• कथा : छ जना सहिद
    ()

  •  

     

    नन्दलाल आचार्य

    चारैतिर सुनसान छ । गाडीहरूको आवाज पनि बन्द भइसकेको छ । रात गहिरिँदो छ । लेखक लेख्नमै मस्त छ । बिजुली छैन । पङ्खा घुम्दैन । इन्भटरको उज्यालोमा ऊ शब्द चुहाइरहेको छ । पसिनाले निथ्रुक्क भिजेको छ । लेख्ने धुनमा पसिना पुछ्ने फुर्सद पनि छैन । लेखिरहेको कापी पनि भिजिरहेको छ ।


    त्यस कोठामा हावा पस्न मनाही छ । हावासँगै मच्छड पनि छिर्ने भएकाले ढोका नउघार्न चेतावनी दिएर श्रीमती रात्री विश्राममा छे ।


    ऊ गाउँकी नारी हो, सहर पसेकी छे । मच्छडबाट तर्सेकी छे । तर्संदै निदाउन प्रयत्न गर्छे । नभन्दै ऊ घुरेको आवाज लेखकको कानसम्म पुग्छ तर त्यसको हेक्का राख्दैन । पहिले नै कोठाभित्र छिरिसकेका कीराफट्ङ्ग्रा इन्भटरको त्यस उज्यालोमा झुम्मिन्छन्  । त्यसको पनि उसलाई वास्ता छैन । एकोहोरो जोतिँदो छ । कलम रुक्न नमाने झैं भएको देखिन्छ । ऊ घरिघरि शरीर चलमलाउँछ । टाउको हल्लाउँछ । तर, कापीबाट हात उठाउन मान्दैन ।


    गर्मीले छट्पटिँदै श्रीमती उठ्छे । देख्छे, एकोहोरो मस्त भावमा डुबेको पतिदेवलाई । नजिकै जान्छे, पति पत्तो पाउँदैन । शरीर पसिनाले लत्पतिएको पाउँछे । अझ नियालेर हेर्छे । ऊ हैरानमा पर्छे । तुरुन्तै हात उठाउँछे र पतिदेवको पाखुरीमा कस्सेर हान्छे । लेखकको तन्द्रा भङ्ग हुन्छ ।

      ऊ क्रोधित नजरले श्रीमतीतर्फ हेर्छ । छ टा सहिद भेलै एकै ठाम । (छ जना सहिद भए एकै ठाम ।) आवाज सुनेर लेखक हतप्रद हुन्छ ।

     “सहिद ! कस्तो सहिद ! को सहिद ! के सपना त देखिनौ !” लेखक भयभित हुन्छ । “अब फेरि राज्यकोष रित्तिने पर्यो । १० लाखका दरले ६ जनाको ६० लाख जाने पर्यो ।” ऊ एकै श्वासमा मनको कुरा ओकल्छ ।

     पत्नी मुस्कुराउँछे । तल हेर्न संकेत गर्छे । लेखक आँखा गाडेर हेर्छ । केही देख्दैन । “ई देखु त ! एक टा सहिद ! दुई टा सहिद ! तीन टा सहिद.....!” (यी हेर्नुस् त ! एक जना सहिद ! दुई जना सहिद ! तीन जना सहिद.....!) श्रीमती गन्दै जान्छे ।

     नियालेर हेर्दा त छ वटा मच्छड पो मरेका रहेछन् ।

     तपेश्वरी–१, गल्फडिया, उदयपुर