भक्तपुर । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरुका व्यवस्थापनका लागि भनेर विज्ञापन खुलाएपनि त्यहा सवै अस्थायी  शिक्षकहरु प्रतिष्पर्धा गर्न नपाउने भएका छन् ।

आयोगले शिक्षा ऐनमा भएको व्यवस्था अनुसार नै लाइसेन्स, शिक्षा विषय, तालिम नभएका र लिन राख्ने शिक्षकलाई परीक्षामा सहभागी गराउन नसकिएको स्पष्ट पारेको छ ।

शिक्षक आयोगका अध्यक्ष ताना गौतमले शिक्षा ऐनको दफा ११ (च) को (ख)मा तोकिएको योग्यता पुगेकाहरुलाई मात्रै दरखास्त आह्वान गर्ने व्यवस्था अनुसार नै योग्यता नपुग्ने शिक्षकलाई परीक्षामा सहभागी नगराइएको बताए ।

‘ऐनमा अन्य विकल्प दिइएको छैन । ऐनलाई व्याख्या गर्ने नियमावलीले हो र हाम्रो शिक्षक आयोगको नियमावलीमा तालिम, लाइसेन्स अनिवार्य गरिएको छ ।’ उनले भने– ‘नियमावलीमा तालिमका बारेमा छुट नदिएको होइन । विज्ञान, गणितलगायतको विषयमा खुलाको हकमा छुट दिइएको छ । तर, यो खुला होइन । आन्तरिक विज्ञापन हो ।’

शिक्षण पेशा अन्यभन्दा फरक रहेको र अन्य पेशामा जस्तो आफूले मात्रै बुझेर शिक्षण पेशामा नपुग्ने उनको भनाइ छ । ‘शिक्षण पेशामा आफूले बुझेका विषय विद्यार्थीलाई पनि बुझाउनु पर्छ । त्यसका लागि शिक्षण कला हुनु जरुरी छ । विद्यार्थीको बालमनोविज्ञान, क्षमता, रुचि र व्यवहार बुझ्न आवश्यक हुन्छ । फरक क्षमता, पृष्ठभूमि, भाषाका विद्यार्थीलाई सिकाउन विशेष विधि चाहिन्छ । त्यो अन्य पढाइले मात्रै दिँदैन । त्यसका लागि शिक्षा विषय पढेकै हुनु पर्छ वा तालिम लिएकै हुनु पर्छ ।’ उनले भने

२०७४ मंसिर ६ गते ०९:४९मा प्रकाशित

प्रतिकृया दिनुहोस्