• कक्षा ११ ग्रेड वृद्धिको नतिजा सार्वजनिक, ३० हजार बढीको नतिजामा सुधार
    ()


  • भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ ग्रेड वृद्धिको नतिजा सार्वजनिक गरेको छ । शनिबार बसेको बोर्डको परीक्षा समितिको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।


    बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ३९ हजार ९ सय ९० मध्ये ३० हजार ७ सय ५५ विद्यार्थीको ग्रेड वृद्धि भएको छ । बाँकी ९ हजार २ सय ३५ विद्यार्थीको भने ग्रेड वृद्धि हुन नसकेको बोर्डले जनाएको छ ।


    बोर्डका अनुसार १२ जना विद्यार्थीको ए प्लस, १ सय ८२ को ए , एक हजार ८५ जनको वी प्लस, ४ हजार ६ सय ९४ जनाको वी र १० हजार ४६ विद्यार्थीले सी प्लस ल्याएका छन् । यसैगरी, सी ग्रेड ल्याउने विद्यार्थीको संख्या १४ हजार ७ सय ३६, डी प्लसको ५ हजार ५ सय ६५, डी को २ हजार ५ सय ४ र ई ग्रेड ल्याउने १ हजार १ सय ६६ रहेका छन् ।


    ग्रेड वृद्धि नभएका अर्थात् डी प्लस भन्दा तलको ग्रेड आएका विद्यार्थीलाई अहिले कक्षा ११ का नियमित विद्यार्थीसँगै परीक्षा दिन पाउने ब्यवस्था गरिएको बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए । उनीहरुका लागि फागुन २० गते सम्म फारम भर्न छुट दिईएको समेत बतासले जानकारी दिए ।


    नियमित विद्यार्थीको फागुन सात गते नै फारम भर्ने म्याद सकिए पनि उनीहरुका लागि विशेष ब्यवस्था गरिएको बोर्डले जनाएको छ । परीक्षा भएको सात महिना पछि बोर्डले गत पुस २९ गते कक्षा ११ को नतिजा ग्रेडिङमा सार्वजनिक गरेको थियो ।