• आरने कान्छा भन्छन् : आरन नै मेरो विद्यालय
    ()


  • रोशन गाउँले

    नवलपरासी  । भर्खरै कखरा सिक्दै गर्दा बुवा वितेपछि ८ वर्षकै उमेरमा उनले बुवाकै आरने पेशा अंगाल्न पुगे । उनको पढाइ अगाडी बढ्न पाएन । ‘मलाई पढ्न एकदमै रहर थियो तर बुवा नभएपछि घर चलाउन काम गर्नै प¥यो ।’ डिल्लीराम कामीले भने ।


    हसिँया, करौती, कुटो,बञ्चरो र कोदालो बनाउने र त्यसमा धार लगाउँदैमा उनले जीवन बिताए । उनले जीवनमा खुँडा र खुकुरी भने बनाएनन् । मलाई हिंसा मन पर्दैन र मैले सिकिन पनि । उनले खुकुरी र खुडा नबनाउनको कारण खोतले ।


    २०२४ सालमा (तत्कालीन पाल्पा)नवलपरासी जिल्लाकै हुंसेकोट गाविस पेलेगाबाट बसाइसरेर (साविक अग्यौली ९) कावासोती न.पा.१६ डण्डा झरेका उनी यतै रमाए ।


    आगो शक्ति, शत्रु र मित्र पनि भएको, जीवन आरनको पंखा जस्तै घुमिरहेको, जुन फलामले घनको मार सहन सक्छ ति फलाम मात्रै हतियार बनेर पुजिने,  मलुवा सुलेस, कमानी, गाडीको स्प्रीङ राम्रो फलाम भएको र यसले राम्रा औजार बन्ने कुरा उनले आरनबाटे सिके । फलाम कति तताउने, कति पिट्ेने, कतिबेर चिस्याउने, टल्कीने फलाम कमजोर हुने, अंगारको गुण, फलामको रसायन उनले आरनबाटै सिके । ‘मेरो विद्यालय नै मेरो आरन’ उनले फुर्तीसाथ भने । ‘मैले गणित, विज्ञान, सामाजिक, नैतिक शिक्षा सवै आरनबाटै लिए ।’


    जीवनमा कति हतियार बनाए र त्यसले कति खेत खन्यो कति अन्न काट्यो उनलाई हिसाव छैन तर उनले बनाएका औजारले जनहित गरेकोमा भने उनी सन्तुष्ट देखिन्छन् ।  पढेर भन्दा परेर सिकिने उनको अनुभभव रहेको छ ।


    एकपल्ट आमालाई विरामी भएर उपचारको लागि बुटवल जाँदा त्यहाँ भर्ति खुलेको रहेछ । म हरेक दिन आमालाई हस्पिटल लैजाने र ल्याएर कोठामा राखी खाली समयमा आर्मी क्याम्पको बारबाट हेरेर बस्ने गर्दथेँ । सधैँ हेररिहँदा एकदिन एकजना हाकिमले भर्ति हुन मन छ भनेर सोधेँ । खै सर म जस्तो मान्छे पनि भर्ति हुँला र मैले जवाफ दिए । उनले किन नहुने पर्सी आउनु भर्ति गराइदिन्छु भने । मैले हस भने । तर घर फर्केपछि जान पाइन । भर्ति हुन्थे कि के गर्थे ? उनले विगतको बेलीविस्तार लगाए । त्यति वेला डण्डाबाट बुटवल गएको १० रुपिँया भाडा थियो ऋण गरेर आमाको उपचार गरेर फर्केका उनीसँग बुटवल जाने भाडा भएन र उनी त्यता गएनन् ।


    यदि बुटवल जाने भाडा हुन्थ्यो र म गएर भर्ति हुन्थे भने सुख पाइन्थ्यो होला । लाहुरेको पेन्सन खान्थे होला । तातो फलामा घन हान्न रोकेर उनले भने । यसो भनिरहँदा उनको अनुहार त्यसै त्यसै उज्यालो भयो ।


    करौती अरचपेको (धार लगाउने) सुरुमा एक मोहरमा पाउँदा पनि धेरै हुन्थ्यो अचेँल ५० रुपिया लिदाँपनि केहि गर्न पुग्दैन । आठवर्ष हुँदा एकमोहर भएको अरचपेको भाउ आज उनी सत्तरी वर्ष पुग्दा बल्ल ५० रुपिया पुगेको छ । वर्षको एक रुपियाका दरले पनि बढेन । महंगाइ सम्झेर उनी लामो सुस्केरा काट्छन् ।


    दुई छोरा, दुईछोरी आमा र श्रीमति गरी ७  जनाको परिवार पाल्न उन्लाई हम्मे हम्मे नै प¥यो । सधैँ छाक टार्नकै समस्या रह्यो । सुकुमबासीको रुपमा जंगल फाँडेर बसीएको थियो ।  विहानै उठेर ३ किलोमिटर परको आरनमा गयो साँझ फर्केर आएपछि खाना खाएर रातभर जग्गामा रहेका ठुटा उखेल्ने झाँडी फाड्ने गर्थे । उनले विगत खोतले । ठूलो परिवार पेटभर खानै मुस्कील प¥थ्यो ।  


    हतियार आफैमा निर्मम हुन्छ । एउटा हतियारले काठ र अन्न पनि काट्छ मान्छे पनि काट्छ । हिंसा मन नपराउने मान्छे  एउटा खुर्पा बनाएर दिँदा के सोच्दा हुन उनले । प्रश्न गर्दा उनी भन्छन् महंगोमा बेच्न पाए हुन्थ्यो भन्ने सोच्छु ।

    हाल कुप्रो परेको उनको झुप्रो, सुक्का खोलाको वगर, हरेक दिन कामगर्ने उनको आरन, चोइटिएर पुरानो भएको लि, हथौडा, हम्मर, सनासो उनका अथाह पीडा बाहेक सवैकुरा परिवर्तन भइसकेका छन् ।

    मीठो नखाइकन, खोले फाडो खाएर जोगाएको उनको सम्पत्ति ठगहरुको बदमासीले सवै नासियो ।


    तत्कालीन समयमा बसोबासले जति फाडेपनि बढीमा डेढ विगाहा जग्गा दिने नीति अनुसार मैले जम्म एक विगाहा ६ कठ्ठा फाडेको रहेछु त्यति पाए । धेरै वर्ष त खेति नै भएन । तर २०५४ सालतिर चाइनिज नागरिक र काठमाडौँका टाठाबाठाहरु आएर चाइनिज इट्टाभट्टा सञ्चालनका लागि जग्गा मागे ।
    उनले १० कठ्ठा आफ्नो तर्फबाट र छिमेकीको जग्गा वैंकमा रहेकाले केहि समयका लागि भन्दै थप १० कठ्ठा गरेर  एक विगाहा चाइना नेपाल मेटेरीयल कन्ट्रक्सन कम्पनीको नाममा दिए ।  


    आफ्नै थरका छिमेकीले पछि आफ्नो जग्गा दिन आनाकानी गरेपछि उनको मात्रै एकविगाहा जग्गा कम्पनीमा गयो । पछि फटाहाहरुले सो जग्गा धितो राखेर नेपाल वैंक लिमिटेडबाट ३७ लाख निकालेर हिनामिना  गरी फरार भए । अहिले वैंकले सो जग्गा लिलामीमा निकालेको छ । सो जग्गा लिलाम भए म फेरी सुकुम्बासी हुन्छु । उनी  भक्कानिए ।


    मलार्ई समय, छिमेकीे, साथीभाई, दैव सवैले ठगे । उनका आँखा आँशुले लछप्पै भए ।

    चाइनिजहरुले एकनाशको घर बनाइदिने, छोराहरुलाई रोजगारी दिने, कारमा चड्न पाइने प्रलोभन देखाएर जग्गा कम्पनीलाई दिइयो अहिले विल्लीवाँठ हुने भो । उनको मुखमा अमिलो पानी आयो, उनले प्याच्च त्यहि थुके ।


    उनलाई प्रेशरले आँखामा हानेर आँखा राम्रो देख्दैनन् । नजिकै गएर परिचय दिनुपर्छ । पहिले शरीरमा बल थियो, आरन पनि राम्रो चल्थ्यो । अहिले रेडिमेड समान आउने र प्रायः मान्छेहरुले मेशीनहरुबाटै काम गर्न थालेपछि आरनमा धेरै काम पनि आउन छाडेका छन् ।  आरने कान्छादाइले लामोे सुस्केरा काटे ।

    छिमेकीहरुले पनि तेरो जग्गा लिलाम भयो, त सुकुम्बासी हुने भइस भनेर बारम्बार टोकसी रहन्छन् उनले रुन्चे श्वरमा  पीडा पोखे । 


    नेपालमा माओवादी आन्दोलन सुरु भएपछि उनलाई पनि लाग्यो एकदिन गरिवका पनि दिन आउनेछ भनेर । त्यसैले आफ्ना दुवैछोरालाई लड्न पठाए । हाल एकजना छोरा नेपाली सेनामा समायोजन भएका छन् भने एकजना विदेशमा छन् । पार्टीले पनि हामीलाई हेरेन उनले भने ।

    आरनमा फलाम पिट्दै आफ्ना वैंस सिध्याएका उनले खोले फाँडो खाएरै सम्पत्ति पनि गुमाए । मिठो नखाई, राम्रो नलाई जोगाएको सम्पत्ति फटाहाहरुले खाइदिए । हामी बुढाबुढीले त जे गरेपनि हुन्थ्यो मर्ने बेलामा तर छोरानातीको पो बिचल्लली हुने भो । उनले पीडा मिश्रित हाँसो हाँस्न खोजे । तर उनकोको मुहारमा हाँसो कत्ति सुहाएन । लाग्थ्यो बरु उनी  रोएको भए वेस हुन्थ्यो ।


    राम्ररी आँखा नदेख्ने उनी र उनकी श्रीमति अहिले त्यहि लिलाम हुन लागेको जग्गामा कटेरो बनाएर बसेका छन् । त्यहि कटेरोमा छ आरन पनि । श्रीमतिलाई कान्छा र उनलाई ठूला छोराले खाना ल्याइदिन्छन् । त्यहि बसेर खान्छन् । उनले सिकेको शिक्षा र सी भनेकै आरन हो । त्यहि चलाउछन् । बस्छन् । कहिले काहिँ लिलाम हुन लागेको आफ्नो जग्गामा गएर डाकोँ छाडेर रुन्छन् । जे रोपे त्यहि फल्छ भन्छन मेरो आशुँले गर्दा खेतहरुमा पनि आशुँ नै फलेझैँ लाग्छन् । यसो भन्दा उनको अनुहारको रंग र डुब्न लागेको सूर्यको रंग एकै देखिन्छ ।