी पोरवन्दरबाट लण्डनहुँदै वकालत गर्न दक्षिण अफ्रिका पुगेका थिए भने तन्नेरी गिजुभाई वकालतको अनुभव हासिल गर्न पूर्वी अफ्रिका । गान्धीले स्वदेश फर्किएर अङ्ग्रेज शासनविरुद्ध अभियान शुरु गरे, त्यसनिम्ति अहिंसा र सत्याग्रहलाई रणनीतिका रूपमा अङ्गीकार गरे । उनी सफल भए, युगपुरुष बने । तीन वर्षको अफ्रिका प्रवासबाट फर्किएपछि गिजुभाईले करिब पाँच वर्ष कानुनको अध्ययन र अभ्यासमा मुम्बई नगरीमा बिताए । उनीभित्र सुषुप्त रहेको बालबालिकाप्रतिको मोहले उनलाई बालशिक्षाको क्षेत्रमा पु¥यायो । गुजरात, भावनगरको नवस्थापित विनय मन्दिर (हाईस्कूल)को प्रधानाचार्य बनेपछि शिक्षा–दर्शनको विशद अध्ययन गरे । स्वाध्ययनबाटै बालशिक्षाशास्त्री बने ।

    बालबालिकाको सम्मान, स्वतन्त्रता र अधिकारका पक्षमा जीवन आहुति गरेका गिजुभाईलाई कतिपयले ‘बालकका गान्धी’ समेत भन्ने गरेको पाइन्छ । हुन पनि, आधुनिक शिक्षाको दक्षिण एसियाली इतिहासमा बालबालिकालाई ठूलालाई जस्तै सम्मान गरिनुपर्छ र उनीहरूलाई पनि स्वतन्त्रता उत्तिकै प्यारो हुन्छ भनी वकालत गर्ने पहिलो व्यक्ति सम्भवतः गिजुभाई नै थिए ।

    चलाख पाठो

     

    एउटा पाठो थियो । एकचोटि ऊ मामाघरको हजुरआमासँग भेट गर्न घरबाट हिँड्यो । बाटोमा एउटा स्यालसँग उसको भेट भयो । स्यालले पाठोलाई भन्यो, ‘फुच्चे मने, म अब तँलाई खान्छु ।’

    पाठोले भन्यो : ‘मलाई हजुरआमाको घर जान देऊ । मोटो-घाटो बन्न देऊ । त्यसपछि खाए हुन्छ ।’

    स्यालले भन्यो : ‘कुरा त राम्रो गर्‍यौ ।’

    पाठो केही पर मात्र पुगेको थियो, बाटोमा एउटा गिद्ध भेटियो ।

    गिद्धले भन्यो, ‘तँलाई अब एकै गाँस पार्छु ।’

    पाठोले उसैगरी जवाफ दियो : ‘हजुरआमाको घर जान देऊ । मोटो(घाटो बन्न देऊ । त्यसपछि खाए हुन्छ ।’

    गिद्धले भन्यो: ‘कुरो ठीक हो ।’

    पाठो अगाडि बढ्यो । बाटोमा उसको भेट एउटा बाघसँग भयो ।

    बाघले गर्जँदै भन्यो :‘तयार हो, तँलाई अब खान्छु ।’

    पाठोले उसलाई पनि अरुलाई जस्तै बतायो ; ‘मलाई पहिले हजुरआमाको घर जान देऊ । मोटो(घाटो बन्न देऊ ।त्यसपछि खाए हुन्छ ।’

    बाघले भन्यो : ‘कुरो त साह्रै राम्रै हो ।’

    पाठो अगाडि बढ्दै गयो । बाटोमा फ्याउरो, गरुड, कुकुरलगायत धेरै जनावर भेटिए ।

    उसले सबैलाई एउटै कुरा बतायो : ‘हजुरआमाको घर जान देऊ । मोटो-घाटो बन्न देऊ । त्यसपछि खाए हुन्छ ।’

    यसरी सबैबाट बचेर त्यो पाठो मामाघर पुग्यो ।

    अनि हजुरआमासँग उसले भन्यो: ‘आमा, मलाई टन्न ख्वाउनुस् र मोटो बनाउनुस् । मैले बाटोमा आउँदा जनावरहरुलाई वचन दिएको छु । उनीहरुले मलाई खाने भनेका छन् ।’

    पाठोले धेरै खायो, पियो र मोटो-घाटो बन्यो । त्यसपछि उसले फेरि हजुरआमासँग भन्यो: ‘आमा, मेरो लागि छालाको एउटा ढोल बनाइदिनुस् । म त्यसमाथि बसेर गएँ भने बाटोमा कुनै पनि जनावरले मलाई चिन्दैनन् र खान पाउँदैनन् ।’

    हजुरआमाले पाठोको लागि एउटा गजबको ढोल बनाइदिनुभयो । ढोलभित्र बस्न मिल्ने गरी कपास पनि बिछ्याइदिनुभयो । त्यसपछि पाठो ढोलभित्र बस्यो । ढोललाई जोडसँग धक्का मार्दा ऊ गुड्दैगुड्दै अघि बढ्यो ।

    बाटोमा गरुड भेटियो । गरुडले उसलाई सोध्यो, ‘ए भाइ, कुनै पाठोलाई तिमी देख्यौ र ?’

    ढोलभित्र बसेको पाठो बोल्यो : ‘कुन पाठो ? तिमी को हौ ?

    हिँड् ए ढोल, डमडम गरी ..’

    यस्तो जवाफ दिँदै पाठो धेरै टाढा पुग्यो । अन्तमा पहिलेको स्यालसँग उसको भेट भयो । स्यालले पनि सोधिहाल्यो, ‘तिमीले कतै पाठोलाई देख्यौ र ?’

    भित्रबाट पाठो बोल्यो:‘कुन चाहिँ पाठो ? को हौ तिमी र ?

    हिँड् ए ढोल, डमडम गरी..।’

    स्यालले सोच्यो, ‘अरे ! यस्तो लाग्छ, पाठो त यही ढोलभित्र बसेको छ । यसलाई फोडूँ र पाठोलाई खपाखप खाइहालूँ ।’

    तर, यसैबीच पाठोको घर आइपुग्यो र ऊ फटाफट घरभित्र पसिहाल्यो ।

    स्याल ढोकाको छेउमा उभिएर हेरेको हेर्‍यै भयो ।

     

    एजेन्सीहरुको सहयोगमा